– कान्तिपुर,
वैचारिक हिसाबले शुष्क र निष्प्रभ समकालीन नेपाली राजनीतिमा आशाको प्रकाश फ्याँक्ने अति सीमित व्यक्तिमध्ये एक थिए— प्रदीप गिरि । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता गिरि खासमा राजनीतिकर्मी कम र विचारक ज्यादा थिए । प्रखर समाजवादी चिन्तकका रूपमा उनको चिनारी पार्टीभित्र मात्र होइन, बाहिर पनि उत्तिकै स्थापित तथा स्वीकार्य
थियो । बहुविधामा उनी जुन विलक्षण ज्ञान राख्दथे, त्यो समकालीन नेपाली समाज–राजनीति सबैतिर बेजोडा थियो । जीवन–जगत्का कैयौं विषयमा
गहिरो मीमांसा गर्न सक्ने यिनै गिरि शनिबार रातिदेखि हामीमाझ छैनन् । उनका योगदान र विचारको आलोकले भने नेपाली राजनीतिलाई हमेसा बाटो देखाइरहनेछ ।
आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा प्रवासदेखि जेलसम्म बसेका गिरिले राजनीति र समाज रूपान्तरणका लागि हरपल आवाज उठाइरहे । आफ्नै दल सत्तामा हुँदा किन नहोस्, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा सदैव प्रश्न गरिरहे । समय र परिस्थितिको गहिरो बोध भएका उनले राष्ट्र र समाजका समस्याहरू औंल्याइरहे । देशले लिनुपर्ने दिशाबारे नेतृत्वलाई निरन्तर सजग गराइरहे≤ बाटो देखाइरहे । विभिन्न राजनीतिक, प्राज्ञिक र साहित्यिक अनुष्ठानदेखि संसद्सम्म उनले जेजति बोले, ती सबैमा आफ्नो गहिरो प्रभाव मात्र छाडेनन्, सम्बन्धित सबैलाई दिशाबोध पनि गराए । समग्रमा उनले लोकतन्त्रलाई जीवन्त बनाइरहे ।
संकीर्ण दलीय घेराभित्र सीमित रहने आम राजनीतिज्ञको विशेषता गिरिमा कहिल्यै देखिएन । आफ्नै पार्टीका प्रधानमन्त्रीले नेताहरूको टाउकाको मोल तोकी आतंकवादी घोषणा गरेको तत्कालीन विद्रोही माओवादीलाई उनले सुरुदेखि नै राजनीतिक शक्ति मानिरहे, र उनीहरूलाई राजनीतिक मूलधारमा ल्याउन पर्दाभित्र–बाहिर सक्रिय रहे । ‘हतियारबिनाको माओवादी, शक्तिबिनाको राजा र विवेकसहितका नेता’ हुनुपर्ने आफ्नो अडानमा उनी देशमा द्वन्द्व चर्कंदा पनि उत्तिकै दृढ थिए । गिरिको दूरदृष्टि र राजनीतिक सुझबुझको एउटा गतिलो दृष्टान्त यही नै हो । पछि समयक्रममा दलहरूले माओवादीलाई राजनीतिक शक्ति स्विकारी १२ बुँदे सम्झौता गरे, त्यसकै बलमा दोस्रो जनआन्दोलन भयो, माओवादी हतियार त्यागी शान्तिपूर्ण राजनीतिमा आयो र देशमा लोकतान्त्रिक गणतन्त्रको उदय भयो ।
नेपाली समाजको संरचनात्मक विभेदबारे गहिरो जानकारी राख्ने गिरिले यो समस्याको निराकरणका लागि यथोचित पहल पनि गरेका थिए । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकले सांकेतिक रूपमै सही, नेपालमा पहिलो पटक आफ्नो आन्तरिक संरचना नीतिगत रूपमै समावेशी बनाउने जमर्को गरेको थियो । ‘कमजमद’ नामले चिनिएको कर्णाली, महिला, जनजाति, मधेशी र दलितका निम्ति आरक्षणको थिति बसाल्ने पहल पार्टीभित्र गिरिले नै गरेका थिए । लोकतन्त्रसँगै संवैधानिक र कानुनी रूपमै राज्यका निकायहरू समावेशी बन्न थाले । तैपनि उनीहरूका सारभूत समस्या ज्युँका त्युँ रहेका विषयमा गिरिले विभिन्न मञ्चबाट झकझकाइरहे । मुलुकका सबै जातजाति, भाषाभाषी, समुदाय र लिंगको सशक्तीकरणबिना लोकतन्त्र बलियो नबन्ने तथ्य उनले पछिसम्मै औंल्याइरहे ।
