नेपालीहरू इटालीको वाइन, बेल्जियमको बियरदेखि स्कटल्यान्डको ह्विस्कीसम्मका पारखी बनेका छन् । लिटरको हजार रुपैयाँ पर्ने वाइन मात्रै होइन क्वाटरकै एक लाख पर्ने आयातित ह्विस्कीसमेत पिउँछन् नेपाली । नेपालीले वर्षमा दुई अर्ब ५६ करोड रुपैयाँ विदेशी मदिरा पिउनमा नै खर्च गर्छन् ।
पछिल्लो समय तारे होटेलमा मात्रै होइन मध्यमस्तरीय रेस्टुरेन्टमा समेत आयातित महँगा मदिरा पाइन्छन् । सम्भ्रान्त परिवारका पार्टीमा मात्रै होइन उच्च–मध्यम तथा मध्यमवर्गीयका भोजभतेरमा समेत आयातित मदिरा उपलब्ध हुने गरेको पाइन्छ । विश्वव्यापी ब्रान्डप्रतिको आकर्षण, स्वाद र सन्तुष्टि, गुणस्तरीयताको खोजी र संस्कृतिले मात्रै होइन देखाउने प्रवृत्तिले समेत विदेशी मदिराप्रति नेपालीको मोह बढेको देखिन्छ ।
नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीका अनुसार हाल नेपाली बजारमा विदेशी मदिराको हिस्सा करिब ३० प्रतिशत रहेको छ । बाँकी ७० प्रतिशत भने स्वदेशी उत्पादनको रहेको छ । खासगरी महँगा मदिराको बजारमा विदेशी मदिराको हिस्सा बढी रहेको केसीले बताए ।
विदेशी मदिरामा नेपालीको बढ्दो मोहले सरकारी ढुकुटीलाई पनि लाभ दिइरहेको छ । सरकारले मदिरा आयातमा वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउँदै आएको छ ।
कहाँ–कहाँबाट आउँछ नेपालमा मदिरा
नेपालमा करिब दुई दर्जन मुलुकबाट मदिरा आयात हुने गरेको छ । इटाली, स्पेन, फ्रान्स, दक्षिण अफ्रिका, चिली, चीन, अर्जेन्टिना, अस्ट्रेलिया, जापान, कोरिया, पोर्चुगल, स्विडेन, भियतनाम, बेलायतलगायत मुलुकबाट विभिन्न प्रकारका वाइन आउने गरेको छ ।
त्यस्तै, अमेरिका, जर्मनी, बेलायत, जापान, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, आइसल्यान्ड, आयरल्यान्ड, स्कटल्यान्ड, इटाली, मेक्सिको, स्विडेन, ताइवानलगायत मुलुकबाट ह्विस्की आउने गरेको छ । भारत, ब्राजिल, बेलायत र नेदरल्यान्डबाट रम आयात भएको देखिन्छ ।
जिन भने इटाली, बेलायत र जापानबाट बढी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा आइसल्यान्ड, बेलायत, अमेरिका, फ्रान्स र इटालीबाट भोड्का आउने गरेको छ । उपहार, कोसिली वा चिनोका लागि मात्रै होइन, व्यावसायिक रूपमा विश्वका धेरै मुलुकबाट नेपालमा वाइन, बियर, ह्विस्की, रम, भोड्कालगायत मदिरा आयात हुने गरेको छ ।साभार ः नयाँ पत्रिका डेलि डट कम ,२०७८ श्रावण १० आइतबार

