आसन्न निर्वाचनका आठ प्रतिस्पर्धा


बौद्धिक टक्कर
माओवादी पार्टी वृत्तमा राम कार्कीको परिचय बौद्धिक नेता एवम् प्रखर वक्ताका रूपमा छ । उनको जस्तै छवि छ, नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माको पनि । उनीहरू आउँदो प्रतिनिधिसभा निर्वाचनमा झापा–१ का प्रतिस्पर्धी पनि हुन् ।
केही अघिसम्म यी दुवै नेता एकै क्षेत्रबाट लड्ने टुंगो थिएन । कार्कीको नाम झापा–२ मा चर्चामा थियो । शर्मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ मा भिड्ने हल्ला चलेको थियो । शर्माको नाम प्रदेश मुख्यमन्त्रीका रूपमा पनि आयो । अन्तत: उनीहरू झापा–१ मै लड्ने भए । ‘मुख्यमन्त्रीको उम्मेदवार बन्दै गर्दा अन्य साथीहरूको भाग खोस्नुपर्ने अवस्था बन्यो,’ शर्माले भने, ‘त्यसैले केन्द्रमै जाने निर्णय लिएँ ।’ कार्कीले पनि झापा–१ आफैंले रोजेको क्षेत्र भएको उल्लेख गर्दै थपे, ‘यो क्षेत्रसँग मेरो पार्टीगत र पारिवारिक लगाव छ ।’
चार दशकदेखि वाम राजनीतिमा सक्रिय कार्की आफू निरन्तर पूर्वकै राजनीतिक वृत्तमा सक्रिय रहेको दाबी गर्छन् । ‘दुर्भाग्यको कुरा घर बनाउने राजनीति गर्न सकिनँ,’ विपक्षीबाट टुरिस्ट उम्मेदवारको संज्ञा पाएका कार्कीले थपे, ‘बरु राजनीति गर्न थालेपछि पुख्र्यौली घर पनि बेचेँ ।’ द्वन्द्वकालमा यिनले झापामै लामो समय बिताए । ‘युद्धका बेला मेची–कोसीको इन्चार्ज हुँदा मैले नघुमेको कुनै गाउँ नै छैन सायद,’ कार्कीले भने ।
१४ वर्षको कलिलो उमेरमै हिरासतमा परेका विश्वप्रकाश शर्माको राजनीतिक योगदान पनि कम छैन । २०४० सालमा धुलाबारी माविको नेविसंघ सभापति हँ‘ुदै ०४३ मा मेची क्याम्पसको सभापति बनेका उनी ०५७ सालमा नेविसंघको केन्द्रीय सभापति बनेका थिए । शर्मा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका थिए । कुल मतमध्ये १ हजार १ सय ४४ मत बदर भएको थियो । ‘यदि मत बदर कम भएको भए मेरो जित निश्चित थियो,’ शर्माले दाबी गरे ।
उम्मेदवार विजयी हुने मुख्य आधार जनताको मत नै हो । कार्की वाम गठबन्धनको मत पाएर विजयी बन्ने दाउमा छन् भने शर्मा संघीय फोरम, लिम्बुवानलगायत साना दलको साथ बटुलेर जित्ने ध्याउन्नमा । कार्कीले व्यक्तिभन्दा पार्टी कति बलियो छ, त्यो महत्त्वपूर्ण हुने बताए । शर्माले भने आफू स्थानीय राजनीतिमा चिरपरिचित र अनुभवी नेता भएकाले जनताको मत पाउने जनाए । केहीअघिको नगरपालिका निर्वाचन परिणामले पनि उनलाई ढुक्क बनाएको छ । मेचीनगरमा कांग्रेसका विमल आचार्य र बुद्धशान्तिमा कांग्रेसकै रमेश भुजेलको जित नै आफ्नो जितको मुख्य आधार रहेको शर्माको भनाइ छ ।
झापा–१ मा मेचीनगरका १५ वडासहित भद्रपुरका ९ र १० नम्बर तथा बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा थपिएका छन् । यहाँ कुल १ लाख ५ हजार ४ सय ८१ जना मतदाता छन् । एमाले क्षेत्रीय अध्यक्ष अर्जुन पौडेलका अनुसार एमालेको करिब २५ हजार मत छ । माओवादीको करिब ९ हजार, राप्रपाको १ हजार हाराहारीमा रहेको मत जोड्दा वाम गठबन्धनको मत ३५ हजारजति पुग्ने उनको दाबी छ ।
यता कांग्रेसका क्षेत्रीय सभापति मणि उप्रेतीका अनुसार कांग्रेसको कुल अनुमानित मत २७ हजार हो । फोरम, लिम्बुवान आदि साना दलको अनुमानित १० हजार मत प्राप्त हुँदा ३७ हजारजति हुन जाने उनको भनाइ छ । संख्याको यो खेलमा कसले जित्ने हो, अब धेरै पर्खनुपर्नेछैन ।