पुँजीवाददेखि साम्यवाद, अर्थशास्त्रदेखि समाजविज्ञान, सिनेमादेखि साहित्य र पौराणिक कथादेखि दन्त्यकथासम्मको मिहिन बुझाइका कारण हुनुपर्छ, मुलुकको कुनै पनि सवालमा गिरिको दृष्टिकोण कहिल्यै एकांगी रहेन । प्रत्येक विषयलाई उनले फराकिलो चित्रफलकमा नियाले, र सुदूर क्षितिजसम्मको दृष्टि राखे । नेपाली राजनीति र समाजका अनेकौं सनातन विषयका अतिरिक्त, पछिल्लो समय जलवायु परिवर्तन, पर्यावरण र पृथ्वीको भविष्यप्रति पनि सघन चिन्ता उनमा देखिन्थ्यो । खासमा यो उनको भोलिको पुस्ताप्रतिको सुर्ता थियो ।
उज्याला पाटा मात्रै अवश्य थिएनन्, गिरिका कतिपय मानवीय कमजोरी पनि थिए । कहीँ आदर्श र जीवनबीच बेमेल देखिन्थ्यो, कहीँ उनी अलि रहस्यमयजस्ता लाग्थे । तर यति भन्न कत्ति पनि हिचकिचाउनु पर्दैन— प्रदीप गिरिको बौद्धिक छवि यति देदीप्यमान थियो कि त्यसका अगाडि उनका केही कमजोरीहरू पनि स्वतः छायामा पर्थे, परिरहेका छन् ।
समग्रमा बौद्धिक विमर्श र वैचारिक बहसमा गिरि जसरी खरो उत्रिए, यसका निम्ति जुन रूपमा राजनीतिक सीमाको परबाह गरेनन्, त्यो उनले कमाएको पुँजी मात्र होइन, नेपाली राजनीति र समाजलाई छाडेर गएको नासो पनि हो । पदसोपानमा असाध्यै विश्वास राख्ने नेपाली समाजमा गिरि किस्तीमा आएको मन्त्री पद नखाएर, सांसद र पार्टी केन्द्रीय सदस्यमा रमाए, र पनि उनको कद अरूभन्दा उच्च रहिरह्यो । यही सच्चरित्रका कारण गिरि चिरकालसम्म हामीमाझ रहिरहनेछन् । तसर्थ, शोकको यस घडीमा उनलाई सम्झनु फगत औपचारिकता पूरा गर्ने मेलो मात्र हुनु हुन्न, उनको विश्वासको उज्यालोमा राजनीतिक समुदायले आफ्नो गन्तव्य पहिल्याउने प्रण गर्नु पनि अनिवार्य छ
सुप्रदीप्त प्रदीप
नेपाली राजनीतिक आकासको एउटा नक्षत्र शनिबार रातिबाट बिलिन भएको छ। तर तिनले नेपाली समाजको चेतना अभिवृद्धिका निम्ति गरेको योगदान कहिल्यै विस्मृतिमा जाने छैन। समाजवादी चिन्तक प्रदीप गिरी सत्तारुढ नेपाली कांग्रेसका सांसदसमेत थिए। उनको महाप्रस्थानपछि उनलाई सम्झना गर्नेहरू कुनै एउटा दलविशेषसँग मात्र सीमित रहेनन्। राति ढिलो गरी उनको निधनको खबर सार्वजनिक भए पनि आइतबार बिहानका प्रत्येक अखबारमा उनको निधनको खबर छापिएको थियो। त्यति मात्र होइन, सामाजिक सञ्जाल फेसबुक, ट्विटरदेखि अहिलेको लोकप्रिय माध्यम टिकटकमा समेत उनका विचार निरन्तर प्रसारित भइरहेका छन्। राजनीतिक नेता एवं चिन्तक गिरीको नेपाली समाजमा अमिट छाप परेको यसबाट प्रष्ट हुन्छ।
