– माया श्रेष्ठ
काठमाडौं – पशुपतिको श्लेषमान्तक वन मृगस्थलीमा मृगको व्यवस्थापन नहुँदा शताब्दी पुराना रूख लोप हुने अवस्थामा पुगेका छन् । मृगले पुराना रूखको जरा खोतल्ने र लोक्ता टोक्न थालेका छन् । २०६१ मंसिरमा ९५ रोपनीमा ३० वटा मृग पाल्न सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा होमप्रसाद नेपालले जानकारी दिए । ‘मृगको संख्या बढेर १ सय ६३ पुगेको छ,’ उनले भने, ‘पाल्ने ठाउँ साँघुरो भयो ।’
चरनका लागि उपयुक्त घाँसे स्थान नभएका ठाउँमा धेरै मृग राख्दा विश्व सम्पदा सूचीमा परेको पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र कुरूप हुने अवस्थामा परिणत हुँदै गएको मृग अवलोकन गरिरहेका काठमाडौं पेप्सीकोलाका दिनेश थापाको भनाइ छ । ‘पहिला हरियो झाडीसँगको वन थियो,’ उनले भने, ‘पुराना रूखका जरा उक्किएर माथिमाथि आएछन्, ओरालो भागतिर सबै धूलो उड्ने भएछ ।’ बागलुङ घर भई हाल काठमाडौं बस्दै आएका सुदीप विकले मृगको व्यवस्थापनसँगै पुराना रूखको संरक्षणमा क्षेत्र विकास कोषले चासो नदिएको बताए । ‘तल भिरालोतिर त खण्डहर हुन लागेछ,’ उनले भने, ‘अलि पछाडि त पहिरो आउन सक्छ ।’ वनको बीचमा सीमित घेराभित्र राखिएका मृगका लागि चरन क्षेत्र छैन । आहारा नपुग भएपछि मृगलाई चना, मकै, भटमास र खनिज तत्त्व दिनको ३ पटक खुवाउने गरेको नासु नेपालले बताए । शिवजी मृगको रूप लिएर बसेको मृगस्थलीमा मृगबिनाको थली भएकाले कृष्णसार १८, चित्तल १० र रतुवा मृग २ वटा राखी सुरुवात गरिएको थियो । मृगको संख्या बढेसँगै त्यसको पर्यावरणमा दखल पुर्याउँदासमेत क्षेत्र विकास कोषले स्थानान्तरण गर्न सकेको छैन । मृगको सुरक्षित स्थानान्तरण गर्ने भन्दै आए पनि व्यवस्थापनका लागि योजना बनाउन सकेको छैन ।
‘अन्य निकुन्जमा मृग छाडिदिँदा सुरक्षित नहुने हुँदा छाड्न सकिएन,’ नेपालले भने, ‘अरू जनावरले आक्रमण गर्न सक्छ ।’ फार्म बनाएर पाल्ने वा व्यक्तिले पाल्ने वातारण सिर्जना भए सुरक्षित रहने उनको भनाइ छ ।
वृक्षरोपण गरेर रूख बिरुवाको संरक्षण वृद्धि गर्नु सट्टा भएका पुराना रूख मासिने क्रम बढेको छ । त्यसले पशुपति क्षेत्रको वनका विभिन्न भागमा भूक्षय भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जका कर्मचारी बद्री भण्डारीका अनुसार जनावरलाई पालिसकेपछि प्रक्रिया पुर्याएर वनमा छाड्न सकिन्छ । उनले भने, ‘वनजंगलमा बस्ने जनावर सुगालाई जस्तो थुन्दा के हुन्छ, वनमा बस्नेलाई वनमा छाडदा बिस्तारै
घुलमिल हुन्छ ।’
उपत्यका
झोलाले थिच्छ विद्यार्थी
– सरोजकुमारी चौधरी
काठमाडौं – के तपाईंका बालबच्चा विद्यालय जान्छन् ? जान्छन् भने तपाईंले कहिल्यै उनीहरूको झोलाको तौल ख्याल गर्नुभएको छ ? अधिकांश अभिभावक विद्यार्थीलाई उनीहरूको पाठ्यसामग्री राख्ने झोलाका कारण हुने शारीरिक र मानसिक समस्याबारे जानकार छैनन् ।
काठमाडौंको डल्लुकी क्यारोन देउला हरेक दिन विद्यालय पोसाकमा गह्रौं झोला बोकेर सकीनसकी विद्यालय जान्छिन् । उनले बोकेको झोला कम्मरभन्दा तल पुगेको देखिन्छ । हामीले उपत्यकामा दैनिकजसो यस्ता सयौं दृश्य देखिरेहेका छौं । तर सम्बन्धित निकाय, विद्यालय र अभिभावकको भने यसमा कुनै चासो छैन ।
मुख्यतः निजी विद्यालयले आफ्ना विद्यार्थीलाई सबै विषयका पुस्तक, विषयगत कापी तथा अन्य सामग्री बोक्न कडाइ गर्छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मै निर्माण गरिएको भए पनि सरकारी अनुगमन नहुँदा कार्यान्वयनमा आउन सकेको छैन । विद्यार्थीको झोलाको तौल कति छ भनेर जोख्ने साधनसमेत अधिकांश विद्यालयमा छैनन् । अभिभावकले आफ्नै घरमा झोलाको तौल लिन सक्ने अवस्था हुँदैन भने अधिकांश अभिभावकलाई बालबालिकाले धेरै तौलको झोला बोक्दा के समस्या आउन सक्छ भनेर थाहा पाएकै छैनन् । दैनिक धेरै तौलको झोला बोक्नु पर्दा बालबालिका भने समस्यामा पर्दै गइरहेका छन् ।