***

पुरानालाई नयाँको चुनौती
चुनाव नजिकिँदै गर्दा काठमाडौं–१ मा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै छ । काठमाडौं महानगरपालिकाको चुनावमा साझा पार्टीले ल्याएको मत, त्यसमा पनि पार्टीकै संयोजक मिश्रको उम्मेदवारीले चुनावी वातावरण तरंगिएको छ । त्यही तरंगले काठमाडौंमा राजनीतिक पकड जमाएर बसेका सिंहलाई पनि सक्रिय बनाएको हो । यद्यपि सिंह आफ्नो पृष्ठभूमि, लोकतान्त्रिक संघर्षमा निर्वाह गरेको भूमिका, आफूले निर्वाचन क्षेत्रमा गरेको विकास निर्माण आदिले गर्दा सहजै चुनाव जित्ने दाबी गर्छन् । मिश्रचाहिं ठूला पार्टीको विकल्प काठमाडौंका जनताले खोज्नेमा विश्वस्त रहेको बताउँछन् । मिश्रका लागि ठूलो आधार गएको स्थानीय चुनाव बन्न पुगेको छ, जसमा भर्खरै खोलिएका विवेकशील र साझा पार्टीले अनपेक्षित मत ल्याएका थिए । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादी नेता अनिल शर्मा पनि मैदानमा उत्रिएका छन्, तर बढी चर्चा सिंह र मिश्रकै हुने गरेको छ ।
मिश्रले लोकतान्त्रिक पक्षका केही मत तानेर वाम गठबन्धनका उम्मेदवारलाई सघाउने काम मात्रै गर्ने सिंहले आरोप लगाए । ‘मिडियामा नाम चले पनि उनले खोलेको पार्टी राष्ट्रियस्तरको होइन, न यसले कतै चुनाव जित्न सक्छ, न त यस्तो पार्टीले देशै बदल्न सक्छ,’ सिंहले टिप्पणी गरे, ‘जनताले बहुदलका लागि संघर्ष गरेका व्यक्ति रोज्लान् कि राजतन्त्र चाहिन्छ भन्नेलाई खोज्लान् ?’
मिश्रले भने ठूला पार्टीका ठूला नेताहरूको आचरणकै कारण आफू राजनीतिमा होमिन बाध्य भएको बताए । ‘आन्दोलन र संघर्ष गरेर आफ्नो आचरण पनि सुधारिदिएको भए हामीजस्ता मान्छे राजनीतिमा आउनै पर्थेन,’ उनले भने, ‘आन्दोलनको नेतृत्व त उहाँहरूले गर्न जान्नुभयो तर समृद्धिको नेतृत्व गर्नुभएन । व्यक्तिगत समृद्धिको मात्रै नेतृत्व गर्नुभयो । हामी राष्ट्रिय समृद्धिको नेतृत्व गर्न आएका हौं ।’
०४६ सालको जनआन्दोलनका कमान्डर गणेशमान सिंहका पुत्र प्रकाशमान कांग्रेसका प्रभावशाली नेताको कोटीमा पर्छन् । काठमाडौंको राजनीतिमा वर्चस्व जमाएका सिंह ०६४ र ०७० को संविधानसभा निर्वाचनमा समेत यसै क्षेत्रबाट निर्वाचित हँ‘ुदै आएका छन् । यसपटक मिश्रको उम्मेदवारीले भने उनलाई चुनौती खडा गरिदिएको छ । पत्रकारिता छाडेर राजनीतिमा होमिएका मिश्र सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । मिश्रको फेसबुक पेजमा ६ लाख ८६ बढीको लाइक छ । तर, ती सबै उनका मतदाता भने नरहेको स्पष्टै छ । के मतदाताले पनि उनको पेजमा झैं मतदानमा पनि लाइक गर्लान् त ? मिश्र भन्छन्, ‘विभिन्न पार्टीका मान्छेहरू नै आएर अहिलेसम्म विकल्प थिएन, अब विकल्प पायौं भन्ने प्रतिक्रिया दिनुभएको छ । स्व:स्फूर्त भेलाहरू राखिदिने गर्नुभएको छ । बिहानदेखि बेलुकासम्म भेलामै व्यस्त छु । व्यापक उत्साह छाएको छ ।’
सिंह सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन्, तर उनको पार्टीको समाजमा सञ्जाल भने गहिरै छ । उनले विगतमा आफूले गरेका कामका फेहरिस्त, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान र संविधानसभाको भूमिकालाई हेरेर मत दिन आग्रह गरेका छन् । ‘पहिलो संविधानसभामा माओवादी पहिलो पार्टी भयो, तर संविधान दिन सकेन । दोस्रो संविधानसभामा कांग्रेस पहिलो भएर राष्ट्रलाई संविधान दियो । अहिले यही संविधानको उपलब्धि रक्षाका लागि मत मागिरहेको छु,’ सिंहले भने, ‘निर्वाचन क्षेत्रमा विकास निर्माणको काम पनि उल्लेखनीय गरेको छु ।’