आज मुलुकले फेरि नेता खोजिरहेको छ। गिरी आफ्नो जीवनमा व्यावहारिक राजनीतिको दलदलबाट मुक्त रहे। उनले जहिल्यै आफूलाई समाजवादी चिन्तनबाट समाजलाई चेतना प्रवाह गरिरहे। उनलाई पनि मन्त्री बन्ने, सुखसुविधा लिने र अहिलेका विकृतिको दलदलमा पर्ने अवसर थियो। तर उनी कहिल्यै त्यसमा तानिएनन्। मन्त्री नबनेर पनि आफ्नो कर्मकै माध्यमबाट सबैतिर उनी प्रकाशित हुन सफल रहे। एउटा फकिरको जस्तो जिन्दगी बाँचेर उनी गए। बाँचुन्जेल उनले अन्तस्करणले देखेको कुरा लेखिरहे, बोलिरहे। उनको विचारका ती जाज्वल्यमान फिलिङ्गाहरू जहाँसुकै फैलिएका छन्। उनको निधनपछि मानिसले उनीप्रति दर्शाएको सद्भाव र जीवनप्रतिको सम्झना नै यथार्थमा सफल मानिसका पुँजी हुन्। मानिसको जीउ मर्छ, उसका कीर्ति मर्दैनन्। समाजवादी चिन्तक गिरीका कीर्ति मुलुकको भावी सामाजिक–आर्थिक र राजनीतिक क्षेत्रले बिर्सने छैन।
समकालीन नेपाली राजनीतिमा उनले छाडेको विरासत अग्रज नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईकै हाराहारीमा छ। नेताहरूमा हुनुपर्ने त्याग, चिन्तन र वचन कस्तो हुनुपर्ने हो भन्ने बुझ्न गिरीलाई सम्झिए हुन्छ। विचारले नै मानिसलाई युगौँयुगसम्म चिनाउँछ। जन्मदेखि मृत्युको बीचमा प्राप्त हुने वैभव क्षणिक हुन्छ। वास्तविक कमाइ मानिसको मृत्युपछि थाहा हुन्छ। यस हिसाबले पनि गिरी एक वैभवशाली नेता हुन्। उनले आमनेपाली समाजमा एउटा उचो उपस्थिति हासिल गरेका छन्। यस्तै व्यक्तिको मृत्युपछि पनि जीवन हुन्छ। अन्य व्यक्ति त बाँचेकै बेला पनि मरिरहेका हुन्छन्।
२००२ सालमा सप्तरीमा जन्मिएका गिरीको विगत पनि गौरवशाली छ। उनले आफ्नो राजनीतिक दल मात्र होइन, अन्य दलका नेता तथा कार्यकर्तालाई समेत आश्चर्यमा पर्ने गरी गरेका प्रवचन र प्रशिक्षणको सम्झना धेरैले गरेका छन्। निस्वार्थभावले बाँचेकै कारण उनले कहिल्यै पनि शिर निहुराउनु पर्ने अवस्था रहेन। राज्य दोहनबाट व्यक्तिगत आर्जन गर्न चाहने अहिलेको राजनीतिका बीचमा गिरी नै यस्ता नेता हुन् जसले आफ्नो सम्पत्ति सार्वजनिक सेवामा प्रयोग गर्न सके। सम्पन्न परिवारका व्यक्ति पनि आज दिन नसक्ने अवस्थामा छन्। उनले समाज सेवाका निम्ति यसलाई प्रयोग गरेका छन्। सामाजिक परिवर्तनका निम्ति पनि उनले आफैँ उदाहरण बनेर देखाएका छन्। समाजमा रहेको छुवाछूत र भेदभाव हटाउन उनले घरैबाट प्रयास गरेका छन्।
२०१७ सालदेखि राजनीतिमा सक्रिय रहेका उनी २०२५ सालमा राजा महेन्द्रको सक्रिय शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीका लागि क्रियाशील भएका थिए। त्यसो गर्दा उनलाई १८ महिनासम्म जेल राखिएको थियो। नेपाली कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रहका क्रममा पनि उनी जेल परेका थिए। उनी २०२४ सालमा भारतको वनारसमा गठित नेपाल छात्र संघको उपाध्यक्ष पनि भएका थिए। पार्टीको १०औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनका करिब दुई दर्जन पुस्तकसमेत छन्। जननेता बिपी कोइरालाको सान्निध्यमा रहेर काम गर्ने थोरै नेतामध्येमा उनी पनि एक हुन्।
