बागलुङ ,बागलुङमा कोरोनाका संक्रमित फेरि बढेका छन् । शुक्रबार दिउँसोसम्म बागलुङमा ५ सय १४ सक्रिय संक्रमित पुगेका छन् ।तीमध्ये बागलुङ नगरपालिकामा मात्रै २ सय ६ जना, बरेङ गाउँपालिकामा ९८ जना र जैमिनी नगरपालिकामा ४७ जना पुगेका छन् । ‘अधिकांश पालिकामा लक्षणसहितका बिरामी देखिएपछि पीसीआर परीक्षण बढाइएको छ,’ स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले भने, ‘ग्रामीण तहमा सक्रिय संक्रमितहरुको आनीबानी र सुरक्षित बस्न नसक्दा दैनिक संख्या बढेको छ ।’ होमआइसोलेसनमा बस्ने प्रावधान भएपनि सुरक्षित बनाउन नसकिएको उनले बताए ।
शुक्रबार मात्रै ८४ जना सक्रिय संक्रमित थपिएका छन् । तीमध्ये सबैभन्दा धेरै बरेङ गाउँपालिकामा मात्रै ४१ जना थपिएका हुन् । बडिगाड गाउँपालिकामा पनि ३० जना थपिएका छन् । यहाँको बागलुङ नगरपालिका–१४ को नारायणस्थानमा मात्रै ८० जनाभन्दा धेरै सक्रिय संक्रमित रहेको वडाअध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘घरघरमा संक्रमित छन्, तर गाउँमा खेतीपाती पनि नगरी सुख छैन,’ उनले भने ।
संक्रमित बढेपछि खत्रीले जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीलाई पत्र लेखेर कडा निषेधाज्ञा गर्न आग्रह गरेका छन् । प्रशासनले भने जिल्लामा आंशिक निशेधाज्ञा मात्रै समय थप गरेको छ । अहिले बिहान किराना, तरकारी, दूध जस्ता व्यवसाय खोल्न पाइन्छ । दिउँसोमा फेन्सी, हार्डवयर र अन्य व्यवसाय सञ्चालन गर्न दिइएको छ । सार्वजनिक यातायात भने निर्वाध रुपमा चलेकोल संक्रमित बढ्न सहयोग पुगेको घिमिरेले जानकारी दिए । साभार : कान्तिपुर ,