आफ्नो निर्वाचन क्षेत्रका सबै सामुदायिक स्कुलहरूमा होस्टल बनाएको, कन्या क्याम्पसमा आमा मंगलादेवीका नाममा आधुनिक गल्र्स होस्टल नै बनाएको, खानेपानी, सडक, सोलार बत्तीजस्ता विकास योजनामा सांसद कोषको रकम पारदर्शी ढंगबाट खर्च गरेको उनले उल्लेख गरे । साझा पार्टीका संयोजक मिश्रले ठूला पार्टीका नेताहरूले सधैं इतिहासको कुरा गरेर ब्याज मात्र खान खोजेको, तर मुलुकलाई समृद्ध बनाउने कामै नथालेको बताए । ‘साँच्चै वजनदार काम गरिदिएको भए हामी चुनावी मैदानमा आउनै पर्थेन,’ उनले भने, ‘आफ्नै जीवनकालमा समृद्धि देख्न पनि विकल्प खोज्नुपर्ने भएको छ ।’
***

सकसमा सिटौला
गत बिहीबार मनोनयन दर्ता गर्न जाँदा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको मुहारमा हाँसो कम, तनाव ज्यादा देखिन्थ्यो । राप्रपासँगको सहकार्य टुट्नु र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन उनको प्रतिद्वन्द्वीका रूपमा उभिनुले सायद उनलाई निराश पारेको थियो । यसअघि सिटौला समानुपातिकमा लड्ने र प्रत्यक्षमा लिङ्देनलाई सघाउने सहमति बनेको थियो, कांग्रेस नेतृत्व र राप्रपाबीच । तर, सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने अडान नछाडेपछि राप्रपाले कांग्रेससँगको सहकार्य तोडेको थियो ।
सिटौलाले भने, ‘विजातीय गठबन्धनप्रति म चकित छु ।’ उनले जनताले आफ्नो राजनीतिक योगदानको मूल्यांकन गर्ने बताए । थपे, ‘लोकतन्त्र, गणतन्त्र ल्याउने म जत्तिको मान्छेलाई जनताले पक्कै धोका दिनेछैनन् ।’
वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा चर्चामा रहेका एमालेका पुष्प पोखरेलको नाम हटाएर गठबन्धनले लिङ्देनलाई सघाएको हो । झापा–३ सिटौलाको गृहक्षेत्र भए पनि लिङ्देन लोकप्रिय मानिन्छन् । अघिल्लो नगरपालिका निर्वाचनमा यहाँ कांग्रेसको उपस्थिति कमजोर देखिएको थियो । कांग्रेस सिटौलाकै वडा भद्रपुर १० मा समेत पराजित भएको थियो । हल्दीबारीमा राजेन्द्रकै सहोदर भाइ रवीन्द्र लिङ्देनले अध्यक्षसहित बहुमत सदस्य र कचनकवल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य राप्रपाले जितेको थियो । बाह्रदशी गाउँपालिका मात्रै कांग्रेसको पोल्टामा परेको थियो ।
स्थानीय निर्वाचनमा प्रमुख पदहरूमा खसेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेसले २० हजार २२ मत पाएको थियो भने राप्रपाले १३ हजार ७ सय ५० मत । एमालेले १५ हजार ५ सय ६२ मत पाउँदा माओवादीले ८ हजार ९ सय ९१ मत पाएको थियो । एमाले र माओवादीको मत जोड्दा २४ हजार ५ सय ५३ पुग्छ । यदि यो पुरै मत लिङ्देनलाई जाने हो भने उनले करिब ३७ हजार हाराहारीमा मत पाउनेछन्, जो सिटौलाका निम्ति स्वत: प्रतिकूल हुनेछ । तर, वाम र राप्रपाबीचको तालमेल यही रूपमा जानेमा धेरैको आशंका छ ।