सिरहालाई आफ्नो राजनीतिक क्षेत्र बनाउँदै आएका उनले त्यहीँबाट प्रतिनिधिसभालाई प्रतिनिधित्व गरेका थिए। संसद्मा जब जब उनी बोल्न उभिन्थे, त्यतिबेला त्यहाँ मात्र होइन, सिंगो मुलुकले उनलाई सुन्थ्यो। उनी के भन्छन् भनेर ध्यानपूर्वक सुन्न सबै तत्पर हुनु भनेको आमनागरिकका तर्फबाट ठूलो विश्वास आर्जन गर्नु हो। ठूला पद र प्रतिष्ठा पाएर पनि कैयन् व्यक्ति त्यसका निम्ति योग्य हुँदैनन्। तिनले त्यसको सदुपयोग पनि गर्न सक्दैनन्। जसले मन्त्री वा अन्य यस्तै पद प्राप्तिबाट आफूलाई जहिल्यै टाढा राख्न चाहे, उनले हासिल गरेको सम्मान अन्य जीवित नेताले बिरलै प्राप्त गर्न सक्छन्। उनले जगाएको यो आस्थाको दियो निभ्ने छैन। बरु यसले भविष्यमा धेरैलाई प्रेरणा दिइरहने छ।
जीवन अनित्य छ। जुन व्यक्तिले बाँचेकै बेला मृत्युलाई चिनेर अगाडि बढ्छ, उसले पहिल्यै मृत्यु मात्र जितिसकेको हुँदेन, जीवनलाई पनि वास्तविक अर्थमा बुझिसकेको हुन्छ। समाजवादी चिन्तक गिरीले मृत्युलाई नपढी नहुने जीवनकै एक अन्तिम पृष्ठका रूपमा चित्रण गर्दै दिएका अभिव्यक्ति यतिबेला समाजिक सञ्जालमा व्यापकरूपमा फैलिइरहेका छन्। उनले भनेका छन्– ‘मृत्यु अनिवार्य नियति हो। त्यसका लागि सधैँ घोडामा चढिराख्न आवश्यक छैन, यसो घोडाबाट उत्रिएर विश्राम गर्दा पनि केही बिग्रँदैन भन्ने मान्यता राख्नुपर्छ।’
हार्दिक श्रद्धाञ्जली प्रिय नेता एवं विचारक प्रदीप गिरी !
नागरिक दैनिक, सम्पादकीय
प्रदीप हिँडेको पथ
समकालीन राजनीतिमा कोही त्यस्तो थियो, जसलाई पदको आशक्ति कहिल्यै भएन। मन्त्री बन्नु पर्ला भनेर तर्सिरह्यो। रुचि साहित्य र अध्यात्ममा तर कर्म राजनीति पनि। राजनीतिमा वैचारिक तरंग सिर्जना गर्नु र मार्गनिर्देश गर्नुको कर्मबाहेक सनातनी राजनीतिमा मोह नभएका पात्र थिए प्रदीप गिरि। जो कहिल्यै मन्त्री भएनन्, पार्टीको नेतृत्व त के पदाधिकारीभित्र पर्ने इच्छा देखाएनन्। त्यस्ता विरलाकोटी राजनीतिक व्यक्ति गिरिको भौतिक शरीरले शनिबार बिदा लिँदा नेपालीमात्रै नभई दक्षिण एसियाली राजनीतिक वृत्तमा ठूलो रिक्तता पैदा भएको छ। राजनीतिमा पनि समाजवादी विचारधारामा गिरिको पक्षधरतामात्रै थिएन, त्यसमाथि उनी विशद चिन्तन गर्थे। नेपाली समाजका दुर्भेद्य रहस्यका गाँठा फुकाउँदै मार्ग निर्देश गर्थे।
माक्र्सवादका धुरन्धर विद्वान् पार्टीगत हिसाबमा कम्युनिस्ट होइन कांग्रेस थिए, तर पार्टीभन्दा माथि उठेर सबैका प्रिय र सम्मानित व्यक्तित्व थिए। उनलाई नेपाली कांग्रेसका नेता वा हालको प्रतिनिधिसभाका सांसदको परिचयमा सीमित गर्नु उनको विराट व्यक्तित्वलाई खुम्च्याउनु हो। कुनै पद वा जिम्मेवारीले भन्दा निष्ठा, इमान, सिद्धान्त, दार्शनिकता र व्यवहारले अग्लिएका व्यक्तित्व हुन् गिरि। २००४ सालमा सिराहाको बस्तीपुरमा जन्मिएका प्रदीप खासमा मित्रलाल र पुण्यप्रभाका सन्तानमात्रै नभई मुलुकको सच्चा सपूत भएर जीवन बाँचे। जति बाँचे जनताका मनमनमा आदर्श भएर बाँचे। त्यसैले उनको भौतिक अनुपस्थितिले उनको पार्टी र राजनीतिवृत्तमात्रै नभई अराजनीतिक पुस्ता पनि स्तब्ध भएको छ।
