काठमाडौं) – काठमाडौंमा यस वर्षको मार्चमा ५४ वर्षयताकै सबैभन्दा बढी गर्मी भएको छ । सन् १९६८ यताको उपलब्ध तथ्यांक अनुसार २०२२ को मार्च अर्थात् फागुन १७ देखि चैत १७ सम्म सबैभन्दा बढी गर्मी भएको हो ।
जल तथा मौसम विज्ञान विभागको गौचरणस्थित तापक्रम मापन केन्द्रमा रेकर्ड तथ्यांक विश्लेषण गर्दा मार्चमा अधिकतम, न्यूनतम र औसत तापक्रम ५४ वर्षकै बढी पाइएको छ । विभागको तथ्यांक वातावरण तथा जलवायु अनुसन्धानकर्ता पीयूष दाहालले विश्लेषण गरेका थिए ।
हिउँद सकिने र प्रि–मनसुन सुरु हुने महिना मार्चबाट बिहान–बेलुका चिसो र दिउँसो न्यानो सुरु हुन्छ । तर यो वर्षको मार्च अलि फरक रह्यो । बिहान–बेलुका मात्रै होइन, दिउँसो पनि अघिल्ला वर्षहरूभन्दा बढी न्यानो महसुस भयो ।
मार्चको तेस्रो सातामा आइपुग्दा अधिकांश दिनमा औसतभन्दा बढी तापक्रम मापन भएको छ । जसले मार्च महिनाको तथ्यांक राख्न सुरु गरेयताकै सबैभन्दा तातो बन्न पुग्यो ।
काठमाडौंको १९६८ देखिको मौसमी तथ्यांक अध्ययन गर्दा यस पटकको मार्चमा काठमाडौंको औसत तापक्रम २०.४ डिग्री सेल्सियस रह्यो । जबकि काठमाडौं गौचरण मौसम मापन केन्द्रको मार्च महिनाको सामान्य औसत तापक्रम १७.४ डिग्री सेल्सियस छ । औसत तापक्रम ३० वर्षमा सम्बन्धित महिनाको अधिकतम र न्यूनतमलाई गणना गरेर निकाल्ने गरिन्छ ।
अहिले १९९१ देखि २०२० सम्मको अधिकतम र न्यूनतम तापक्रमका आधारमा निकालिएको हो । काठमाडौंमा औसत न्यूनतम तापक्रम ८.८ र अधिकतम २५.५ डिग्री सेल्सियस छ । यस पटक मार्च महिनाको औसत अधिकतम तापक्रम २८.२५ र न्यूनतम १२.२५ डिग्री सेल्सियस रह्यो ।
यसअघि यस्तै न्यानो मार्च महिना १२ वर्षअघि अर्थात् २०१० थियो । २०१० मार्चको औसत तापक्रम काठमाडौंको २० डिग्री सेल्सियस थियो । जबकि २०२१ मार्चमा औसत तापक्रम १८.४ रह्यो । २०२० मा भने १७.१ र २०१९ मा १६.८ डिग्री सेल्सियस थियो । त्यसैगरी २०१८ मार्चमा १८.४, सन् २०१७ मा १६.८ र २०१६ मा १८.७ सेल्सियस थियो ।
‘१९६८ देखि मौसम विभागले नियमित रूपमा राख्न थालेको तथ्यांकलाई विश्लेषण गर्दा यो मार्च महिना सबैभन्दा गर्मी देखियो,’ अनुसन्धानकर्ता पीयूष दाहालले भने, ‘यो मार्च महिनाको औसत अधिकतम र न्यूनतम तापक्रम यो ५४ वर्षमा बढी हो । काठमाडौंमा कुनै दिन औसतभन्दा लगभग ८ डिग्री सेल्सियससम्म बढेको छ भने अधिकतम औसतभन्दा ५ डिग्री सेल्सियससम्म बढेको छ ।’
