मोरङ ,सांसदहरुले कोरोना संक्रमित बिरामीको उपचार गर्ने स्वास्थ्य संस्था तथा अस्पतालहरुले चर्को शुल्क उठाएको र उपचारमा बेवास्ता गर्दै आएको भन्दै अनुगमन टोली गठन गर्न माग गरेका छन् ।
प्रदेशसभाको आइतबारको बैठकमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन् ।
विपक्षी दल जनता समाजवादी पार्टीका प्रदेश सांसद राधा थापाले कोरोना संक्रमण पछिल्लो समय बढ्दै गएकाले अस्पतालका शय्याहरुसमेत भरिँदै गएको बताइन् । ‘संक्रमितको उपचारमा लापरबाही हुनुका साथै चर्को शुल्क असुली भइरहेकोले अनुगमन टोली गठन गरेर नियमन गरौं,’ उनले भनिन्, ‘सरकारी अस्पतालहरुमा उपचारका लागि भर्ना हुने संक्रमितलाई सिटामोल बाहेक कुनै औषधि दिइने गरेको छैन, अनुगमन गरौं ।’
सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशमा कोरोना संक्रमण बढिरहेकोले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गरिन् ।
‘सरकारले कोरोना संक्रमितको उपचारका लागि सक्दो प्रयत्न गर्दै आएको छ,’ राईले भनिन्, ‘अहिले प्रदेशका प्रत्येक जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर, एचडियूलगायतका परीक्षणको सुविधाका साथै त्यही अनुसारका जनशक्तिको व्यवस्थापन भइरहेको छ ।’ प्रत्येक जिल्ला अस्पतालहरुमा २/२ जना विशेषज्ञ र मेडिकल अधिकृत पठाउने व्यवस्था गर्न लागेको उनले बताइन् । ‘चिकित्सकहरुलाई जिल्ला अस्पतालहरुमा टिकाइ राख्नका लागि तलब भत्तामा पनि व्यापक वृद्धि गरेका छौं,’ मन्त्री राईले भनिन्, ‘हिमाली जिल्लामा ३ सय प्रतिशत, पहाडमा २ सय ५० र तराईमा २ सय प्रतिशत तलब भत्ता वृद्धि गरेका छौं ।’
नर्स र पारामेडिक्सलाई प्रत्येक जिल्लामा ६ जनाका दरले भर्ना गर्न ४० लाखको दरले बजेट पठाइसकेको उनले सुनाइन् । प्रत्येक जिल्ला अस्पतालमा ख वर्गको एम्बुलेन्स, शव बाहन पठाउने व्यवस्था गरेको उनले बताइन् । एम्बुलेन्सको म्यापिङ गरेर प्रत्येक एम्बुलेन्समा जीपीएस प्रणाली जडान गरेर मन्त्रालयमा कल सेन्टर राखिने र कल सेन्टरको नम्बर प्रदेशभरिका प्रत्येक घरधुरीमा टाँस्ने व्यवस्था गर्न लागेको मन्त्री राईले बताइन् ।

