निषेधाज्ञा उल्लंघन गर्ने प्रवृत्ति देखिन्छ । यसमा तपाईंको टिप्पणी के छ ?
कोरोना भाइरस कम गर्न सरकारले निषेधाज्ञा अपनाएको छ । संक्रमण रोकथामको अचुक विधि नै निशेधाज्ञा हो भनेजसरी पालना गर्न\गराउन लागिएको छ ।
यो मोडालिटीमा पनि कति छिद्र छ भन्ने हेर्नुपर्छ । साँच्चीकै अप्ठेरो परेर काममा हिंडेका व्यक्ति पनि बिल्लिबाँठ (अलपत्र) पारेका उदाहरण छन् । कतिपय कामै नभईकन निषेधाज्ञा हेर्न भनेर पनि हिंडेकाहरु छन् । निशेधाज्ञामा हिंडडुल गर्न नहुने एउटा कुरा हो ।
निशेधाज्ञा नमानेर कारबाहीमा पर्नेको संख्या बढ्दो छ । यो प्रवृत्तिको रुपमा विकास भएको हो ?
टोल–टोलबाट निशेधाज्ञा मान्दैनौं भनेर जनता निस्केको भए त्यो प्रवृत्ति हुन्थ्यो । मोटरसाईकल वा गाडि लिएर कतिपयले पेलेर हिंडेका हुन सक्छन् । कतिपय साँच्चीकै अत्यावश्यक परेर हिंडेका हुन सक्छन् । अहिलेका घटना छिटफुट मात्र हुन् ।
सर्वसाधारण–प्रहरी सम्बन्ध किन तिक्ततापूर्ण भइरहेको छ ?
कुनै ठाउँमा प्रहरीमाथि जनताले आक्रोशपूर्ण व्यवहार देखाएका छन् । कुनै स्थानमा सर्वसाधारणमाथि प्रहरीबाट भइरहेको व्यवहार उपयुक्त देखिँदैन । यो प्रवृत्तिलाई एउटै प्याकेजमा राखेर हेर्न मिल्दैन । तत्कालीन घटनाको अन्तर्य धेरै थाहा पनि हुँदैन । कमेन्ट गरिहाल्दा झन् खतरा होला भन्ने डर छ ।
प्रहरी र नागरिकले सुधार्नुपर्ने व्यावहारिक पक्ष के–के छन् ?
प्रहरी र जनताका तर्फबाट पनि व्यक्तिगत स्वभाव र व्यक्तिगत विवेकका कारणले परेका असरहरु पनि छन् । प्रहरीले पनि सबै ठाउँमा उत्तिकै विवेक प्रयोग गरेको छ भन्न सकिँदैन । नागरिकले पनि विवेक प्रयोग गरिरहेको भनेर दाबी गर्न सकिंदैन । नपरीकन वा नभोगिकन थाहा हुँदैन भन्ने पनि छ । अस्पताल जानुपर्ने वा त्योभन्दा जरुरी काम परेको हुन्छ । हिंडडुल गर्न पास हुँदैन । कानून कार्यान्वयनमा खटिएको प्रहरीले त्यो पीडा सुन्दैन । एकातिर यस्तो समस्या छ ।
अर्कोतिर कतिपय व्यक्तिले निशेधाज्ञामा खान पाइरहेका छैनन । आपतविपतमा छन् । अर्को ठाउँमा खाना बाँडेको छ रे भन्ने सुनेपछि जान खोज्दा प्रहरीले रोकेको घटना पनि छ । जनताका हिसाबले पनि केही कमीकमजोरी भएका होलान् ।
कोरोना महामारीमा नियम÷कानूनको पालना कसरी गराउन सकिएला ?
निशेधाज्ञाको सन्दर्भमा नियम÷कानूनको पालना त गराउनुपर्छ । तर, त्यो विवेकसम्मत हुनुपर्छ । नागरिकले पनि विवेक प्रयोग गर्नुपर्छ । व्यवहार विवेकपूर्ण हुनुपर्छ ।
सञ्चारमाध्यमबाट समाचार तथा सन्देशमूलक सामग्रि प्रकाशन एवं प्रशारण भइरहेको छ । सचेतनाको दृष्टिले अपुग भइरहेको हो ?
सूचनाको एकोहोरो प्रवाहले मान्छेको चेतना बढ्दैन । वर्षौंदेखि कुनै सूचना प्रवाह गर्दैमा मान्छेको चेतना बढाउँदो रहेनछ भन्ने त जातपातको सन्दर्भमा लागू हुन्छ । जातपातविरुद्ध जनचेतना प्रवाह त भइरहेको छ नि !
त्यस्तै अहिले पनि कोरोना महमारिबारे सरकारी र अन्य पक्षबाट सूचना प्रवाह भइरहेको छ । जुन तहमा पुगेर चेतना अभिवृद्धिका लागि सहयोग गर्नुपर्ने हो । त्यो नभइरहेको हो की भन्ने हिसाबले पनि हुर्नुपर्ने हुन्छ ।