गौचरण केन्द्रको तथ्यांकले यो मार्च महिना सबैभन्दा बढी १९ तारिखमा ३१.५ डिग्री सेल्सियस मापन गरेको थियो । यस वर्ष काठमाडौंमा मार्चको अन्तिम दिन अर्थात् चैत १७ मा सबैभन्दा बढी न्यूनतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्यो ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार ललितपुरको खुमलटार र भक्तपुरको चाँगुनारायणमा रहेका मौसम मापन केन्द्रहरूको न्यूनतम र अधिकतम तापक्रममा पनि नयाँ रेकर्ड बनेको देखिएको छ । चाँगुमा चैत १६ मा न्यूनतम तापक्रम १६.५ र खुमलटारमा १७.५ डिग्री सेल्सियस थियो । दुवै आफैंमा रेकर्ड बनेका थिए ।
देशभर बढ्यो तातो
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानको मार्चमा विभिन्न मापन केन्द्रमा अधिकतम तथा न्यूनतम तापक्रमतर्फ रेकर्ड बनेको जनाएको छ । अर्थात् पछिल्ला वर्षहरूका मार्च महिनामा गर्मी बढ्न थालेका छन् । न्यूनतम तापक्रम बढी हुनु भनेको राति वा बिहान पनि न्यानो हुने अवस्था हुन्छ ।
‘अहिले हामीले अनुगमन गरिरहेको २० वटा स्टेसनमा तथ्यांक हेर्दा मार्च महिनाको तापक्रम सरदरभन्दा बढी छ । यो महिना औसतभन्दा तातो देखिन्छ । कुनै–कुनै स्टेसनहरूमा मार्च महिनाका दिनहरूमा सरदरभन्दा ६ डिग्री बढिरहेको छ,’ जल तथा मौसम विज्ञान विभागको जलवायु विभागकी प्रमुख इन्दिरा कँडेलले भनिन्, ‘यस पटकको हिउँदमा केही पानी पर्यो र प्रि–मनसुन पनि भएन । वर्षा गराउने प्रणाली सक्रिय नहुँदा जति हुनुपर्ने हो, त्यति वर्षा भएकै छैन । त्यसले तापक्रम बढाएको हो ।’
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल सामान्यतया अप्रिल महिनामा निर्माण हुने उच्च चापीय प्रणाली यस पटक मार्चमा देखिएको र जसले पश्चिमी वायुलाई यस क्षेत्रमा आउन नदिएर वर्षा भएको बताउँछन् । ‘यस वर्ष मार्च महिनामा गर्मी भएको देखिन्छ । नेपाल, भारत र पाकिस्तानमा पनि मार्च महिनामा सरदरभन्दा बढी गर्मी रह्यो,’ उनले भने, ‘अहिले वायु प्रदूषण बढ्नुको प्रमुख कारण त्यो पनि हो । हावाको गति जति मात्रामा हुनुपर्ने थियो, त्यो औसतभन्दा निकै कम रह्यो ।’
मौसम विज्ञान विभागका तथ्यांकहरूमा तराईका जिल्लाहरूभन्दा यस पटक पहाडमा न्यूनतम र अधिकतम तापक्रममा उल्लेख्य वृद्धि देखिन्छ । मुस्ताङको जोमसोममा चैत ३ मा अधिकतम तापक्रमको रेकर्ड बन्यो । त्यस दिन अधिकतम तापक्रम २४.२ डिग्री सेल्सियस पुगेको थियो । जबकि जोमसोममा मार्चको औसत अधितकतम तापक्रम १५.२ डिग्री सेल्सियस मात्रै हो ।
त्यसैगरी न्यूनतम तापक्रममा पनि बढेको पाइयो । चैत ३ र ५ गते न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहँदा पनि रेकर्ड बनाएको थियो । जबकि जोमसोमको मार्चको औसत न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मात्रै छ ।