गणतान्त्रिक आन्दोलनका अभियन्ता सिटौला र राजावादी राजनीति गर्दै आएका लिङ्देनबीच अहिले तेस्रोचोटि आमनेसामने भएको हो । उनीहरूबीच पहिलो चुनावी भिडन्त ०५६ को आम निर्वाचनमा भएको थियो । तत्कालीन निर्वाचन क्षेत्र झापा–१ मा उनीहरू भिड्दा सिटौला विजयी भएका थिए । ०६४ को पहिलो संविधानसभा चुनावमा लिङ्देन उम्मेदवार थिएनन् । त्यसबेला सिटौलाका प्रतिस्पर्धी थिए, माओवादी नेता पूर्णसिंह राजवंशी । राजवंशीले सिटौलालाई निकै अन्तरले जितेका थिए । ०७० को दोस्रो संविधानसभामा लिङ्देन पुन: उम्मेदवार बने । उनका निकटतम प्रतिस्पर्धी थिए, सिटौला । सिटौलाले दोस्रोपटक जित्दा उनी दोस्रो बने । एमाले र माओवादी क्रमश: तेस्रो र चौथो भए । यसपल्ट लिङ्दनेविरुद्ध सिटौलाले ‘हयाट्रिक’ गर्ने हुन् या लिङ्देनले संसदीय विजयको पहिलो स्वाद चाख्ने हुन्, त्यसको छिनोफानो मतदाताले गर्नेछन् ।
***

युवा भिडन्त
कांग्रेसका युवा नेता गगन थापा र एमाले नेता राजन भट्टराई काठमाडौं–४ का मुख्य प्रतिस्पर्धी हुन् । शनिबार कान्तिपुरसँग कुरा गर्दा थापा बिहानको कोठे बैठक सकेर चुनावी सभा सुरु गर्ने तयारीमा थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा सहजै विजयी थापालाई यसपटक भने वाम गठबन्धनको चुनौती थपिएको छ । चुनाव जितेर चार वर्षमा थापाले निर्वाचन क्षेत्रका विकासप्रति खासै चासो नदिएको मुद्दा प्रतिस्पर्धी भट्टराईले जोडले उठाइरहेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा खेलेको भूमिकाले भने उनलाई राहत मिलेको छ । भन्छन्, ‘मन्त्रीका रूपमा रहेर काम गर्दा म पनि सन्तुष्ट छु । स्थानीय विकासका कामका बारेमा केही असन्तुष्टि र भ्रम छन्,’ उनले भने, ‘त्यसलाई निवारण गर्ने प्रयास गर्दै छु ।’
थापालाई कांग्रेसमा जति भरोसा र आसलाग्दा नेताका रूपमा लिने गरिन्छ, एमालेमा भट्टराईलाई त्यस्तै श्रेणीमा राखिन थालेको छ । माधवकुमार नेपाल प्रधानमन्त्री छँदा उनी परराष्ट्र सल्लाहकार थिए । दोस्रो संविधानसभामा उनी मनोनीत सभासद थिए । पार्टीमा विदेश विभाग सचिव रहेर काम गरेका भट्टराई कांग्रेस नेता थापाकै शब्दमा असल र योग्य नेता पनि हुन् । तर, उनलाई चुनावी प्रतिस्पर्धाको अनुभव भने छैन । भट्टराई स्वयं पनि कांग्रेसका चर्चित युवा नेतासँगको प्रतिस्पर्धा त्यति सहज नभएको स्विकार्छन् । ‘तर यसपटक काठमाडौं–४ का जनताले विकल्प खोज्छन्, म ढुक्क छु,’ भट्टराईले भने ।
भट्टराईले राष्ट्रिय राजनीतिका मुद्दाका अतिरिक्त कपन क्षेत्रको डुबान, पुरातात्त्विक र धार्मिकस्थलको संरक्षण, गौशाला, चाबहिल, गोपीकृष्णसम्मको धुलाम्मे सडक सुधारमा कुनै प्रगति नभएको भन्दै त्यसलाई विपक्षीको मत तान्ने मुद्दा बनाएका छन् । तर, थापा यी विकासका योजनामा आफूजत्तिकै भागिदार एमाले नेता भट्टराई पनि रहेको बताउँछन् । ‘राजनजी र म सँगै सांसद भएको हो । उहाँले पनि यही क्षेत्र रोज्नुभयो । सांसद भएको दिनदेखि नै निर्वाचन क्षेत्रका लागि खर्चिने बजेट यही क्षेत्रको विकासमा लगाएको हो । तर, असन्तुष्टि मसँग मात्रै हुने र उहाँले त्यसबाट उन्मुक्तिको सुविधा पाउने भन्ने हुन सक्दैन ।’
