दिदी नरुचे पनि खाउ है । खाएरै पेल्न पर्छ । अब तीन चार दिनमैं ठिक बन है । हामी विदेश हुनेलाइ कति पिर पर्छ तिमिलाई के थाहा ?
मामुको अनुहार सम्झदै दाल पिउनु । छोरीलाई सम्झेर सुप पिउनु अनि हामी सवलाई सम्झेर खाना खानु नि । पानिले निल्दै भएनि खानु । मिस यु प्यारी ।
रुँदै गरेको ईमोजि पठाई उसले ।
विदेशमा बस्ने वैनीको यो म्यासेजले निकै वेर रुवायो मलाई। मजस्तै उ पनि सिरकले मुख छोपेर रोई सायद।
००० ०००
आफुलाई कोभिड पोजेटिभ भएको थाहा पाएपछि मेरो मन ठेगानमा थिएन । किचनमा बसेर सुप पिउँदै गरेकी म मोवाईलमा आएको म्यासेजले थचक्कै पछारिएँ । पिसिआर नेगेटिभ आउँछ भनेर कन्फम भएकी मलाई यो रिजल्ट अनुमान बाहिरको थियो । हातखुट्टा थर्थराउन थाल्यो । एकैपटक ज्वरो बढ्न थाल्यो, निधारमा चिटचिट आएको पसिनाले ओैडाह छुटायो ।
कमजोरीले गालिरहेको थियो । वोल्दा वोल्दै रिँगटा चलेर ढल्छु जस्तो हुन्थ्यो । अब यसै गरि जीवन सकिने हो कि भनेर डर लाग्ने रछ । गाउँमा रहेकी छोरीको याद पनि के विधि आउँदो रछ उफफफ…..।
००० ०००
वैनीले फेरि म्यासेज पठाई, दिदी कता हो ? कस्तो छ अहिले ? फोन लागेन । मलाई निद्रा लागेन । अनलाईन आउनु न ।
भोली फेरि वोल्न पाउँछु कि पाउन्न भनेर फेरि कल गरेँ उसलाई । वोल्नै सकिन । आँसु लुकाउँदा लुकाउँदै भेल बनेर बर्सियो । आँखा मिच्दै सुकसुकाइ उ ।
ओहो आँखावाट कति धेरै आँसु बग्न सक्ने रहेछ यो वेला फिल गरेँ मैले । एक दिन भएनि बढि बाँच्न कति मन लाग्ने रहेछ । कति प्यारो हुने रहेछ जीवन ।
निद लाग्छ निदाउँनै सक्दिन भोलि उठ्नै नपाइने होकि भन्ने पिरले निदाउन डर लाग्ने रछ । ५ दिनदेखि रातिमा पनि लाईट अफ गर्न सकेकी छैन म । निदाउँदा निदाउँदै गइन्छ कि जस्तो लाग्ने ।
विहान उठेर वाक गएका फोटादेखि राती खाएको खानाको फोटो समेत फेमिलि गुप्रमा पठाउने म । कोभिड पोजेटिभ रिपोट फेमिलि गुप्रमा पठाउन दुई दिनसम्म सकिन मैंले ।
वोली र भिडियो हेरेर मेरो अवस्था थाहा पाउने दाईसंग चारपांच दिन कुरा गर्न सकिन ।
दोस्रो चरणको लकडाउन सुरु हुनासाथ पटक पटक घर जा भन्नुभएको थियो दाईले । नमानी नमानी काठमाडौं बस्नुको रिजल्ट देखिएको थियो म मा । यसैले पनि छिटो सुनाउने हिम्मत आएन ।
साँझ सुनाउँना साथ तुरुन्तै कल गर्नु भो । अनुहार ठिक छैन नि धेरै गार्हो भाको छ हो भन्दै हुनुहुन्थ्यो । खस्न थालेको आँसुलाई जवरजस्ती रोक्दै हैन ठिक छ भन्दै उता फर्किएकि थिएँ म ।
छोरीलाई रिपोर्ट पठाएँ । उसले तुरुन्तै कल गरी । आमाले (हजुरआमा) थाहा पाउनुहुन्छ भनेर लुकेर फोन गरेको भन्दै धर्धरी रुन थाली । छोरी उता आँसु झारी रही । आफू यता आईसोलेसन सेन्टरमा पुगिसकेकी थिएँ । यतैवाट उसलाई धित मरुन्जेल हेरिरहेँ । उसका याद सम्झना र मायाले भुतुक्कै भिजायो मलाई ।
००० ०००
चौथो दिनमा मात्रै मामुलाई थाहा दिएँ । यसै सुतेर वोल्दै थिएँ । मामुले त रुममा छैनस त कता छस् भन्दै खोजिनिति गर्नुभो । रुमको पलङ तेस्तो छैन, व्ल्यांकेटको खोल नि तेरो रुमको हैन भन्दै म बाहिर भएको पुष्टि गर्नुभो । ढाँट्न सकिएन मामुलाई ।
सुनाउना साथ बर्बरी आँसु खसाल्नु भो । सव मिलेर मलाई झुट वोलेका भन्दै गुनासो गर्नु भो ।
भाउजू, कमु र ज्वाँई लगायत सम्पुर्ण परिवारको सुभेच्छाले अलि ठिक हुँदै गएकी छु । बाँचिन्छ भन्ने आश लागेको छ अब । माया गर्ने साथीहरुले तिरी नसक्नु गुन लगाएका छन्।
आईसोलेसनमा बस्दा घरवाटै खाना र सुप पुर्याउने सरु दिदि, विष्णु, प्रविन सर र आस्माको सहयोग भुलिनसक्नु छ। रवि सरले लगाउनु भयको गुन भनिसाध्य छैन ।
आत्तिएको मनलाई ढाडस दिने उर्जा थपिदिने अखण्ड भण्डारी सर, दिनेश गौतम सर, डा. शेरवहादुर पुन, डा. सुवास घिमिरेको सल्लाहले आत्मवल बढेको छ ।
००० ०००
खोकीले अलि सताएको हुँदा तपाईंहरुको फोन कल उठाउन सक्दिन म । कृपया फोनको आवाजले ईरिटेड गर्ने रहेछ । खवर सोध्नको लागि फोन नगरिदिनु होला ।
अनुकुल भएसी म आफै कन्ट्याकमा आउने छु।
( लेखक पौड्याल सञ्चारकर्मी हुन् ।)

