(काठमाडौं) – किट नियन्त्रण गर्ने दक्ष जनशक्ति करिब एक वर्षदेखि जिम्मेवारीविहीन हुँदा अहिले महामारीका रूपमा फैलिएको डेंगु नियन्त्रण प्रयास प्रभावित भएको हो । संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका क्रममा दरबन्दी कटौती गर्दा स्वास्थ्य मन्त्रालयका महत्त्वपूर्ण दरबन्दीसमेत कटौतीमा परेकाले यस्तो स्थिति आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जनाए । उनका अनुसार ‘मलेरिया इन्सपेक्टर’लाई ‘फाजिल (दरबन्दी नभएका फाल्तु कर्मचारी) मा राखिएको छ भने भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दीमा कटौती गरिएको छ । ‘सामान्य प्रशासनले दरबन्दी कटौती गरिदिँदा स्वास्थ्य मन्त्रालयको काममा ठूलो असर परेको छ,’ श्रेष्ठले भने, ‘जबकि भेक्टर कन्ट्रोल अफिसर अझ धेरै चाहिन्छन् ।’ ‘हाम्रा साथीहरूले करिब एक वर्षदेखि किट नियन्त्रणसम्बन्धी काम गर्न पाएका छैनन्,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का भेक्टर कन्ट्रोल इन्स्पेक्टर उत्तमराज प्याकुरेलले भने, ‘अहिले हाल जिल्लामा बस्ने र तलब खाने मात्र अवस्था छ ।’
मुलुकमा हाल भेक्टर कन्ट्रोल निरीक्षक ३५ जना र मलेरिया इन्स्पेक्टर ३५ जना गरी किट नियन्त्रण गर्ने योग्य जनशक्ति ७० जना छन् । यही जनशक्ति पनि ४० जिल्लामा मात्र सीमित छ । ‘यी जनशक्ति फाजिलमा जिल्लामा छन्, जबकि त्यहाँ काम गर्न बजेटै छैन,’ प्याकुरेलले भने, ‘बजेट गाउँपालिका र केन्द्रमा मात्र छ ।’ केन्द्रका महामारी हेर्ने दुई विशेषज्ञ र तत्कालीन ५ विकास क्षेत्रमा एक/एक गरी ५ विशेषज्ञको दरबन्दी रहेकामा अहिलेको नयाँ संरचनामा ती सबबै दरबन्दी काटिएको छ । ‘अहिले भएको किट नियन्त्रण गर्ने दक्ष जनशक्तिको संख्या तेब्बर गर्ने हो भने पनि महामारी नियन्त्रण गर्नमा त्यो कमै हुन्छ,’ प्याकुरेलले भने । प्याकुरेलका अनुसार यो वर्ष डेंगु संक्रमण कात्तिकसम्मै रहने सम्भावना छ । साउनयता मकवानपुरमा २८७, सुनसरीमा २४१, कास्कीमा १९२, चितवनमा १४०, झापामा १२४, मोरङमा ४५ र काठमाडौंमा १९ जनामा डेंगु भेटिएको छ । यस वर्ष वैशाखदेखि असारसम्मका ३ महिनामा सुनसरीमा मात्र ३ हजार २५ बिरामीमा डेंगु संक्रमण देखिएको थियो ।
साउनयता राजधानीमा ५९ जना बिरामीमा डेंगु भेटिएकोमा २५ जनालाई स्थानीय लामुखुट्टेले टोकेर सारेको प्याकुरेलले जनाए । ‘अन्य बाहिरबाट उपचार गर्न आएकाहरू हुन्,’ उनले भने । यो तथ्यांक प्रयोगशाला प्रमाणित हो । त्यसैले डेंगुका बिरामी यसभन्दा पनि बढी हुन सक्ने चिकित्सक बताउँछन् । स्वास्थ्यकर्मीसमेत डेंगु संक्रमणमा परेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई जना हेल्थ असिस्टेन्ट र एक जना बहिरंग विभागमा कार्यरत कर्मचारीमा डेंगु संक्रमण देखिएको अस्पतालका डा. शेरबहादुर पुनले जनाए । ‘यस पटक राजधानीका सबैजसो ठाउँमा डेंगु फैलाउने लामखुट्टे सक्रिय रहेको अनुमान छ,’ उनले भने ।
डेन–१, डेन–२, डेन–३ र डेन–४ गरी डेंगुका चार प्रकार हुन्छन् । यीमध्ये ‘डेन–२’ लाई सबैभन्दा कडा मानिने टेकु अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।
