काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा बिहीबार उनले २०६४ र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए । उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए । उनले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यक्ताको पद लिने बताए ।
उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौं । यो गठबन्धन कायम रहन्छ, पावर सेयरिङ सिद्धान्तका आधारमा परिस्थितिले माग गरेबमोजिम हुनेछ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमै मलाई राष्ट्रपतिका निम्ति प्रस्ताव भएको थियो । २०७२ मा पार्टीबाटै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’
अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।
जनार्दन शर्माले भने- आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपाल
काठमाडौं । अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताएका छन् ।
बिहीबार शपथग्रहणपछि संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग अर्थमन्त्री शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री अध्यक्ष दाहाललाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए । उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै बाहिर आएको चर्चाले अर्थ नराख्ने पनि बताए ।
‘अबको सरकारको नेतृत्व हुनेवाला प्रधानमन्त्रीले गर्नुहुन्छ । जसमा मेरो तर्फबाट प्रचण्ड हुनुहुन्छ । अरुको विषयमा गठबन्धनले के भन्छ पछि थाहा हुन्छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘राष्ट्रपति राजनीतिक व्यक्तित्व हुन्छ । वरिष्ठ राजनीतिज्ञ जुन पार्टीमा हुनुहुन्छ त्यही पार्टीबाट राष्ट्रपति हुनुहुन्छ । राजनीतिक व्यक्तित्व राष्ट्रपति बनाउनुपर्छ भन्ने विषयमा गठबन्धनमा छलफल भएको छ । मैले देखेको दुईजना हुनुहुन्छ । रामचन्द्र पौडेल र माधव नेपाल हुनुहुन्छ ।’
अर्थमन्त्री शर्माले आगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरे ।