यो क्षेत्रमा ०६४ यता कांग्रेसले जित्दै आएको छ । पहिलो संविधानसभामा कांग्रेस नेत्री सुप्रभा घिमिरेले जितिन् भने दोस्रो संविधानसभा निर्वाचनमा थापाले । एमालेका संगठनकर्ताका रूपमा परिचित निर्मल कुइँकेल र हालका उपराष्ट्रपति नन्दबहादुर पुन त्यतिबेला थापाका मुख्य प्रतिस्पर्धी थिए । तथापि थापाले ठूलो मतान्तरमा जितेका थिए । तर, अहिले त्यस्तो अवस्था नभएको भट्टराईले बताए । ०६४ अघि वामपन्थीको पकड रहेको र अहिले वाम गठबन्धनबाट आफू मात्रै उम्मेदवार भएकाले आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे । ‘०४८ यता कांग्रेसले दुईपटक बहुमतको सरकार बनायो, तर आन्तरिक व्यवस्थापन गर्न नजान्दा दुवैपटक असफल भयो । अहिले हामीले एकपटक वामपन्थीलाई बहुमत दिएर हेरौं भनेका छौं,’ भट्टराईले थपे, ‘यही नाराले नै वामपन्थीका पक्षमा बहुमत ल्याउँछ र गठबन्धनका उम्मेदवारले जित्छन् भन्नेमा हामी ढुक्क छौं ।’
तर, थापाले संगठनमा पकड नभएका प्रतिस्पर्धी रहेको, आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेशसभामा सामाजिक क्षेत्रमा लोकप्रिय साधुराम खड्का र नरोत्तम वैद्य उम्मेदवार रहेको, राप्रपासँगको तालमेल र मन्त्री छँदा बनेको छविले चुनाव जित्ने विश्वास प्रकट गरे । ‘तैपनि चुनाव हो, प्रतिस्पर्धा वाम गठबन्धनसँगै छ,’ उनले भने । भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने बुढानीलकण्ठ नगरपालिकाको १३ वटा वडामध्ये आठ र महानगरका चारमध्ये दुई वडामा एमालेले जितेका आधारमा पनि ०६४ यता वामपन्थीले गुमाएको साख फिर्ता हुने दाबी गरे ।
***

पुरानै टकराव
राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने एमाले सचिव प्रदीप ज्ञवाली र कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी एकै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै छन् । प्रतिनिधिसभामा २ र प्रदेशमा ४ क्षेत्र भए पनि दुई नेताको प्रतिस्पर्धाले क्षेत्र नं. १ मतदाता र राजनीतिक वृत्तमा बढी चर्चामा छ ।
२०३६ सालमा शिक्षक पेसा छाडेर भूमिगत कम्युनिस्ट राजनीति सुरु गरेका ज्ञवाली अर्घाखाँची, नवलपरासीको पार्टी सचिव, अञ्चल सचिव, वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७० सालदेखि एमालेका केन्द्रीय सचिव छन् । केन्द्रीय राजनीतिमै बढी समय दिने ज्ञवालीले यसअघिका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ बाट लगातार तीन चुनाव लडे । पहिलो र दोस्रो जिते, तेस्रोपटक पराजित भए । अहिले चौथोपटकको प्रतिस्पर्धामा पुरानो क्षेत्रसमेत समेटिएको नयाँ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार छन् ।
उनीसँगै तेस्रोपटकको प्रतिस्पर्धामा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी छन् । २०६४ को निर्वाचनमा ज्ञवालीसँग २ हजार १ सय ५२ मतले पराजित भण्डारीले २०७० को संविधानसभा निर्वाचनमा ज्ञवालीलाई २ हजार ६ सय २९ मतले पराजित गरे । १६ वर्षको विद्यार्थी जीवनबाटै राजनीतिमा लागेर नेविसंघ केन्द्रीय सदस्य, महामन्त्री हुँदै कांग्रेस केन्द्रीय सदस्य भएका भण्डारी यसपटक ५ नं प्रदेश टुक्रयाउने पार्टीको निर्णयविरुद्ध लागेर थप चर्चामा आए । तर संसद्मा संविधान संशोधनकै पक्षमा मत हालेपछि आलोचित पनि भए । भण्डारीले यसपटक विकासका छुट्टै योजना अघि सारेका भने छैनन् । तर आफ्नो छवर्षे कार्यकालमा सुरु भएका योजना सम्पन्न भएपछि ‘गुल्मी विकासमा नमुना’ बन्ने उनको दाबी छ ।
