काठमाडौं । हिमाली क्षेत्रमा परम्परागत औषधि उपचार आम्ची पद्धति र पेसालाई मान्यता दिनुपर्ने संलग्न विज्ञले जोड दिएका छन् । त्यसले आदिवासीहरूको परम्परागत ज्ञान र जैविक विविधताको संरक्षणमा सहयोग पुग्नेसमेत जनाएका छन् । आम्ची उपचार विधि पारिवारिक रूपमा हस्तान्तरण हुँदै आएको परम्परागत ज्ञान हो ।
आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्रले आयोजना गरेको ‘परम्परागत आम्ची अभ्यास र आदिवासीको प्रथाजनित व्यवस्था’ विषयक अन्तरक्रियामा उक्त जानकारी गराएका हुन् ।उत्तरी गोरखा र उपल्लो मुस्ताङको परम्परागत आम्ची उपचार पद्धतिबारे अनुसन्धान गरेका नरेन्द्र लामाले यस उपचार विधिलाई सरकारले मान्यता दिनुपर्ने बताए । ‘आम्ची पद्धतिलाई मान्यता दिएमा आदिवासीहरूको परम्परागत ज्ञानको संरक्षण गर्नेमात्र नभई त्यस क्षेत्रको जैविक विविधताको संरक्षणमा पनि योगदान पुग्नेछ,’ उनले भने, ‘आम्ची उपचार विधि हिमाली क्षेत्रको आदिवासीको परम्परागत ज्ञान हो, यसले त्यस भेगका मानिसहरूलाई सरल र सहज ढंगले सेवा दिइरहेको छ ।’ सरकारले बेवास्ता गरेकाले जडिबुटीहरूको अभाव, संलग्नहरूको जीविकामा संकट र उपचार विधि लोप हुने अवस्थामा पुगेको जनाए ।
हिमालयन आम्ची एसोसिएसनका अध्यक्ष ग्याल्चो विष्टले सदियौंदेखि नेपालका हिमाली क्षेत्रमा आम्चीले सेवा दिँदै आएको बताए । अहिले उपल्लो डोल्पा, उपल्लो मुगु, उपल्लो मुस्ताङ र उत्तरी गोरखा गरी जम्मा चार जिल्लामा मात्र यो उपचार विधि प्रयोगमा रहेको उनले जनाए ।
हिमाली समुदायका निम्ति आम्ची उपचार विधि सरल र सुलभ रूपमा हुँदै आएको छ । त्यसमा सांस्कृतिक तथा आध्यात्मिक विश्वाससमेत जोडिएको पाइन्छ । विभिन्न रोगहरूको उपचार प्रभावकारी रूपमा हुँदैआएको जनाइएको छ । उक्त विषयमा अनुसन्धानात्मक पुस्तकसमेत सार्वजनिक गरिएको छ । नरेन्द्र लामा, पासाङ शेर्पा र पासाङ डोल्मा शेर्पाको संयुक्त अनुसन्धानमा पुस्तक प्रकाशन गरिएको हो । त्यसमा उत्तरी गोरखाको चुम नुब्री गाउँपालिकामा रहेका आम्चीहरूले प्रयोग गर्ने ५४ थरी जडिबुटीको स्थानीय नाम, वैज्ञानिक नाम तथा उपचार विधिको संकलन गरिएको छ ।