राजनीति र त्यसमा पनि समाजवादी दृष्टि, अर्थ राजनीति, इतिहास, दर्शन, धर्मसंस्कृति, अध्यात्म वा साहित्यमाथि गिरि जति पनि प्रवचन दिन सक्थे। उनको विशद ज्ञानको चुम्बकीय वाककलाले जोकोहीलाई कायल पाथ्र्याे। बोलीमा एक किसिमको जादुयी क्षमताका धनी थिए उनी। अध्ययन, अध्ययन अनि अध्ययन सबैभन्दा धेरै उनको रुचि थियो। खासमा उनी माक्र्सवादका प्रखर ज्ञाता पनि थिए। तर, उनी कांग्रेसमा रहे। घरबाट विज्ञान पढ्न काठमाडौं पठाइएका उनले पुस्तकालयहरूमै वर्ष दिन बिताइदिएका थिए। त्यसो त बस्तीपुरबाट एसएलसी दिनुअघि नै त्यहाँको पुस्तकालयका हिन्दी पुस्तक पढेर अध्ययनमा रस बसालिसकेका थिए। आफ्ना ज्ञानगुनलाई पनि उनले दर्जन पुस्तकमा उतारेर नेपाली समाजलाई गुन लगाउन पनि भ्याएका थिए। प्रदीप गिरिले बाँचेको र हिँडेको राजनीतिको बाटोलाई आजको राजनीतिले पनि कतै पछ्याएको भेटिन्न।
चार पटक सांसद भइसकेको व्यक्तिलाई पनि मन्त्री बन्न वा सार्वजनिक लाभको पदको कुनै चाहना नहुनु वास्तवमै वितरागी प्रवृत्ति हो। हुन पनि उनको जीवनशैली पनि अध्यात्मबाट प्रभावित भएरै होला, पूरापूर सादगी थियो। बस्ने वा खानेको पीरचिन्ताभन्दा अध्ययनको भोक ज्यादा रह्यो। खद्दरको कुर्था र सुरुवाललाई पहिरन बनाए। एक राजनीतिकर्मीका हैसियतले, एक विद्वत् नागरिकका हैसियतले वा प्राज्ञिक व्यक्तित्वका हैसियतले प्रदीप गिरिले सधैं मधेस, कर्णाली, दलित, महिला र जनजातिका मुद्दालाई मुखरित गरिरहे। आफ्नो पार्टी सरकारमा छ कि विपक्षीमा भन्ने ख्याल उनी सांसद छँदा कहिल्यै राखेनन्। पार्टी वा सरकारको नाफाघाटाको बही खाताको जिम्मा नलिइकनै संसद्मा वा सार्वजनिक मञ्चहरूमा अन्तरआत्माको आवाजमात्रै बोले।
यी र यस्तै कारणले पनि उनी पार्टीभन्दा माथिका राजनीतिकर्मी र सधैं समाजवादी राजनीतिक आस्थाका कट्टर पक्षपाती रहे। पद र प्रतिष्ठामात्रै नभई धनदौलतको लालचबाट एक किसिमको मोक्षप्राप्ति उनको खास विशेषता रह्यो। सिराहा बस्तीपुरको पुख्र्यौली जमिनसमेत आश्रमलाई दान गरेर त्यसलाई व्यवहारै पुष्टि गरे। आजको राजनीतिमा बौद्धिक र सिर्जनशील अनि व्यवहारमै निष्ठावान् राजनीतिकर्मी वा सार्वजनिक बौद्धिक वर्ग (पब्लिक इन्टेलेक्चुअल) को जुन खडेरी छ, प्रदीप गिरि दुर्लभ एउटा दियो थिए। त्यो निभ्यो। तर, उनले हिँडेको बाटो अरूका लागि अनुकरणीय छ। अनुसरणीय छ। राजनीतिलाई सङ्लो बनाउने, जनतामा केन्द्रित गराउने हो भने प्रदीप गिरि हिँडेको बाटो नै सच्चा बाटो हो। प्रदीपलाई उनको त्यही पथले अमर बनाउने छ। हाम्रो राजनीति र हाम्रो समाज त्यही बाटो हिँड्यो भने नै गिरिप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ।