एमाले सचिव ज्ञवाली कार्यकर्ताले लगाउने गरेको जिल्ला नआउने, साना विकासका योजनामा ध्यान नदिने र कार्यकर्ताको निकट हुन नखोज्ने आरोप खण्डन गर्ने प्रयासमा छन् । ‘केन्द्रीय राजनीतिमै केही समय बित्यो,’ उनले भने, ‘तर अब मतदाता, कार्यकर्ताको निकट रहेरै विकासका योजना अघि बढाउनेछु । विगतका अनुभवबाट पाठ सिक्दै गल्ती–कमजोरी सच्याएरै अघि बढेको छु ।’
भण्डारी भने आफूले गरेका कामको प्रचारप्रसार गर्दा आफूलाई ‘फेसबुके नेता’ भनेर लगाएको आरोप खण्डन गर्दै छन् । ‘आफूले गरेका काम गरें भन्दा कसरी फेसबुके भएँ ?’ उनले भने, ‘अहिलेसम्म गरेका कामकै आधारमा थप पाँच वर्षका लागि अवसर माग्दै छु ।’ जिल्लाका लागि पर्याप्त विकास गरेको उनको दाबी छ । भण्डारीले विकास र ज्ञवालीले समृद्धिको नारा अघि सारेका छन् ।
***

पोखरेली प्रतिस्पर्धा
कास्की–२ मा पृथ्वीनारायण क्याम्पसबाट विद्यार्थी राजनीति हुँदै दुईपटक संविधानसभा सदस्य भइसकेका एमालेका रवीन्द्र अधिकारीसँग त्यही क्याम्पसको प्राध्यापन पेसाबाट राजीनामा दिएर कांग्रेसका देवराज चालिसे प्रतिस्पर्धा गर्दै छन् । पछिल्लोपटक संसदीय विकास समितिको सभापतिसमेत रहेका अधिकारी विकासप्रेमी नेताका रूपमा राष्ट्रियस्तरमा चिनिएका छन् । आफ्नो क्षेत्रका साना–ठूला सबैखाले कार्यक्रममा समेत भरसक उपस्थित हुने अधिकारीले यसपटक पनि जिते भने केन्द्रीय निर्वाचनमा त्यो उनको ‘ह्याट्रिक’ हुनेछ । तर त्यसका लागि उनले कांग्रेस उम्मेदवार चालिसेलाई पराजित गर्नुपर्ने हुन्छ ।
आफ्नो ‘किल्ला’ जोगाउन अहिले वाम गठबन्धन कस्सिएको छ भने त्यसलाई भत्काउन कांग्रेस लागिपरेको छ । वाम गठबन्धनका उम्मेदवार जति जनतामा भिजेका छन्, कांग्रेसका उम्मेदवार पनि कम छैनन् । दुवै उम्मेदवार प्रभावशाली भएकाले मतदाताका लागि पनि यो चुनाव चासोको विषय भएको छ । अधिकारीले विकासका ठूला कुरा गरे पनि स्थानीयस्तरमा पर्याप्त काम गर्न नसकेको र वाम गठबन्धन अधिनायकवाद लाद्ने उद्देश्यले गठन भएको भन्ने मुद्दासहित चालिसे चुनाव प्रचारमा छन् । ‘जनतामाझ जाँदा पहिले जितेर गएपछि आफ्नो जिल्ला र क्षेत्रका लागि केके गरियो, त्यसको हिसाब दिनुपर्छ,’ चालिसेले भने, ‘यसका विषयमा रवीन्द्रजीका कुरा मीठा छन् । त्यसअनुसारका काम छैनन् ।’
वाम गठबन्धनको जित भए मुलुकको राजनीतिले लिने बाटाका विषयमा जेसुकै भन्दै आए पनि चुनाव प्रचारमा स्थानीयस्तरका विकासे मुद्दा नै बढी सोधीखोजी हुने गरेको उनले बताए । ‘रवीन्द्रजीले दुईपटक जिते पनि नियमितबाहेक अतिरिक्त बजेट ल्याउन सकेनन्,’ चालिसेले भने, ‘मैले जितेको अवस्थामा विकासको फरक अनुभूति जनतालाई हुनेछ ।’ चुनावमा उठ्नकै लागि उनले छ महिनाअघि प्राध्यापन पेसाबाट राजीनामा दिएका हुन् । ४० वर्षदेखि पार्टीमा क्रियाशील भए पनि प्रत्यक्ष निर्वाचनमा होमिएको उनका लागि यो पहिलो अनुभव हो । अघिल्ला निर्वाचनहरूमा पनि उनको नाउँ उम्मेदवारीको प्रस्तावित सूचीमा पर्दै अन्तिममा हट्ने गरेको थियो ।
एमाले नेता अधिकारीले निर्वाचनलाई सहज रूपमा लिएको बताए । पार्टी नीति, बलियो संगठन, स्थानीयस्तरमा गरेको काम, अब भविष्यमा समृद्धि र विकासमा लाग्ने प्रतिबद्धताका कारण आफू सहज अवस्थामा रहेको उनले दाबी गरे । ‘मेरो व्यक्तिगत रुचि र इच्छाले भन्दा पनि पार्टी र मतदाताको समेत चाहनाले तेस्रोपटकको उम्मेदवारी हो,’ उनले भने, ‘दुई कार्यकालमा थुप्रै काम गरेको छु । अब पोखरालाई अझै उत्कृष्ट पर्यटकीय स्थलका रूपमा काम गर्ने योजना बनाएको छु ।’
