काठमाडौं – अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।
करिब पाँच वर्षदेखि गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । पटक–पटक उपचारका लागि भारत जाने र आउने क्रम चलिरहेको थियो । यस पटक पनि लामो उपचारपछि नेपाल फर्किएका उनी साउन पहिलो साता मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
संक्रमण शरीरका अन्य भागमा समेत फैलिएपछि शुक्रबारदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ पंकज बर्मनले शनिबार राति ९ः३० बजे उनको निधन भएको जानकारी दिए । गिरीको पार्थिव शरीरलाई आइतबार बिहान ९ देखि ११ बजेसम्म अस्पताल परिसरकै शिवालय मन्दिरमा राखिने, त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । दिउँसो ४ बजेपछि उनको अन्त्येष्टि गरिनेछ ।
सिरहाको बस्तीपुरमा २००२ सालमा जन्मिएका गिरी सानैदेखि कुशाग्र बुद्धिका थिए । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । बौद्धिक नेताको छवि बनाएका उनलाई अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूले पनि उत्तिकै सम्मान गर्छन् ।
नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत हुन् । बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै गिरीले बीपीको संगत पाएका थिए । राजनीतिक संघर्षकै क्रममा उनले करिब चार वर्ष जेल जीवन बिताए ।
२०५१ मा पहिलोपटक संसद् प्रवेश गरेका उनी २०५६ को चुनावमा पराजित भए । २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासदका रूपमा संविधान लेख्ने कार्यमा सक्रिय उनले २०७४ मा प्रत्यक्ष चुनाव जितेका थिए । पटक–पटक सांसद बने पनि मन्त्री बन्न इच्छुक भएनन् । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनले लेखेका लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
उनी राणाकालमा जन्मेका थिए । जनता ‘रैती’ थिए । लेख्ने, पढ्ने र बोल्ने आजादी थिएन । यद्यपि, त्यसबखत राणाहरूमध्ये पनि अलि उदार स्वभावका पद्मशमशेर श्री ३ को आसनमा थिए । उनी जन्मेको पाँच वर्षमात्र भएको थियो, मुलुकमा प्रजातन्त्रको बिहानी झुल्क्यो । त्यही उमंग र उल्लासमा उनी हुर्के, बढे र पढे ।
गिरीले नेपाली समाज किन यसरी पछाडि पर्यो भनेर किशोरावस्थादेखि नै प्रश्नहरू सोध्न र तिनको उत्तर नेपाली समाजमै कतै छ भनेर खोज्न थाले । जीवनको अन्त्यसम्म पनि उनले नेपाली समाजको समस्या र चासोबारे प्रश्न गरिरहे, शासकहरूलाई समाधानका सामाजिक मन्त्रहरू सिकाइरहे ।
गिरीका बुबा मित्रलाल नेपाली कांग्रेस प्रतिबन्धित रहेकै अवस्थामा सिरहा सभापति थिए । धनीमानी खान्दानमा जन्मेको भए पनि त्यो वैभवपट्टि प्रदीप कहिल्यै आशक्त भएनन् । गिरीले बस्तीपुरको पुर्ख्यौली सम्पत्ति मित्र सेवा आश्रमका नाउँमा अर्पण गरेका छन् । उनले निकै सरल र साधा जीवन बाँचे । खद्दरको कुर्था सुरुवाल लगाएर देश घुमे । समाजशास्त्रको अध्ययन गरे, मार्क्सवाद आत्मसात् गरे र नेपालका थुप्रै मार्क्सवादीहरूलाई मार्क्सवाद पढाए । त्यसैले उनी युवादेखि वृद्धसम्म, प्राज्ञिकदेखि श्रमिकसम्म सबैका प्रिय बन्न सफल भए ।
ऋषिकेश शाह नेपाल मानवअधिकार संगठनको अध्यक्ष भएका बेला महासचिव रहेका गिरी यो अभियानका प्रवक्ता थिए । गान्धीको शान्ति र अहिंसाको मार्ग अनुसरण गर्ने उनले जीवनभर अन्याय, अत्याचार र हिंसाको विरोध गरे । भारतीय समाजवादी नेताहरू जयप्रकाश नारायण, राममनोहर लोहियाजस्ता उच्चकोटीका व्यक्तित्वहरूको सान्निध्यले पनि उनलाई लोकतन्त्र र समाजवादप्रति दृढ बनायो ।