धरानमा पनि यस पटक मार्च महिनामा निकै गर्मी भएको रेकर्ड छ । चैत ५ मा न्यूनतम तापक्रममा औसतभन्दा ७ डिग्री सेल्सियस थियो । चैत ५ मा भने बजारको तापक्रम २४.९ डिग्री सेल्सियस पुगेको थियो । धरानमा औसत न्यूनतम तापक्रम १७.९ डिग्री सेल्सियस छ । यसअघि सबैभन्दा बढी २०५५ चैत १७ मा २४.५ डिग्री सेल्सियस थियो ।
यस्तै यस वर्ष नवलपरासीको दुम्कौलीमा मार्च १८ अर्थात् चैत ४ गते सबैभन्दा बढी अधिकतम तापक्रम ३८.९ डिग्री सेल्सियस मापन गरियो । त्यस स्थानका लागि आफैंमा गर्मीको नयाँ कीर्तिमान हो । यसअघि सो स्थानमा १९८६ मार्च ३० (२०४२ चैत १७) मा ३८.६ डिग्री सेल्सियस थियो । दुम्कौलीमा अहिलेसम्मकै सबैभन्दा बढी न्यूनतम तापक्रम चैत १६ मा २४.५ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि २०४७ चैत १७ मा न्यूनतम तापक्रम २४.२ डिग्री सेल्सियसको रेकर्ड थियो ।
त्यसैगरी झापाको दमकमा अधिकतम तापक्रम चैत ३, ४ र ५ गते लगातार ३ दिन तापक्रम ३७ डिग्री सेल्सियस रहँदै मार्चको सबैभन्दा गर्मी
दिन बने ।
सिरहाको सिरहा, संखुवासभाको चैनपुर, खाँदबारी, सुनसरीको धरान, तरहरा, इलामको कन्याम चिया बगान, बाँकेको नेपालगन्ज विमानस्थल, दाङको घोराही, नवलपरासीको दुम्कौली, सेमारी, सिन्धुपाल्चोकको चौतारा, चितवनको रामपुर, ललितपुरको खुमलटार, भक्तपुरको चाँगुनारायण, दोलखाको चरिकोट, सिन्धुलीको सिन्धुलीमाडी, मुस्ताङको जोमसोम र तनहुँको दमौलीमा रहेका मौसम मापन केन्द्रमा मार्चमा अत्यधिक न्यूनतम तापक्रमको रेकर्ड देखियो ।
त्यसैगरी धनुषाको हर्दिनाथ, महोत्तरीको जलेश्वर, उदयपुरको उदयपुरगढी, सिरहाको सिरहा नगर, खोटाङको दिक्तेल, सुनसरीका धरान बजार, चतरा, तरहरा, संखुवासभाको खाँदबारी, झापाको दमक, इलामको कन्याम चिया बगान, बर्दियाको गुलरिया, अर्घाखाँचीको खाँचीकोट, बाजुराको मार्तडी, हुम्लाको सिमकोट, काभ्रेको धुलिखेल, पाँचखाल, सिन्धुपाल्चोकको बाह्रबिसे, भक्तपुरको भक्तपुर नगर, चाँगुनारायण, दोलखाको चरिकोट, मुस्ताङको जोमसोम, मनाङको हुम्दे र नवलपरासीको दुम्कौलीमा अत्यधिक अधिकतम तापक्रमतर्फ रेकर्ड बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
औसत अवस्थाभन्दा बढी तातोका कारण तापक्रममा द्रुत वृद्धिले मानिसको शरीरको तापक्रम नियन्त्रण गर्ने क्षमतामा असर गर्छ र यसले थकान र हाइपरथर्मियालगायत रोगहरू निम्त्याउन सक्छ । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी) ले हालै जारी गरेको प्रतिवेदनले दक्षिण एसियामा तातो हावाको लहर र आर्द्रतासम्बन्धी असर तीव्र हुने चेतावनी दिएको छ । यस्ता अत्यधिक मौसमी घटनाले जनस्वास्थ्यका साथै कृषि उत्पादनमा असर गर्छ र भविष्यमा सुक्खा क्षेत्रहरूमा थप खडेरी पर्न सक्ने सम्भावना रहन्छ ।