आफ्नो कार्यकालमा साढे तीन गुणा बजेट जिल्लामा भित्र्याएको उनले बताए । एमाले केन्द्रीय सदस्य अधिकारी संसद्को विकास समितिका सभापति र सार्वजनिक लेखा समितिको सदस्य भइसकेका छन् । ‘चुनावमा विपक्षीको आलोचना गरेर प्रचार गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘स्वस्थ प्रतिस्पर्धा हो, जनमतले जसलाई छान्छ, उसैले जित्छ ।’ यसपटकको निर्वाचन अघिल्लाका तुलनामा फरक रहेको उनको ठम्याइ छ । अब पाँच वर्ष अर्थात एउटा पूरा कार्यकाल टिक्ने स्थिर सरकार बन्नुपर्नेमा उनले जोड दिए । ‘पटकपटक सरकार बन्ने र ढल्ने अस्थिर राजनीति देशको विकासमै बाधा हो,’ उनले भने, ‘त्यसैले यो निर्वाचनमा जनताले बहुमतले सरकार चलाउन सक्नेलाई जिताउनुपर्छ ।’
***

रुपन्देहीको रोचक भिडन्त
राष्ट्रि्रय राजनीतिमा प्रभाव पार्ने दुई नेताबीचको प्रतिस्पर्धाका कारण रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ चर्चामा छ । यहाँ वाम गठबन्धनका तर्फबाट एमालेका उपमहासचिव घनश्याम भुसालले र कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले उम्मेदवारी दिएका छन् । बोहरा पञ्चायत कालखण्डदेखि नेपाली राजनीतिका अनुभवी खेलाडी मानिन्छन् । भुसालको उदय भने त्यही पञ्चायतविरुद्धको आन्दोलनले गराएको हो । उनी पार्टीभित्र र बाहिर पनि लोकप्रिय बौद्धिक नेताका रूपमा परिचित छन् । दुवै नेताको रूपन्देही–३ मै स्थायी बसोबास छ । २०७० को संविधानसभा निर्वाचनमा बोहरा तत्कालीन रूपन्देही–२ बाट चुनिएका थिए भने भुसाल तत्कालीन रूपन्देही–३ बाट कांग्रेसका बालकृष्ण खाँणबाट झिनो मतले पराजित भएका थिए ।
पाल्पाको तानसेनमा जन्मेका बोहराले भैरहवा झरेर पञ्चायत पक्षधर राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीति थालेका हुन् । युवक संगठन हुँदै २०३८ सालको निर्वाचनमा राष्ट्रि्रय पञ्चायत सदस्य बनेपछि उनी पर्यटन सहायकमन्त्री भएका थिए । उनी २०४२ मा पनि राष्ट्रिय पञ्चायत सदस्य चुनिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०७० अघिका प्रत्येक निर्वाचनमा उम्मेदवार बने पनि उनी सदैव पराजित भएका थिए । २०७० को निर्वाचनमा मात्र विजयी भए ।
प्रखर वक्ता एवम् वाम बुद्धिजीवीको छवि बनाएका भुसालले ३० को दशकबाट विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका हुन् । स्याङ्जाको पिढीखोलामा जन्मेका उनी २०३३ सालमा अनेरास्ववियुको रूपन्देही जिल्ला अध्यक्ष बनेका थिए । एमाले रूपन्देहीको लगातार दुई कार्यकाल जिल्ला सचिवको भूमिका निर्वाह गरेका भुसाल २०५३ को उपनिर्वाचनमा रूपन्देही–२ बाट सांसद निर्वाचित भएका थिए । २०५१ को मध्यावधि निर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भए ।
निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, विशेष आर्थिक क्षेत्र, भैरहवा भन्सार नाकालगायतका कारणले रूपन्देही–३ मा उद्योग र पर्यटनमा आर्थिक लगानी बढ्दो छ । दुवै उम्मेदवारले आर्थिक विकासलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र मानेर यस क्षेत्रमा तीव्र आर्थिक विकास गरिनुपर्छ,’ भुसालले भने, ‘यहाँ सञ्चालन हुने विकास र शिक्षालाई बौद्ध धर्मअनुसार विकास गरी घरको शैलीदेखि प्रादेशिक पाठ्यक्रमसम्म बुद्ध दर्शनलाई समेट्नुपर्छ ।’ उनले प्रदेशको राजधानी भौगोलिक अवस्था मिलाएर पछि तय गरिने बताउँदै भारतको बजारलाई हेरेर चीनले केरुङ नाकासम्म ल्याउन लागेको रेलसेवालाई लुम्बिनी र सुनौली नाकासँग जोड्नुपर्नेमा जोड दिए ।
