काठमाडौँ , नेपालले कोभ्याक्समार्फत ४० लाख खोप प्राप्त गर्ने निश्चित भएको छ । विश्व बैंकले फागुनदेखि ४० लाख मोर्डना खोप आउनसक्ने जनाएको छ । सरकारले १२ देखि १७ उमेरका बालबालिका तथा किशोरकिशोरी लक्षित गरी मोर्डना खोप ल्याउन लागेको हो ।
विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याक्ससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोप सम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग सम्झौता पूरा गरेको छ । यसरी सम्झौता गरेर खरिद गर्नेमा नेपाल विश्वकै दोस्रो देश र दक्षिण एसियाकै पहिलो देश बनेको छ ।
विश्व बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘२०२२ को मार्चदेखि खोप आउनेछ । यसले नेपालका ७२ प्रतिशत जनसंख्या साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप दिने लक्ष्यमा सहयोग गर्नेछ ।’
माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फेरिस ह्याडेड जिर्भसले नेपाल सरकार तथा जनतालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएका छन् ।
विश्व बैंकले नेपाल सरकारलाई महामारीविरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि १० करोड ४० लाख डलर उपलब्ध गराइसकेको छ । जसमा कोभिड–१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि छ करोड ७५ लाख डलर विनियोजन गरिएको छ ।

