सिन्धुलीमाढी ,– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ हरिहरपुरगढीकी साइलीमाया तामाङको केही समयअघि सुत्केरी भएकै दिन मृत्यु भयो । हरिहरपुरगढी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर नभएका कारण घरमै सुत्केरी हुँदा उनको मृत्यु भएको हो । हरिहरपुरगढीमा ५ वर्ष अवधिमा घरमै सुत्केरी हुँदा ५ जनाले ज्यान गुमाइसकेको स्वास्थ्यचौकीका इन्चार्ज खमराज बिकले बताए । ‘म यहाँ आएको २ वर्ष भयो । यो अवधिमा घरमै सुत्केरी हुँदा साइलीमाया तामाङले ज्यान गुमाइन्,’ उनले भने, ‘३ वर्षअघि ४ जनाले ज्यान गुमाएका थिए ।’
बर्थ सेन्टर नहुँदा धेरै महिला घरमै सुत्केरी हुने गर्छन् । ‘सिन्धुली अस्पताल ल्याउन झन्डै ९ घण्टा लाग्छ । त्यही पनि हिउँदमा मात्र गाडी चल्छ, जसले गर्दा सुत्केरी हुँदा हरिहरपुरगढीका महिलालाई सिन्धुली अस्पताल ल्याउनै सकिँदैन,’ चौकीका इन्चार्ज विकले भने । आर्थिक अवस्था सबल भएका एक/दुई परिवारले सुत्केरी गराउन स्वास्थ्य संस्थामा लैजाँदा पनि काभ्रे जिल्लाको तालढुंगा र मकवानपुरको हेटौंडा जानुपर्छ । यस क्षेत्रका करिब ५ प्रतिशत महिला मात्र सुरक्षित ढंगले सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने गरेको उनको भनाइ छ । चौकी इन्चार्ज विकले भने, ‘९५ प्रतिशत महिला भने घरमै सुत्केरी हुने गरेका छन् ।’ स्वास्थ्यचौकीले सामान्य स्वास्थ्य सुविधा दिए पनि बर्थिङ सेन्टर नहुँदा अधिकांश स्थानीय महिला घरमै असुरक्षित ढंगले सुत्केरी हुन बाध्य छन् ।साभार कान्तिपुर : २०७६ साउन २७

