काठमाडौं : कोरोनाको दोस्रो लहर नसकिंदै तेस्रो लहरको आगमन हुने र बालबालिका संक्रमित हुने आंकलनले अभिभावकलाई चिन्तित तुल्याएको छ ।
के साँच्चै कोरोनको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन्छन् त ? के छ आधार ? यसबारेमा विभिन्न मिडियामा विज्ञ एवं चिकित्सकहरुले अभिव्यक्त गरेका धारणामा आधारित भएर चर्चा गरिएको छ ।
कोरोनाको पहिलो र दोस्रो लहरको तुलना
कोरोनाको पहिलो लहरको तुलनामा दोस्रो लहर बढी संक्रामक भएको पाइएको छ ।
पहिलो लहरको तुलनामा संक्रमित र मृत्युदर पनि बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै मृत्यु हुनेको संख्या पनि पहिलो लहरको तुलनामा १ सय ६३ प्रतिशतले बढी छ । नेपालमा संक्रमणको पहिलो लहर झण्डै १५ महिना चलेको थियो । २०७६ माघ १० देखि चैत सम्म चलेको थियो । माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित पुष्टि भएको थियो ।
कोरोनाको दोस्रो लहर शुरु भएसँगै व्यापक मात्रामा संक्रमण वृद्धि भएको थियो । नेपालमा २०७८ बैशाख देखि कोरोना संक्रमणको दोस्रो लहर चलेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको वृद्धि भएसँगै चेन ब्रेक गर्न सरकारले मुलुकका विभिन्न जिल्लामा निशेधाज्ञा जारी गरेको छ । २०७८ बैशाख १६ गते देखि काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न जिल्ला एवं सहरमा निशेधाज्ञा लगाइएको थियो ।
पाँच सातासम्म निशेधाज्ञा जारी रहँदासम्म पनि मुलुकमा कोरोना संक्रमण दर झण्डै ३० प्रतिशतको हाराहारिमा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, केहि ठाउँमा संक्रमण घट्दै गए पनि विभिन्न स्थानमा संक्रमणदर उस्तै छ । डा. पौडेलले भने,‘ सबैलाई एकिकृतरुपमा हेर्दा संक्रमण घटेजस्तो देखिन्छ । कतिपय प्रदेशमा परीक्षण भएका मध्ये औसतमा ३० प्रतिशतको हाराहारिमा छ । ’
निशेधाज्ञा हटाउने वा कायमै राख्ने भन्ने विषयमा पनि फरक फरक धारणाहरु सार्वजनिक भएका छन् । तर, डा. पौडेल भन्छन, ‘ निशेधाज्ञाबारे निर्णय गर्ने आफ्नो ठाउँमा छ । तर, संक्रमण घट्ने क्रम हो की जस्तो चाहिं देखिन्छ ।’
तेस्रो लहरको जोखिम कति ?
बेलायत लगायत कतिपय मुलुकमा कोरोना संक्रमणको तेस्रो लहरको चपेटामा परिसकेका छन् । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल पनि विश्वव्यापिरुपमै तेस्रो लहरको जोखिम ५ ÷६ महिनामै हुने आंकलन गरिएको बताउँछन् । उनले स्वास्थ्य अनलाईनसँगको कुराकानीमा भने,‘ हाम्रो (नेपाल)मा पनि तेस्रो लहर देखिने संभावना छ । ’ डा. पौडेलले भने ।
संक्रमणको महामारि कुनै एक तल्लो विन्दुबाट केहि समयमै लागि माथिल्लो अवस्थामा पुग्छ । केहि समय पछि संक्रमित केसको संख्या घट्दै गएर मत्थर हुन्छ । तल्लो विन्दुमा आईपुग्छ । यसरी ग्राफिकल प्रस्तुतिलाई नै लहरको संज्ञा दिने गरिन्छ । संक्रमण पुनः बढेको अवस्थालाई लहरको रुपमा प्रस्तुत गरिन्छ ।
बालरोग विशेषज्ञ डा. धर्मागत भट्राई कुनै पनि महामारिमा अबको स्थिति के हुन्छ ? भनेर कसैले पनि ठोकुवा गर्न नसकिने तर अनुमान गरिने बताउँछन् । ‘ दक्षिण कोरिया तेस्रो लहरबाट गुज्रिसकेको छ । हङकङ लगायतका ठाउँहरु चौथो लहरबाट पनि ग्ुज्रि सकेका छन् । ब्राजिल जस्तो मुलुकलाई नै हेर्ने हो भने पनि तिनिहरुको ठ्याक्कै लहर जस्तो पनि छैन । संक्रमणको केसहरु नघट्दै पुनः बढेको देखिएको छ । बेलायतको सरकारले पनि तेस्रो लहर आउन सक्छ है भनिसकेको अवस्था छ ।’ डा. भट्टराईले भने ।
नेपालले पनि पूर्व तयारीको लागि स्वास्थ्य संस्थालाई निर्देशन दिइसकेको छ । गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शैयाको कम्तीमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका थिए । डा. भट्टराई भन्छन,‘ यो सकारात्मक कुरा हो । अगाडिको समयको लागि तयार भएर रहनु पर्छ । के कुरा जरुरत पर्छ, त्यसको सावधानि र भइहालेमा के गर्छौं ? भन्ने कुराको तयारी हुनु पर्छ ।’
