काठमाडौँ , चिकित्सा शिक्षा आयोगले पहिलो पटक सञ्चालन गरेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा अधिकांश विषयमा माग संख्याभन्दा थोरै विद्यार्थी उत्तीर्ण भएका छन् । एमबीबीएस, बीडीएस र बीएनएसमा कोटाभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएकामा बीएस्सी नर्सिङ, बी–फार्मेसी, बीपीएचलगायत विषयमा कोटाअनुरूप विद्यार्थी नै नपुग्ने भएका छन् ।
चिकित्सा शिक्षा विषयमा लिइएको प्रवेश परीक्षाको यो नतिजाले पढाइको गुणस्तरमा नै प्रश्न उठाएको विज्ञहरू बताउँछन् । शिक्षण संस्था सञ्चालकहरू भने कोटाअनुसार विद्यार्थी उत्तीर्ण नहुँदा शिक्षण संस्था नै धराशायी हुने अवस्था आएको बताउँछन् । सरकारी शिक्षण संस्थामा चिकित्सा शिक्षाको स्नातक तहको पढाइमा ७५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था छ । पर्याप्त विद्यार्थी उत्तीर्ण नहुँदा सरकारले छुट्याएको छात्रवृत्ति कोटासमेत खेर जाने देखिएको छ । स्वदेशी लगानीको निजी शिक्षण संस्थाले १० प्रतिशत र विदेशी लगानीकाले २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्छ ।
आयोगले बीएस्सी नर्सिङका लागि शिक्षण संस्थामा यो वर्ष १ हजार २ सय ४० विद्यार्थीको कोटा तोकेको छ । प्रवेश परीक्षामा ३ हजार ४ सय ७८ जना सहभागी भएकामा ५ सय ४ जना मात्रै उत्तीर्ण भए । बी–फार्मेसीमा ९ सय २ जनाको कोटा तोकिएकामा ५ सय ४७ जनाले मात्रै पढ्न पाउने भएका छन् । बी–फार्मेसीको प्रवेश परीक्षामा भने ३ हजार १ सय ३८ जना सहभागी थिए । बीपीएचमा १ हजार ४ सय २० जनाको कोटा निर्धारण गरिएकामा ५ सय ६५ जना मात्रै उत्तीर्ण भए । प्रवेश परीक्षा भने २ हजार ६ सय २३ जनाले लेखेका थिए । यस्तै ७१ जनाको कोटा रहेको बीएस्सी एमआईटीमा ४५, ४ सय २५ वटा कोटा रहेको बीएस्सी एमएलटीमा १ सय १८ र १ सय ५० वटा कोटाको बीपीटीमा १ सय १४ जना मात्रै उत्तीर्ण भएका छन् । बीएएसएलपीमा भने कोटा संख्या बराबर नै ६ जना उत्तीर्ण भएका छन् ।
एमबीबीएसमा भने प्रवेश परीक्षा उत्तीर्ण गरेकामध्ये आधाभन्दा बढीले नेपालमा पढ्न नपाउने भएका छन् । १ हजार ८ सय ३५ वटा कोटा रहेको एमबीबीएसमा ४ हजार ३ सय ९१ जनाले प्रवेश परीक्षा पास गरेका छन् । ११ हजार ४२ परीक्षार्थी प्रवेश परीक्षामा सहभागी थिए । एकीकृत प्रवेश परीक्षा पास गरेपछि सम्बन्धित विषयमा विदेश पढ्न जाने बाटो भने खुल्छ । बीडीएसका लागि परीक्षा दिएका ४ हजार ५ सय २१ जनामध्ये १ हजार ७ सय ९४ जना मात्रै उत्तीर्ण भए । उत्तीर्णमध्ये ५ सय ६५ जनाले यहीं पढ्न पाउँछन् । बीएनएसमा १ हजार ३ सय १५ जना कोटा रहेकामा १ हजार ३ सय ८० जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । एकीकृत परीक्षामा २ सय पूर्णाङ्कमा १ सय नम्बर ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।
