पर्वत , दोस्रो लहरको कोरोना संक्रमण बढेपछि वैशाख १८ मा प्रशासनले निशेधाज्ञा जारी गर्यो । कडाइसाथ लागू गरिएको निषेधाज्ञामा कोही घरबाहिर निस्किन पाएनन् । उक्त अवस्था करिव २ महिना रह्यो । त्यसबीचमा करिव ५० जना पर्वतवासीको कोरोनाकै कारण मृत्यु भयो ।
असार दोस्रो सातादेखि प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लग्यो । निशेधाज्ञामा कडाई हुंदा घरभित्रै पनि मास्क लगाउनेहरू हिजोआज भने नलगाई हिंडडुल गरिरहेका छन् । यतिसम्म कि सार्वजनिक कार्यक्रममा समेत बिनामास्क र सामाजिक दूरीमै जिम्मेवार तथा सरकारी निकायकै अधिकारी निर्धक्क सहभागी भइरहेका छन् । यो क्रम निषेधाज्ञा जारी गर्ने प्रशासनबाटै सुरु भएको हो । १४ असारमा निषेधाज्ञा जारी गरेको प्रशासन त्यसको मसी सुक्न नपाउँदै १५ असारमा तामझामसहित धान दिबस मनाउन विभिन्न गाउँ पुग्यो । त्यसयता प्रशासनकै अगुवाइमा भीडभाडयुक्त कार्यक्रम भइरहेका छन् । यस्ता गतिविधिमा सुरक्षा निकायका प्रमुखसमेत छन् ।
सर्वसाधारणलाई मास्क लगाउने, कम्तीमा २ मिटर दूरी कायम गरेर हिंडडुल गर्न सिकाउने निकायकै जिम्मेवार पदाधिकारीले नै स्वास्थ्य मापदण्ड पूरा नगरेपछि लापरबाही अझ बढ्दो छ । पछिल्ला केही दिनयता बैंक तथा वित्तीय संस्था, सार्वजनिक स्थान, बजार क्षेत्रका पसल, व्यावसायिक फर्महरूमा मास्क, सामाजिक दूरी लगायतको पर्वाह नगरि निर्बाध भीडभाड बढिरहेको छ । त्यसको प्रमाण परीक्षण गर्न गतसाता प्रशासन र प्रहरीले बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा एकै दिन २ सयजना बिनामास्क हिँडडुल गरेको भेटिएको थियो । उनीहरूलाई कारबाही स्वरुप २० हजार रुपैयाँ जरिवाना असुल गर्यो । केहीबेर सचेत गराएर छोडेको प्रहरीलाई सर्वसाधारणले भोलिपल्टैबाट मापदण्ड तोड्न शुरु गरेका छन् । त्यसयता हरेक दिन उहि क्रम दोहोरिइरहेको छ ।
प्रहरी र प्रशासनले नियमित गरेको अनुगमनमा मास्क नलगाउनेको संख्या बढिरहेको छ । कहिलेकाहीँ सचेत गराएर छोड्ने प्रहरीले कुनै दिन कारवाहि स्वरुप जरिवाना लिन छोडेको छैन । गत शनीबार गरेको अनुगमनमा बजार क्षेत्रमा हिंडडुल गर्ने मात्रै नभई सार्वजनिक सवारीका यात्रीले समेत मास्क र सामाजिक दूरी कायम नगरेको पाइयो । प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार दुई सय ७९ जनाबाट जरिवाना स्वरुप २२ हजार ९ सय रुपैयाँ जरिवाना असुल गर्यो ।
खुकुलो निशेधाज्ञाको फाइदा उठाउँदै जिम्मेवार निकाय र सर्वसाधारणले समेत लापरबाही गर्दा संक्रमणदर बढ्न थालेको छ । जेठको अन्तिम साता कुनै दिन एकदुई जना मात्रै संक्रमित भएको थियो । तर, निषेधाज्ञा खुकुलिएसँगै त्यसको असर समुदायस्तरसम्म पर्न थालेको छ । असार अन्तिम सातायता कुनै दिन ५० भन्दा धेरै व्यक्ति संक्रमित हुनेगरेका छन् । कतिपय गाउँमा कोरोनासँग मिल्दो लक्षण सहितका बिरामी बढ्ने क्रममा रहेको भए पनि परीक्षण नै नगरिएको स्थानीयको गुनासो छ । ‘गाउँभरि बिरामी छन्,’ फलेबास–३ का शेखर तिवारीले भने, ‘परीक्षण गर्न कोही आउँदैनन् । न बिरामीले परीक्षण गराउँछन् ।’
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.भोजराज गौतम स्वास्थ्यका मापदण्डको पालना नभएकै कारण संक्रमण बढेको जिकिर गर्छन् । ‘जिम्मेवार पदाधिकारीबाटै मापदण्ड पालना भएको छैन,’ उनले भने, ‘सर्वसाधारणले पनि निषेधाज्ञा हटेपछि कोरोना महामारी नै हटेजस्तो गरेका छन् । यसले जोखिम झनै बढाएको छ ।’ कार्यालयका अनुसार पछिल्लो साता जिल्लामा २ सय ९ सक्रिय संक्रमित छन् । दोस्रो लहर सुरु भएयता ६२ संक्रमितको मृत्यु भइसकेको छ ।साभार ः कान्तिपुर प्रकाशित : श्रावण २२, २०७८