२०४२ सालको सत्याग्रहमा गिरी जेलमा थिए । पटक–पटक गरेर करिब ४ वर्ष उनले जेल जीवन बिताए ।
अध्ययनमा अद्भुत, विचारमा विलक्षण र प्रस्तुतिमा प्रस्ट गिरीले अग्रजभन्दा सधैं युवालाई हेरे, सत्ता, समाज र व्यवस्था मात्र होइन, दलभित्र पनि निरन्तर प्रतिपक्षी आवाज बन्न ऊर्जा सञ्चार गरिरहे ।
२०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गरे भने २०५९ असारमा कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवातिर लागे । प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्य बने । पार्टीमा समावेशीकरणका पक्षधर गिरीले नै नयाँ कार्यक्रम प्रस्तुत गरे, जसलाई ‘जमदम’ भनिन्थ्यो । यसको अर्थ ज भनेको जनजाति, म भनेको महिला, द भनेको दलित र म भनेको मधेसी भनेर उनी अर्थ्याउँथे ।
उनले पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन नसक्दा लोकतान्त्रिक गणतन्त्र कमजोर हुने विचार प्रवाह गरिरहे । स्वतन्त्रता, समानता र शान्तिका पक्षपाती उनको जीवनशैली भने त्यति व्यवस्थित थिएन । उनी कहाँ खान्थे, कहाँ सुत्थे कुनै ठेगान थिएन ।
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरी बनारस प्रवासमा बीपीहरूसँगै थिए । शैलजा, भीमबहादुर, चक्रहरूसित मिलेर पत्रिका चलाउन तम्सिए । चक्र उनका सहपाठी नै थिए । चक्र र उनले मिलेर रहर भन्ने पत्रिका प्रकाशन गरेको अनुसन्धाता जगत नेपालले आफ्नो लेखमा लेखिसकेका छन् । उनी तरुण पत्रिकाको पनि सम्पादक थिए ।
बनारस पढ्दा छात्र संघका अध्यक्ष भए । पार्टीहरूका शीर्ष नेताहरूसित मुख जुधाएर सवालजवाफ गर्न सक्ने तरुणहरूको खडेरी परिरहेका बेला उनले बीपीजस्ता समाजवादी चिन्तकसँग गरेको सवालजवाफ सबैका लागि प्रेरणा हुन सक्छ ।
प्रतिभावान भइकन पनि उनी प्रश्नको घेराबाट बाहिर भने थिएनन् । कोही उनलाई बेथितिको नेता भन्थे भने कोही मीठो बोल्ने तर त्यसअनुसारको व्यवहार नभएको भन्थे । उनीप्रति शंका–उपशंकाको दृष्टिकोण राख्नेहरू पनि थिए ।
उनी नेपाली राजनीतिमा निकै अग्ला कदका नेता थिए । प्रखर बौद्धिक व्यक्तित्व थिए । राजनीतिशास्त्रका प्राध्यापक कपिल श्रेष्ठ भन्छन्, ‘प्रदीप गिरी बीपी कोइरालापछिका समाजवादी चिन्तक र बौद्धिक व्यक्तित्व थिए ।’
प्राध्यापक श्रेष्ठका शब्दमा चिन्तक र दार्शनिकहरू कहिल्यै मर्दैनन् । ‘एरिस्टोल कहिल्यै मर्दैनन् न मार्क्स मर्छन् । त्यस्तै गान्धी सदा जीवित रहन्छन् । बीपी कहिले मर्छन् ? कहिल्यै मर्दैनन् । त्यस्तै प्रदीप गिरी पनि एक चिन्तक हुन्, उनी कहिल्यै मर्दैनन् । यत्ति हो उनको पाञ्चभौतिक शरीर हामीमाझ नरहन सक्छ’, प्राध्यापक श्रेष्ठ भन्छन्, ‘हामी सबैका प्रिय प्रदीप दाइ मर्नुभएको होइन, उहाँले चोला फेर्नुभएको मात्र हो ।’ गिरीलाई लामो समय आफ्नै घरमा बसाएका पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले उनलाई असंगठित र घरबारमा रुचि नभएजस्तो व्यक्ति भनेका छन् । ‘काठमाडौंमा प्रायः भाडावालकै रूपमा रहनुभयो, समयमा भाडा नतिर्ने वा आफूसँग भएका बेला भने घरबेटीलाई जति पनि पैसा दिने स्वभाव उहाँमा थियो तर भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने,’ उपाध्यायले लेखेका छन्, ‘घरबेटीले महिनौंमहिनाको बिजुलीको बिल, पानीको बिल के–के जोड्छ, अधिकांशतः हिसाब मिलिरहेको हुँदैन । प्रदीपजी मैले सबै भाडा चुक्ता गरिसकेको छु भन्ने, घरधनी भने विवादमा उत्रिरहने ।’
