(नेपालमा कोरोना भाइरसको महामारी फेरि बढ्दै गइरहेको छ । दैनिक ५० नयाँ संक्रमित थपिएकामा चैत तेस्रो सातादेखि तेब्बर बढी संक्रमित थपिन थालेका छन् । यसले फेरि संक्रमण तीव्र भइरहेको स्पष्ट हुँदै गइरहँदा कतै कोरोनाको दोस्रो लहर नै पो आयो कि भन्ने शंका बढेको छ । यसै विषयमा आधारित रहेर सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौं–सम्पादक)
कोरोना भाइरसको दोस्रो लहर आएको हो नेपालमा ?
–जोखिम बढेको देखिएको छ । संक्रमितको संख्या बढेर स्थिर भएको अवस्था छ । यद्यपि अहिले नै दोस्रो लहर भैसक्यो भनेर त भन्दिन एक प्रकारको संकेत चाहिँ देखिरहेको छु । भारतबाट मानिसहरू आउने क्रम जारी छ । यदि केही गरी बोर्डरहरूमा राम्रो व्यवस्थापन भएन भने भित्रिने सम्भावना त्यतातिर रह्यो । यता चाहिँपहिले जुन संख्या ७०–८० को हाराहारीमा देखिन्थ्यो त्यो झण्डै डेढ सयको हाराहारीमा देखिन्छ । अहिलेको लागि यो ठूलो संख्या भनेर नमानौं। दोस्रो लहर आइ नै हाल्यो भनेर पनि भन्दिन । आइरहेको संकेत म देख्दैछु ।
० फेरि के कारणले बढ्यो संक्रमण ?
–नेपालमा कोरोना भाइरसको जोखिम यथावत् छ भनेर हामीले त्यो बेलादेखि भन्दै आएका थियौं । संख्यात्मक हिसाबले केही हप्ताअघिसम्म कमी नै थियो तर ७०–८० को हाराहारीमा देखिँदा ती त्यस्ता व्यक्तिहरू थिए जो आफूलाई स्वस्थ्य भनिएका र उनीहरू कुनै कारणले पीसीआर रिपोर्ट चाहियो भनेर आएकाहरू थिए । उहाँहरूलाई पनि त हाम्रो समूदाय कतैबाट सरेको होला । भनेपछि समुदायमा चाहिँकोरोना रहेछ । तर उनीहरू परीक्षणका लागि आइरहेका छैनन् ।
० स्वास्थ्य मापदण्ड नअपनाएरै संक्रमण बढ्यो भन्दा हुन्छ कि ?
–त्यस्ता व्यक्तिमात्र आएका छन् जसलाई विदेश जानु प¥यो वा कतै जागिर खानुप¥यो या काममा जानुपर्ने अवस्थामा उहाँहरूलाई पीसीआर रिपोर्ट मागिएको हुँदाखेरी त्यो देखिएको हो भन्ने कुरा मैले अस्पतालमा अनुभव गर्न पाइरहेको थिएँ । त्यसको मतलब हाम्रो समूदायमा त्यो बेलामा पनि स्पष्टसँग आवतजावत, ओहोरदोहोर गर्ने, साथीभाइसँग सबैसँग खुल्ला, स्कुलहरू खोल्यो, अरु सार्वजनिक स्थानहरू कार्यालयहरू सबै खोलेको तर जनस्वास्थ्यका मापदण्डहरू पूरा गर्नुपर्छ है भनेर भन्दै जाँदाखेरी विस्तारै मानिसहरूले बिर्सदै गएको हो कि वर्षदिनभित्र अत्यधिक मात्रामा भोग्नु परेको हुनाले खुल्ला भएको हुनाले सबै छोड्न कोशिश गरेको हो कि भन्ने खालको अनुभव त्यो बेलामा गरेको थियो ।
० अब आगामी दिनहरूमा के के उपाए अपनाउने त ?