तेस्रो लहर आउनुमा भाइरसहरु उत्परिवर्तन भइरहने कारण नै मुख्य जिम्मेवार रहेको छ । भाइरसले रुप बदल्दा भाइरस जहिले पनि खतरनाक नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । ‘भाइरसको म्युटेसन हुँदा पहिलेको भन्दा कम असरदार पनि हुन सक्छ ।’ डा. भट्टराईले भने ।
अहिलेको कोरोना भाइरसमा धेरै नै म्युटेशन (उत्परिवर्तन) भइसकेका छन् । तर,ति मध्ये केहि भेरियन्टहरु मात्र भेरियन्ट अफ कन्सर्न (चासोका भेरियन्ट) रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओले युके, ब्राजिल र भारतमा भेटिएका भेरियन्टलाई मात्र भेरियन्ट अफ कन्सर्नमा सूचिकृत गरेको छ ।
नेपालमा भेटिएको भेरियन्ट डेल्टा र अल्फा हो । ‘लौ….अब त बरबादै हुन्छ भनेर प्रक्षेपण गर्नुपर्ने जरुरी छैन । ’ डा. भट्टराई भन्छन,‘ तेस्रो लहरमा बालबालिकालाई प्रभावित हुन्छ भन्ने समाचार प्रवाह हुँदा अभिभावकहरु सुत्नै नसक्ने स्थितिमा पुगिसकेका छन् । बालबालिकाको इम्युन अन्य उमेरका व्यक्तिको भन्दा फरक हुन्छ । अहिलेसम्मको तथ्यांक हेर्दा र अध्ययन गर्दा बच्चामा संक्रमण अति नै कम हुने र संक्रमण भइहालेमा पनि कोरोनामा तीनवटा अवस्था भनेर हामी परिभाषित गर्छौं । सामान्य (घरमै बस्दा हुने), जटिल (अस्पताल भर्ना हुने ) र गम्भीर अवस्था (आईसीयू, भेन्टिलेटर चाहिने) गरि तीन वटा अवस्थामा विभाजन गरिन्छ । बच्चामा मात्र संक्रमण हुन्छ । अरु व्यक्तिमा हुँदैन जसरी प्रक्षेपण गरिएको छ, तर अत्तालिहाल्नु पर्ने जरुरी छैन । ’
अहिले बालबालिकामा संक्रमणको प्रतिशत बढेको छ । अमेरिकामा संक्रमित बालबालिकाको १३ बाट २३ प्रतिशत देखिएको छ ।
खोप नलिएका उमेर समूह जोखिममा
अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ। विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ।
‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।
नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन्। अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने। खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा. पुनको अनुमान छ। भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ। अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए।
स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले १८ वर्षमुनिका बालबालिकाका लागि अहिलेसम्म कोभिड १९ विरुद्धको खोप परीक्षण भइनसकेकाले अन्तर्राष्ट्रिय रूपमा तेस्रो लहरमा बालबालिका जोखिममा हुने चर्चा चलेको बताए। ‘पहिलो कुरा, बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप नै बनेको छैन। दोस्रो कुरा, बनिहालेमा पनि नेपालले ल्याउन सक्ने स्थिति छैन’, डा. गौतमले भने। बालबालिकामा संक्रमण भइहालेमा उपचारको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने उनको अनुमान छ। ‘धेरै संख्यामा बालबालिका संक्रमित भएमा उनीहरूलाई फिट हुने भेन्टिलेटर, बेड र जनशक्ति तयार हुनुपर्छ’, उनले भने।
राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने अहिलेसम्म तेस्रो लहरले बालबालिका नै जोखिममा पर्छन् भन्ने पुष्टि नभएको बताए। ‘बालबालिकामात्र जोखिममा पर्छन् भन्ने प्रमाणित छैन तर हामीले सबै अस्पताललाई बालबालिकालाई मिल्ने बेड र भेन्टिलेटर क्षमताको २० प्रतिशत तयार पार्न निर्देशन दिएका छौं’, उनले भने।
कोभिड १९ विरुद्धको खोप संयोजक डा. श्यामराज उपे्रतीले अहिलेसम्म खोप आउने निश्चित नभएकाले नेपालमा बालबालिकाका साथै खोप नलिएका सबै समूह जोखिममा रहेको बताए। पहिलो र दोस्रो लहरमा पनि नेपालमा बालबालिका संक्रमित भइसकेका छन् तर उनीहरूको मृत्युदर कम देखिएको छ। बालबालिका होचा हुने, भुइँमा खेल्ने कारणले घरको सफाइमा ध्यान दिने, घरबाहिरका व्यक्तिलाई बालबालिकासँग भेट्न नदिन सजग हुनुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।