ऊर्जा समस्याको समाधान, रोजगारी वृद्धि, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सम्पन्न गराउन पहल गर्ने र चीन–भारतबीच व्यापारका लागि कोरला र सुनौली नाका जोड्ने आफ्ना मुख्य चुनावी नारा रहेको बोहराले बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल, विश्वविद्यालय, मेडिकल कलेजहरू र अन्य भौतिक संरचना रूपन्देहीमा तयार भइसकेका कारण प्रदेशको राजधानी रूपन्देही बनाउन उपयुक्त छ,’ उनले भने ।
***

मित्रवत् प्रतिद्वन्द्विता
केहीअघि एमाले अध्यक्ष केपी ओलीले एक सार्वजनिक कार्यक्रममा नवराज सिलवालका बारेमा भनेका थिए, ‘प्रहरी महानिरीक्षक बन्न नसके पनि म उनलाई गृहमन्त्री बनाइदिन्छु ।’ ओलीको उक्त भनाइलगत्तै निवर्तमान डीआईजी सिलवाल प्रहरीको सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गरे । पार्टी प्रवेशसाथै उनले प्रतिननिधिसभाको उम्मेदवारी पाए ललितपुर–२ मा वाम गठबन्धनबाट । अहिले यो निर्वाचन क्षेत्र चुनावी प्रतिस्पर्धाले भन्दा पनि सिलवालको राजनीतिक यात्राका कारण बढी चर्चामा छ ।
महानिरीक्षकको मैदानमा पराजित भए पनि संसदीय प्रतिस्पर्धामा खरो उत्रिने सिलवालको भनाइ छ । कान्तिपुरले चुनावी अनुभवबारे बुझ्न खोज्दा उनी कार्यकर्ताको भीडमा थिए । ‘मान्छे परिस्थितिको दास हुँदोरहेछ, परिस्थितिलाई बदलेर आफ्नो अनुकूल बनाउन सक्ने महापुरुषको कथा त पढिएको थियो,’ प्रहरी सेवाबाट राजनीतिमा प्रवेश गर्दाको संक्रमण सुनाउँदै भने, ‘म भने परिस्थितिको दास बनेर राजनीतिमा आइपुगें ।’ उनीसँग प्रतिस्पर्धामा छन् कांग्रेस नेता उदयशमशेर राणा, जो विगतमा यसै क्षेत्रका निर्वाचित सांसद हुन् । राणा राजनीतिमा र सिलवाल प्रहरी सेवामा रहँदा गहिरो दोस्ती थियो । तिनै चिरपरिचितहरू अहिले चुनावी मैदानमा एकअर्काको प्रतिद्वन्द्वी भएर खडा भएका छन् । सिलवालले भने, ‘यो बाटो चुनौतीपूर्ण छ तर यसलाई मैले ठूलो अवसरका रूपमा लिएको छु । सम्पूर्ण जीवन र राष्ट्रलाई बदल्ने ठाउँमा आइपुगेको छु ।’
राणा यसै क्षेत्रबाट निर्वाचित भएकाले विगतमा आफूले गरेको विकास योजना र राजनीतिक मुद्दा लिएर अघि बढेका छन् । उनी आफूले गरेका काम अगाडि सारेर जनतासँग मत माग्दै छन् । पटकौंपटकको प्रयासपछि मात्र सम्पर्कमा आएका राणासँग कुरा गर्न खोज्दा उनले ‘व्यस्त छु’ भन्दै टेलिफोन काटे । चुनावी अभियानमा उनको व्यस्तता यसले पनि देखाउँछ । विगतमा ठूलो मतान्तरले जितेका राणा यसपटक वाम गठबन्धनको संयुक्त उम्मेदवारका कारण चुनौतीपूर्ण अवस्थामा छन् । त्यसमा पनि आफ्नै चिरपरिचितसँग प्रतिस्पर्धामा छन् । सिलवालले कांग्रेसका उम्मेदवार राणासँगै आफ्नो प्रतिस्पर्धा हुने बताए । थपे, ‘प्रहरीमा छँदा मैले न्याय पाउन नसके पनि राजनीतिमा जनताले मलाई न्याय गर्छन् भन्ने ठानेको छु ।’
प्रस्तुति : कुलचन्द्र न्यौपाने/पर्वत पोर्तेल/माधव ढुंगाना/लालप्रसाद शर्मा/घनश्याम गौतम 2074,07,19

