काठमाडौँ , नेपालमा रेस्टुरेन्ट व्यवसायका अग्रणी श्यामसुन्दर लाल कक्षपतिको निधन भएको छ । सत्तरीको दशकमा काठमाडौंको रत्नपार्कमा ‘क्याफे द पार्क’बाट व्यवसायमा अघि बढेका ७० वर्षीय कक्षपति पछिल्लो समय दायाँ बंगाराको क्यान्सरबाट पीडित थिए ।
चार महिनादेखि थाइल्यान्डमा उपचार गराइरहेका कक्षपतिको उपचारकै क्रममा सोमबार निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । दरबारमार्गमा चार दशक नाङ्लो रेस्टुरेन्ट चलाएका कक्षपति होटल संघ नेपालका पूर्वअध्यक्षसमेत हुन् । पछिल्लो पटक दाजु गोपालसुन्दर लाल कक्षपतिसँग अंशबन्डा भएपछि श्यामले दरबारमार्गस्थित नाङ्लोको स्थानमा श्याम्स वान ट्री क्याफे सञ्चालनमा ल्याएका थिए ।
कक्षपतिको निधनले नेपालको पर्यटन क्षेत्रले एक अग्रणी व्यवसायी गुमाएको होटल एसोसिएसन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । कक्षपतिका एक छोरा, छोरी र श्रीमती छन् ।