पछिल्लो समय बिरामीमा बढी मात्रामा डेन–२ देखिन थालेको उनले जनाए । ‘अव्यवस्थित बसोबास, कलकारखाना, खाल्डाखुल्डी, जथाभावी फ्याँकिएका टायर आदि कारणले डेंगु नियन्त्रण चुनौतीपूर्ण बनेको उनको भनाइ छ । यस वर्ष डेंगुबाट २ जनाको मृत्यु भएको छ । अर्को एक जनाको डेंगुबाटै मृत्यु भएको हो वा होइन भन्ने यकिन हुन बाँकी छ । यो रोग मानिसबाट मानिसमै सर्दैन । तर डेंगुका रोगीलाई टोकेपछि लामखुट्टे पनि संक्रमित हुन्छ । त्यसले पुनः स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्छ । त्यसैले संक्रमितले सुत्दा झुल प्रयोग गर्नुपर्ने डा. पुनले बताए ।
डेंगु नियन्त्रण विफल
विराटनगर) – धरानमा तीन महिना बितिसक्दा पनि डेंगु नियन्त्रण हुनुको सट्टा फैलने क्रम जारी छ । उदयपुर, पाँचथर र मोरङलगायत जिल्लामा पनि डेंगुबाट संक्रमित बिरामीको संख्या बढिरहेको छ । धरानमै मात्र यस्ता संक्रमितको संख्या ५ हजार नाघेको अनुमान छ । प्रदेश १ क्षेत्राधिकार रहेको धनकुटास्थित स्वास्थ्य निर्देशनालयमा ५ स्वास्थ्य अधिकृत र ७ उपसचिव तहका जनशक्तिको दरबन्दी रहेकामा उपसचिव तहका एक जना मात्र कार्यरत छन् । निर्देशनालय प्रमुख अर्थात् निर्देशक चन्द्रदेव मेहताको भरमा कार्यालय चलिरहेको छ । उनी पनि तालिम, गोष्ठी र प्रशासकीय काममै व्यस्त रहन्छन् ।
‘कर्मचारी समायोजनका क्रममा भएको त्रुटिले गर्दा निर्देशनालयले जनशक्ति पाउन सकेको छैन,’ महतोले भने, ‘जनशक्ति थप्न प्रदेश एवं संघीय सरकारलाई भनिए पनि सुनुवाइ भएको छैन ।’ एडिस एजिप्टाई र एडिस एल्बो पिक्टस जातको पोथी लामखुट्टेले सफा पानीमा पारेको अन्डा, लार्भा र प्युपा नष्ट गर्न ‘खोज र नष्ट गर’ (सर्च एन्ड डिस्ट्रोय) अभियान चलाइए पनि त्यो प्रभावकारी हुन सकेन । डेंगुको खोप वा औषधि नभएकाले नियन्त्रणका लागि लामखुट्टे मार्नु र त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प नभएको विज्ञहरूको भनाइ छ । धरानमा वैशाख २९ मा पहिलो पटक डेंगु संक्रमण देखिएको थियो । शुक्रबारसम्म ३ हजार ४ सय जना संक्रमित भएको धरान उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले जनाए । यो तथ्यांक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा उपचार गर्न पुगेकाहरूको मात्र हो । विभिन्न क्लिनिकमा उपचार गराउनेको पनि संख्या जोड्ने हो भने धरानमा मात्रै संक्रमितको संख्या ५ हजार नाघ्छ । ‘जेठ–असारतिर सबैभन्दा बढी एक दिनमै ५० देखि सय जनासम्म अस्पताल भर्ना भएका थिए,’ यादवले भने, ‘साउनयता दैनिक २५/३० नयाँ बिरामी देखिएका छन् ।’ एउटै परिवारमा ७ जनासम्म संक्रमित भेटिएका छन् ।
धरानलाई डेंगु संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेर र्यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको थियो । डेंगु महामारीविरुद्ध मुलुकमै पहिलो पटक यस्तो टिम गठन गरिएको हो । टिममा बीपी प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका विशेषज्ञ चिकित्सक र ल्याब टेक्निसियन समावेश गरिएको थियो । उक्त टिमले सर्च एन्ड डेस्ट्रोय अभियान तीव्र बनाउन घरदैलो गरेको थियो । डेंगु नियन्त्रणमा धरान उपमहानगरले ३० लाख रुपैयाँ खर्चिइसकेको छ । डेंगुबारे धरानका स्थानीय समुदाय व्यक्तिगत रूपमा सचेत रहेको पाइए पनि उनीहरूले जानेको ज्ञान भने व्यावहारिक रूपमा लागू नगर्दा नियन्त्रण हुन नसकेको एक सर्वेक्षणले देखाएको थियो । ‘डेंगुबारे थाहा हुँदाहँॅदै पनि नियन्त्रण गर्न सक्रियता नदेखाएको पाइयो,’ सर्वेक्षक केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धीरेन लिम्बूले भने, ‘अरू आएर सर्च एन्ड डेस्ट्रोय गरिदिऊन् भन्ने मात्रै बढी देखिए ।’ बीपी प्रतिष्ठानका माइक्रोबायोलोजी विभागले सन् २०१६ मा डेंगु संक्रमण गराउने एडिस एजिप्टाई र एडिस एल्बो पिस्टस जातको पोथी लामखुट्टेमाथि झापाको काँकडभिट्टा, दमक, धरान र विराटनगरमा अनुसन्धान गरेको थियो । त्यसबेला चार प्रकारका डेंगु भाइरसमध्ये सेरोटाइप–२ डेंगु भेटिएको र तीन वर्षपछि धरानमा फैलिएको डेंगुको भाइरस पनि सेरोटाइप–२ नै भएको प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका डा. नारायण भट्टराईले बताए । ‘सेरोटाइप–२ त्यस्तो खतरनाक होइन । तर अर्को पटकको प्रकोपमा पहिले नै डेंगु भएकालाई सेरोटाइप–३ को भाइरस संक्रमण भए अवस्था जटिल आउन सक्छ,’ उनले भने, ‘नेपालमा एकै ठाउँमा छोटो अवधिभित्र यति धेरै संख्यामा संक्रमण भएको यो पहिलो घटना हो ।’
धरानमा प्रि–मनसुनताका नै डेंगु देखिएको र त्यसलाई नियन्त्रण गर्न नपाउँदै मनसुन सुरु भएकाले अवस्था जटिल बनेको डा. भट्टराईले बताए । उनका अनुसार अब कम्तीमा पोस्ट मनसुन अर्थात् कात्तिक–मंसिरसम्म यसको प्रकोप जारी रहन्छ । ‘हिउँदयाममा लामखुट्टे निष्क्रिय रहन्छन्,’ उनले भने, ‘यसबीचमा पूर्ण रूपमा त्यसका अन्डा, लार्भा र प्युपा नष्ट गर्न नसके फेरि प्रि–मनसुन सुरु भएपछि डेंगु देखिनेछ,’ उनले भने । उदयपुरको कटारी नगरपालिका क्षेत्रमा डेंगुका कारण २९ जना बिरामी परेका छन् । डेंगुबाट कटारी बजारको कटारी मोडेल पोलिक्लिनिकका डा. गणेशलाल दाससमेत संक्रमित भएका छन् । उनको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । डाक्टर नै संक्रमणमा परेपछि त्रास बढेको स्थानीय हीरालाल अधिकारीले बताए । उदयपुरको भित्री मधेस क्षेत्रमा पर्ने बेलका, चौदन्डीगढी, त्रियुगा र कटारी नगरपालिकामा ४० भन्दा बढी सर्वसाधारण डेंगुका बिरामी भेटिएका छन् । साउन २६ मा नीलम खडका र चित्रबहादुर दाहाल दुई जनालाई डेंगु देखिएको र त्यसयता अन्यमा संक्रमण फैलिएको कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले बताए । ‘सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरेका छौं,’ कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने । नगरपालिकाले डेंगु नियन्त्रणका लागि जनचेतनामूलक रेडियो कार्यक्रम, फगी स्प्रे, निःशुल्क औषधि वितरणलगायत कार्यक्रमलाई तीव्रता दिएको छ । पछिल्लो समय कटारी नगरपालिकाको बजार क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलले बताए ।
पहाडी जिल्ला पाँचथरमा पनि ३३ जनामा डेंगु संक्रमण भेटिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले बताए । स्वास्थ्य कार्यालयले डेंगु संक्रमितको तथ्यांक संकलन गरिरहेको जनाएको छ । संक्रमण देखिएकामध्ये धेरैको जिल्लामै उपचार भएको छ । जिल्ला अस्पतालमा परीक्षण गर्ने किट्स नहुँदा स्थानीय समर्पित अस्पतालमा परीक्षण भएको थियो । अहिले ३० थान किट्स ल्याइएको र थप झिकाउने प्रयास भइरहेको अस्पतालले जनाएको छ ।

