कीर्तिपुर (नगाउँ) । बैशाख २० गते । रुघा लाग्यो । बाल मतलव ! खासै वास्ता गरिन । अफिस गएँ । डेस्क सहित समाचार वाचनको जिम्मेवारी अर्थात नित्य कर्म जस्तो ! मज्जैले पुरा गरे । अफिसमै खाना खाएर सररर गाडीमा आयो । फ्ल्याटमा छिर्यो । पलङमा डङरङ्ग ज्यान फाल्यो । सुत्यो । उठ्यो । अफिस गयो । फेरी आयो । अफिस पुग्ने र घुम्दै कीर्तिपुर (नगाउँ) आइपुग्ने दैनिकी थियो । घडीको सुई जस्तो जिन्दगी !
स्वास्थ्यतर्फ त्यति ध्यान दिइएन । आफ्नै शरीर त हो ! खासै मतलव राखिएन । चिन्ता पनि भएन । एक्लो ज्यान न हो ! अरु कसले पो चिन्ता गर्ने र ……!
००० ०००
बैशाख २३ गते दिउसो कुराकानी गर्दा खोकीले जिस्काए झैं गर्यो । टेलिभिजनको स्क्रिनमा न्युज बुलेटिन पढ्दा पढ्दै ख्याक्क खोकी लाग्यो भने ……! भित्रभित्रै डर लाग्यो । भाइरल भइने पो हो की ? मलाई भाइरल हुनु पटक्कै मन पर्दैन भने पनि हुन्छ ।
ख्याक्क ख्याक्क हुने क्रमले गति लिंदा साँझपख पिरलोले उचाई चुम्न थाल्यो । समाचार पढ्दै गर्दा ख्याक्क भयो भने के गर्ने ? लाखौं दर्शकले हेरिरहेका हुन्छन् । गेट पाले ! को काम गरोस भनेर दिउसैदेखि औषधि झैं गरि तातोपानी सुरुप्प सुरुप्प पार्न थालियो । उद्देश्य ः ह्वात्त मुखबाट ख्वाक्क आवाज ननिस्कोस ।
सात बजेको समाचार वाचनको लागि तयार हुनु नै थियो । नित्य कर्म । लामो अनुभवले गर्दा समाचार वाचन गर्न डर लाग्दैन । दालभात खाए जस्तो हो !डर थियो त भर्खरै लाग्न थालेको खोकीको ! जिन्दगीमा ठूला भन्दा पनि यस्तै साना साना कुराको डर हुँदो रहेछ ! सात बजेको समाचार पढ्दा खोकी लाग्ला ..लाग्ला जस्तो भयो । लौ बित्यास ! जे नहोस भनेर दिनभरि औषधि झैं गरि तातो पानी सुरप्प पारियो । अहिले खोकीले चेतावनी दिन थाल्यो । विस्तारै विस्तारै.. रोकिदैं समाचार पढें । त्यो क्रम नौ बजेको बुलेटिनमा पनि भयो । खोकीको सार्वजनिक हमलाबाट जोगिएँ भनौं न ! घाँटीको जय होस !
अफिसको गाडीमा फ्ल्याटमा आए । घाँटीमा अप्ठेरो भए जस्तो चिलाए झैं पो हुन थाल्यो । जुक्ति लगाए,’पानीको वाफ लिन्छु ।’ मस्तले निदाएँछु । विहान उठेपछि त पुरानै ताल दोहोरिन थाल्यो । अब के गर्नु ? दिउसो घाममा एघार नम्बरको गाडीमा सानेपास्थित स्टार हस्पिटल पुगें । एक घण्टै लाग्यो क्यारे ! तर कमजोरी फिटिक्कै थेन । नो कमजोरी ! पीसीआर जाँच गरें । फर्कंदा जिन्दगीको बारेमा उब्जने कुराहरु सुसेल्दै पाइला सारें । त्रिभुवन विश्वविद्यालयको आँगनमा सुस्ताएँ । त्यहाँ गाई चरिरहेका थिए । मनमनै प्रश्न उब्जियो,‘चौपायालाई केहि नहुने दोपायासँग निहुँ खोज्ने ? कस्तो कोरोना हो यो !’
एघार नम्बरको गाडीमा लगातार नौ किलोमिटर पार गरेछुँ । बधाई दिए, बलिया खुट्टालाई !चार बजे रिपोर्ट आयो, कोभिड पोजेटिभ !
अफिसको सिईओ र डेस्कका साथीहरुलाई सूचित गरें । अफिसका ड्राइभर र सहकर्मीलाई पीसीआर गर्न आग्रह गरे । पाँच दिनपछि सबैको नेगेटीभ रिपोर्ट आए छ । ठिकै भो भन्ने लाग्यो ।कमसेकम तपाईंले गर्दा सर्यो भन्ने आरोप त सुन्नु परेन ।
००० ०००
लक्षण मलाई खासै देखिएन । घरि घरि खोकी लागे झैं हुन्थ्यो । धेरैले पत्याउँदैनन होला , मलाई त कोरोना लागे पछि स्फूर्ति झैं भयो । मन चङ्गा हुने के ! जीउ पनि बलियो फिल भइराछ । यो भन्दा अरु के भनौं र ? आज १२ दिन भयो ।
एक दिन हल्का हल्का मन्द मन्द टाउको दुख्या झैं भयो । त्यो बाहेक क्यै भएन । वास्तविकता यहिं हो । कसैलाई गफ दिएको भन्ने लाग्न सक्छ । त्यस्तो कसैलाई लाग्छ भने त्यो उसको कमजोरी हो ।
००० ०००
यी सबै अनुभव सुनाउँदा एक जनाले मलाई जिस्कायो । उसले भन्यो,‘कन्ये केटो भनेर पनि कोरोनाले गालेन होला !’ अर्कोले भन्यो,‘तपाईलाई कोभिडले होइन । कोभिडको नातिले छोएको होला । कोभिडले नै छोएको भए थला पाथ्र्यो । कोभिडको छोरोले छोएको भए ज्वरोसम्म आउँथ्यो । कोभिडको नातिले छोएको भएर केहि भएन ।’ हँसाउँछन भन्या साथीहरु पनि ।
( पत्रकार ढकालसँगको कुराकानीमा आधारित । उनी एक प्रतिष्ठित निजी टेलिभिजनमा कार्यरत छन्।)

