काठमाडौँ — फुटपाथका पसल र सामान किन्नेको भीडले बाटो छिचोल्न हम्मेहम्मे पर्छ । गाडी चढ्न लाइन लाग्नेको भीड उस्तै । हरेक साँझ सुन्धारा काठमाडौं मलदेखि न्युरोड गेटको आसपास, रत्नपार्क, जमललगायत उपत्यकाका मुख्य सडकमा देखिने दृश्य हो यो ।
काठमाडौं मलअगाडि माइक्रोबस पर्खिरहेकी बूढानीलकण्ठ बस्ने सावित्री बस्नेतले भीडतिर संकेत गर्दै भनिन्, ‘काम परेपछि सबै जना निस्कनैपर्यो । तर यस्तो भीडभाडमा अलिकति जोगिएर चाहिँ हिँड्नुपर्ने हो ।’
भीडभाडका अधिकांशले सुरक्षा मापदण्ड पालना गरेको देखिँदैन । अधिकांशले मास्क प्रयोग गरे पनि कमैले नाकमुख मात्र छोपिने गरी र कसैले चिउडोमुनि लगाएका थिए । सुन्धारास्थित फुटपाथमा कपडा बेचिरहेका होमबहादुर थापाले कोरोना नै भनेर सधैं डराएर बस्न सबैलाई सम्भव नहुने बताए । चिउँडोमुनि मास्क सारेर बसेका उनले भने, ‘गर्मीमा माक्स लगाउन गाह्रो छ । पसिना आएर एकछिन तल सारेको हो । सधैं कोरोना भनेर डराएर बसियो भने कोठामा खाना पाक्दैन ।’
पछिल्लो समय परीक्षण गरिएकामा संक्रमण बढ्दै जाँदा उपत्यकाका अस्पताल संक्रमित बिरामीले भरिन थालेको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्डविपरीत भीडभाड, धर्ना, जुलुस नगर्न मंगलबार सूचनासमेत जारी गरेको छ । तर त्यसको पालना भने फितलो देखिन्छ । ‘कोरोना व्यापारीलाई मात्र लाग्ने हो र ? जुलुस र आन्दोलन गर्ने नेताहरूलाई हुँदैन रहेछ त,’ न्युरोड महाबौद्धस्थित व्यापारी उत्तम महर्जनले आक्रोश पोख्दै भने । बढ्दो संक्रमणलाई रोक्न व्यापारी मात्र नभएर सबै जना सतर्क हुनुपर्ने उनको भनाइ छ ।
मानिस फेरि सामान्य अवस्थामा नै फर्केकाले संक्रमणको उच्च जोखिम रहेको शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोला बताउँछन् । ‘निषेधाज्ञापछिको अवस्थाभन्दा अहिले बिरामीहरूको चाप बढेको छ,’ उनले भने ।
सरकार तथा नागरिकको तहबाट रोकथाममा ध्यान नदिनु संक्रमण फैलनुमा मुख्य कारण रहेको जनस्वास्थ्यविद् तथा इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा.बाबुराम मरासिनीले बताए । अस्पतालहरू भरिभराउ हुँदै जाने क्रम बढेकाले यसलाई तेस्रो लहरको संकेतका रूपमा उनले लिएका छन् ।