उनले गिरीबारे अघि लेखेका छन्, ‘सधैंको त्यस्तो कचकच देखेर मैले होइन प्रदीपजी, मेरो त्रिपुरेश्वरको घरमा बस्नुहोस् भनें र २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मकहाँ नै बस्नुभयो, कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो– बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि ।’ कांग्रेसका कतिपय नेताले गिरीको राजनीतिक स्वभाव किसुनजीसँग मिल्दो भनेर चिनाउँछन् ।
राजनीति गर्ने तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा उनलाई जिताउन सिरहा पुगेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुला सभामै भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।’ तर, चुनाव हारेपछि गिरीको अनौठो प्रतिक्रिया चर्चित भएको थियो । त्यो बेला उनले भनेका थिए, ‘मलाई मन्त्री बन्नबाट भगवान्ले बचाउनुभयो, म किसुनजीको आग्रह टार्न सक्दिनथें तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाट मुक्त गरिदिए ।’
चार पटकसम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए तर स्वीकारेनन् । उनी मन्त्री बन्नबाट भाग्नुको खास कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ । उनी भन्थे, ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफू सकिने डर हुन्छ ।’
गिरीसँग लामो सहकार्य र संवाद गरेका वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा उनी सत्ताको लोभ नगर्ने नेता हुन् । उसो त राजनीति गिरीको प्राथमिक रुचि नै होइन । ‘प्रदीप दाइको प्राथमिक रुचि साहित्य हो, त्यसपछि उहाँको झुकाव अध्यात्ममा थियो, राजनीति त उहाँको तेस्रो रुचि हो,’ गिरीसँगको वार्ताबारे नेपालले केही साताअघि लेखेका
छन्, ‘उहाँको चर्चा राजनीतिकै कारण बढी हुने गर्छ । राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको
आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर, प्रदीप दाइमा मैले सत्ताको लोभ देखेको छैन । त्यसबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्छ ।’
राजनीतिक दर्शनका प्रदीप्त पात्र
भाद्र ६, २०७९सम्पादकीय
वैचारिक हिसाबले शुष्क र निष्प्रभ समकालीन नेपाली राजनीतिमा आशाको प्रकाश फ्याँक्ने अति सीमित व्यक्तिमध्ये एक थिए- प्रदीप गिरि । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता गिरि खासमा राजनीतिकर्मी कम र विचारक ज्यादा थिए ।
प्रखर समाजवादी चिन्तकका रूपमा उनको चिनारी पार्टीभित्र मात्र होइन, बाहिर पनि उत्तिकै स्थापित तथा स्वीकार्य थियो । बहुविधामा उनी जुन विलक्षण ज्ञान राख्दथे, त्यो समकालीन नेपाली समाज–राजनीति सबैतिर बेजोडा थियो । जीवन–जगत्का कैयौं विषयमा गहिरो मीमांसा गर्न सक्ने यिनै गिरि शनिबार रातिदेखि हामीमाझ छैनन् । उनका योगदान र विचारको आलोकले भने नेपाली राजनीतिलाई हमेसा बाटो देखाइरहनेछ ।
आधा शताब्दीभन्दा लामो राजनीतिक जीवनमा प्रवासदेखि जेलसम्म बसेका गिरिले राजनीति र समाज रूपान्तरणका लागि हरपल आवाज उठाइरहे । आफ्नै दल सत्तामा हुँदा किन नहोस्, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा सदैव प्रश्न गरिरहे । समय र परिस्थितिको गहिरो बोध भएका उनले राष्ट्र र समाजका समस्याहरू औंल्याइरहे । देशले लिनुपर्ने दिशाबारे नेतृत्वलाई निरन्तर सजग गराइरहे≤ बाटो देखाइरहे । विभिन्न राजनीतिक, प्राज्ञिक र साहित्यिक अनुष्ठानदेखि संसद्सम्म उनले जेजति बोले, ती सबैमा आफ्नो गहिरो प्रभाव मात्र छाडेनन्, सम्बन्धित सबैलाई दिशाबोध पनि गराए । समग्रमा उनले लोकतन्त्रलाई जीवन्त बनाइरहे ।