सरकारले लागू गरेको ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९’ मा विद्यालय जाँदा प्रयोग हुने झोलाको तौलको मापदण्ड उल्लेख छ । निर्देशिकाअनुसार आधारभूत तह अर्थात् कक्षा १ देखि ५ सम्मका विद्यार्थीलको झोलाको तौल ४ केजीभन्दा बढी हुनुहुँदैन । झोलाको तौल भनेको झोला, पुस्तक, कापी र टिफिन बक्ससहितको तौल रहेको मापदण्डमा प्रस्ट उल्लेख छ ।
निर्देशिकामा कक्षा १ भन्दा तलका विद्यार्थीलाई झोला बोक्न निरुत्साहित गर्नुपर्ने उल्लेख छ । तर हामी हरेक दिन विद्यालयका ससाना विद्यार्थीले मापदण्डविपरीत तथा क्षमताभन्दा बढी तौलको झोला बोक्नुपर्ने बाध्यता छ ।
भारतको मानव संसाधन विकास मन्त्रालयले गत नोभेम्बरमा विद्यार्थीलाई बोकाउने झोलाको तौल निर्धारण गरेको छ । त्यसमा कक्षा १ र २ का विद्यार्थीका लागि झोलाको तौल अधिकतम १.५ किलो उल्लेख छ । कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि २ देखि ३ किलोको तौल कायम गरिएको छ ।
नेपालमा २०६९ फागुन ४ गते मन्त्रीस्तरीय निर्णयबाट लागू गरिएको निर्देशिकामा १ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि ४ किलोसम्मको तौललाई मान्यता दिइएको हो । विकसित देशमा विद्यार्थीले बोक्ने झोलाको तौलबारे उल्लेख छ । अधिकांश देशमा विद्यार्थीले बोक्ने झोलाको तौल उनीहरूको कुल तौलको १० प्रतिशतभन्दा बढी हुन नहुने कुरा उल्लेख छ । हङकङमा विद्यार्थीले बोक्ने झोलाको तौल उनीहरूको तौलको १० प्रतिशत वा अधिकतम ३ किलोसम्म हुनुपर्ने तोकिएको छ ।
महिला र पुरुष विद्यार्थीले बोक्ने झोलाको तौलमा पनि भिन्नता छ । पुरुषले बोक्ने झोलाको तौलभन्दा महिलाले बोक्ने झोलाको तौल उनीहरूको आफ्नै तौलको आधारमा पनि कम हुनुपर्ने अध्ययनले देखाएको छ । अध्ययनअनुसार आफ्नो कुल तौलको ५ प्रतिशतको झोला बोक्नुलाई सुरक्षित मानिन्छ ।
नर्भिक अस्पतालका अर्थोपेडिक एन्ड स्पाइन सर्जन डाक्टर विप्लव सापकोटाका अनुसार ‘कम उमेरमा धेरै भारी बोक्ने बच्चामा विभिन्न समस्या’ देखिने गरेको छ । आफ्नो उमेर र तौलको तुलनामा बढी भारी वा झोला बोक्ने बालबालिकामा सानैदेखि मेरुदण्ड तथा घाँटीको समस्य देखिन थालेको उनको भनाइ छ ।
सापकोटाका अनुसार बालबालिकाले आफ्नो कुल तौलको १० प्रतिशतभन्दा बढी तौलको झोला बोक्नु उपयुक्त हुँदैन । मेरुदण्डको सेपअनुसार जहाँ बढी भार पर्यो त्यो भागको हड्डी खिइन सक्छ । त्यसले पछि नसा च्यापिने र शरीर दुख्ने सम्भावना बढी हुन्छ । ढाड दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या लिएर आउने गरेको बताए । यसको कारण बढी तौलको झोला, निहुरेर मोबाइलमा बढी समय बिताउने र खाटमा बसेर पढ्ने कारण रहेको उनले बताए । बढी तौलको झोला बोक्ने बालबालिका भविष्यमा चाँडै कुप्रो हुने उनले बताए ।
सापकोटाका अनुसार हाल सरकारले बनाएको मापदण्ड पनि उपयुक्त छैन । १ कक्षाको विद्यार्थी र ५ कक्षाको विद्यार्थीको तौल बराबर हुँदैन र उनीहरूले समान तौलको झोला बोक्न सक्दैनन् । त्यसकारण अहिलेको मापदण्डलाई फेरेर कक्षा वा उमेर र तौलअनुसारको नयाँ मापदण्ड बनाउनुपर्ने विज्ञहरूको भनाइ छ ।
विद्यालय सञ्चालक पनि विद्यार्थीलाई ठूलो झोला बोकाउनु नहुने बताउँछन् तर कार्यान्वयन भने खासै गरेको देखिँदैन । थापाथलीस्थित भीएस निकेतन विद्यलायकी प्रिन्सिपल गीता चौधरी ठूलो तौलको झोला बोक्नुको कारण पुस्तकको साइजमा भर पर्ने बताइन् । उनका अनुसार सरकारले कक्षाअनुसार पुस्तक बनाउँदा यसको तौलमा पनि ध्यान दिनुपर्छ ।