शिक्षाविद् केदारभक्त माथेमाले प्रवेश परीक्षाको नतिजाले विद्यालय तहको पढाइ र परीक्षा प्रणालीमाथि शंका उब्जाएको बताए । ‘चाहिने जति विद्यार्थी पास नहुनुबाट पढाइको अवस्था ठीक छैन, समस्या छ भन्ने बुझ्नुपर्छ,’ उनले भने । पढाइ र परीक्षाका बारेमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्नेमा उनले जोड दिए । ‘प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाइमा ध्यान दिनुपर्ने देखियो, चिकित्सा शिक्षा आयोगले पनि यसमा ध्यान दिनुपर्छ,’ विगतमा चिकित्सा शिक्षा सुधार सुझाव कार्यदलका संयोजकसमेत रहेका माथेमाले थपे, ‘सरकारले प्रवेश परीक्षा तयारीको नीति बनाउनुपर्छ । विद्यार्थीलाई पास हुने गरी पढाउनुपर्छ ।’ चिकित्सा शिक्षामा गुणस्तर कायम गर्न नै एकीकृत प्रवेश परीक्षाको व्यवस्था गरिएको उनले जनाए । ‘चिकित्सा शिक्षा सिधै जनस्वास्थ्यसँग जोडिने विषय हो,’ उनले भने, ‘कोटा पुगेन भनेर जबर्जस्ती विद्यार्थी भर्ना गर्नु हुँदैन । अर्कोपल्टका लागि यो समस्या समाधान गर्न अहिलेदेखि नै प्रयत्न गर्नुपर्छ ।’आयोगले यस वर्ष चिकित्साशास्त्रको स्नातक तह पठनपाठनका लागि ८१ वटा शिक्षण संस्थामा कोटा तोकेको छ । बीएस्सी नर्सिङमा २ र बी–फार्मेसीमा १ गरी ३ जना विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिएकामा एक जना पनि उत्तीर्ण हुन सकेनन् । एमबीबीएसमा ३ सय ७९ जना विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । ती मध्ये ९४ जना मात्रै उत्तीर्ण गरेका छन् । आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मापदण्डअनुसार नै परीक्षा गर्दा यस्तो नतिजा आएको प्रस्ट्याए । ‘यसपालिलाई जति सिट संख्या तोकिएको हो, त्यतिमै पढाइ हुन्छ,’ उनले भने । उनले अर्को शैक्षिक सत्रका लागि कक्षा १२ को नतिजा आएपछि मात्रै प्रवेश परीक्षा हुने बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले विद्यार्थीको विषयप्रति आकर्षण, सिट संख्या र उत्तीर्ण प्रतिशतमा तालमेल नमिलेको बताए । ‘आयोगले नै तोकेको यति धेरै सिट खाली हुनु राष्ट्रका लागि नै गम्भीर प्रश्न हो, हामीले कहाँ गल्ती गर्यौं ? यति धेरै सिट खाली देशले थेग्न सक्छ कि सक्दैन ? यो नतिजामाथि समीक्षा र छलफल हुनु जरुरी छ,’ उनले भने । यसअघिको पढाइको गुणस्तर वा चिकित्सा शिक्षाको परीक्षाको मापदण्डका कारण यो अवस्था आएको हुन सक्ने उनले बताए । ‘कि हामीले विद्यालयमा झुर पढायौं, कि आयोगको परीक्षा कडा भयो, विद्यार्थी पास हुनै सकेनन्,’ डा. कोइरालाले भने । नतिजाको समीक्षामार्फत त्रुटि पत्ता लगाएर अब के गर्ने भन्ने दिशामा सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
निजी मेडिकल कलेज एसोसिएसनले भने पुनः परीक्षाको माग गरेको छ । ‘विषय मिलेसम्म धेरै विद्यार्थी पास भएका एमबीबीएस, बीडीएसको प्रवेश परीक्षा पास गरेकालाई नर्सिङ, फार्मेसीलगायत कोटा नपुगेका विषय पढ्न दिने व्यवस्था विकल्प हुन सक्छ,’ एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले भने । प्रवेश परीक्षाको नतिजाले पढाइको गुणस्तर खस्किनुका साथै जनशक्ति उत्पादनमा पनि ह्रास आउने उनले दाबी गरे । ‘विद्यार्थी पढ्न इच्छुक छन् । कोटा पनि छ तर पढ्न पाउने अवस्था भएन,’ अन्सारीले थपे, ‘यसको असर विद्यार्थी, अभिभावक, सरकार, शिक्षण संस्था सबैलाई पर्छ ।’ न्यूनतम् विद्यार्थी संख्या पनि नहुँदा कलेजहरूको लगानी डुब्ने चिन्ता पनि उनले व्यक्त गरे ।
प्रकाशित : श्रावण २७, २०७८