संकीर्ण दलीय घेराभित्र सीमित रहने आम राजनीतिज्ञको विशेषता गिरिमा कहिल्यै देखिएन । आफ्नै पार्टीका प्रधानमन्त्रीले नेताहरूको टाउकाको मोल तोकी आतंकवादी घोषणा गरेको तत्कालीन विद्रोही माओवादीलाई उनले सुरुदेखि नै राजनीतिक शक्ति मानिरहे, र उनीहरूलाई राजनीतिक मूलधारमा ल्याउन पर्दाभित्र–बाहिर सक्रिय रहे । ‘हतियारबिनाको माओवादी, शक्तिबिनाको राजा र विवेकसहितका नेता’ हुनुपर्ने आफ्नो अडानमा उनी देशमा द्वन्द्व चर्कंदा पनि उत्तिकै दृढ थिए । गिरिको दूरदृष्टि र राजनीतिक सुझबुझको एउटा गतिलो दृष्टान्त यही नै हो । पछि समयक्रममा दलहरूले माओवादीलाई राजनीतिक शक्ति स्विकारी १२ बुँदे सम्झौता गरे, त्यसकै बलमा दोस्रो जनआन्दोलन भयो, माओवादी हतियार त्यागी शान्तिपूर्ण राजनीतिमा आयो र देशमा लोकतान्त्रिक गणतन्त्रको उदय भयो ।
नेपाली समाजको संरचनात्मक विभेदबारे गहिरो जानकारी राख्ने गिरिले यो समस्याको निराकरणका लागि यथोचित पहल पनि गरेका थिए । तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकले सांकेतिक रूपमै सही, नेपालमा पहिलो पटक आफ्नो आन्तरिक संरचना नीतिगत रूपमै समावेशी बनाउने जमर्को गरेको थियो । ‘कमजमद’ नामले चिनिएको कर्णाली, महिला, जनजाति, मधेशी र दलितका निम्ति आरक्षणको थिति बसाल्ने पहल पार्टीभित्र गिरिले नै गरेका थिए । लोकतन्त्रसँगै संवैधानिक र कानुनी रूपमै राज्यका निकायहरू समावेशी बन्न थाले । तैपनि उनीहरूका सारभूत समस्या ज्युँका त्युँ रहेका विषयमा गिरिले विभिन्न मञ्चबाट झकझकाइरहे । मुलुकका सबै जातजाति, भाषाभाषी, समुदाय र लिंगको सशक्तीकरणबिना लोकतन्त्र बलियो नबन्ने तथ्य उनले पछिसम्मै औंल्याइरहे ।
पुँजीवाददेखि साम्यवाद, अर्थशास्त्रदेखि समाजविज्ञान, सिनेमादेखि साहित्य र पौराणिक कथादेखि दन्त्यकथासम्मको मिहिन बुझाइका कारण हुनुपर्छ, मुलुकको कुनै पनि सवालमा गिरिको दृष्टिकोण कहिल्यै एकांगी रहेन । प्रत्येक विषयलाई उनले फराकिलो चित्रफलकमा नियाले, र सुदूर क्षितिजसम्मको दृष्टि राखे । नेपाली राजनीति र समाजका अनेकौं सनातन विषयका अतिरिक्त, पछिल्लो समय जलवायु परिवर्तन, पर्यावरण र पृथ्वीको भविष्यप्रति पनि सघन चिन्ता उनमा देखिन्थ्यो । खासमा यो उनको भोलिको पुस्ताप्रतिको सुर्ता थियो ।
उज्याला पाटा मात्रै अवश्य थिएनन्, गिरिका कतिपय मानवीय कमजोरी पनि थिए । कहीँ आदर्श र जीवनबीच बेमेल देखिन्थ्यो, कहीँ उनी अलि रहस्यमयजस्ता लाग्थे । तर यति भन्न कत्ति पनि हिचकिचाउनु पर्दैन- प्रदीप गिरिको बौद्धिक छवि यति देदीप्यमान थियो कि त्यसका अगाडि उनका केही कमजोरीहरू पनि स्वतः छायामा पर्थे, परिरहेका छन् ।
समग्रमा बौद्धिक विमर्श र वैचारिक बहसमा गिरि जसरी खरो उत्रिए, यसका निम्ति जुन रूपमा राजनीतिक सीमाको परबाह गरेनन्, त्यो उनले कमाएको पुँजी मात्र होइन, नेपाली राजनीति र समाजलाई छाडेर गएको नासो पनि हो । पदसोपानमा असाध्यै विश्वास राख्ने नेपाली समाजमा गिरि किस्तीमा आएको मन्त्री पद नखाएर, सांसद र पार्टी केन्द्रीय सदस्यमा रमाए, र पनि उनको कद अरूभन्दा उच्च रहिरह्यो । यही सच्चरित्रका कारण गिरि चिरकालसम्म हामीमाझ रहिरहनेछन् । तसर्थ, शोकको यस घडीमा उनलाई सम्झनु फगत औपचारिकता पूरा गर्ने मेलो मात्र हुनु हुन्न, उनको विश्वासको उज्यालोमा राजनीतिक समुदायले आफ्नो गन्तव्य पहिल्याउने प्रण गर्नु पनि अनिवार्य छ । साभार : कान्तिपुर ।
प्रकाशित : भाद्र ६, २०७९