– आगामी दिनहरूमा जहाँ मानिसहरूको आवतजावत बढी हुन्छ र जहाँ स्वास्थ्यका मापदण्डहरू पूर्णरुपमा लागू गर्दैन त्यो ठाउँमा संक्रमणको संख्या फैलन सक्ने हुन्छ । किन भन्दाखेरी ठ्याक्क लकडाउनभन्दा अगाडिको अवस्था जस्तो देखिन्छ । त्यो बेलामा पनि मानिसहरू लक्षणविहीन अवस्थामा संक्रमित अत्यधिकमात्रामा थिए । भन्नुपर्दाखेरी तथ्याङ्कमै ९९.७ प्रतिशत देखाइएको थियो । तर लकडाउनपछि लक्षणसहितका संक्रमित देखिए । अहिले पनि अधिकांश लक्षणविहीन देखिए तापनि पछिल्लो एक दुई दिनदेखि मानिसहरू अलिकति लक्षणको समस्या भएर भर्ना हुन थालेको तथ्याङ्क पाइरहेको छु । स्वास्थ्य मापदण्डको पूर्णपालना गर्नेतिर विशेष जोड दिनु पर्छ ।
० शैक्षिक संस्थाहरू कोरोनाको ‘हटस्पट’ बन्दै गरेको भन्ने छ नि ?
–जोखिम यथावत् रहँदै गर्दा स्कुल वा सार्वजनिक संस्था खोल्दाखेरी नियो नर्मलको अवस्थामा हाम्रो काम कारबाही अगाडि बढाउनु पर्दथ्यो। तर स्कुलहरूको जुन बनावट छ त्यो एउटै बेन्चमा धेरै विद्यार्थीहरू बस्नुपर्ने, खेलकुद खेल्दा पनि सबैजनासँगै हुने र मास्क पनि हामीले जनस्वास्थ्यको मापदण्ड भने पनि त्यसलाई व्यवहारमा लागू नगर्ने भएको हुन सक्छ । त्यसले गर्दाखेरी एकै ठाउँमा धेरै हुने र विद्यार्थीहरूबीच पनि पूर्ण रुपमा पालना चाहँदाचाहँदै पनि अलिकति व्यवहारमा लागू गर्न गा¥हो हुने हो कि भन्ने प्रश्नहरू पनि उठाएकै हो । यदि विदेशमा जस्तो अवस्था गर्ने हो, समय समयमा चेकजाँच गर्ने अथवा सम्बन्धित निकायबाट व्यवस्थापनबारे के कस्तो भइरहेको छ भने चासो, अनुगमन, निगरानी जेजस्तो गर्नुपर्ने हो भने कसैलाई छ भने विद्यार्थीबाट छुट्टाएर सँगै नराख्ने हो भने समस्या समाधानको सम्भावना हुन्थ्यो होला । हामीले विद्यालय त खोल्यौं तर जुन अवस्था एक वर्ष अगाडिको थियो त्यही डिजाइन छ हाम्रो । धेरैलाई बन्दाबन्दी वर्ष दिनसम्म रहेको, त्यहाँ तुरुन्तै लागू गर्न नसक्दा स्कुलमा देखियो । यी लक्षणविहीन थिए । हाम्रो समूदायमा लक्षणविहीन कतिधेरै घुमिरहेका होलान् भन्ने सामान्य र स्पष्ट नमूना हो यो ।
० बालबालिकामा बढी देखिएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो ?
–जोखिम बढ्दै जाँदा पक्कै पनि त्यो बारेमा विशेष ध्यान पु¥याउनुस् भनेर भन्नै पर्ने हुन्छ । धेरै जसो विद्यार्थीहरूमा हेर्दाखेरी बन्दै गर्ने र केही समयमा सुचारु गर्ने गरेको देख्छौं । अहिले हाम्रोमा पूर्ण रुपमा बन्द गर भनेर अब सबैलाई चाहिँ भन्न सक्दिन । किनभने जहाँ कोरोना छैन, जहाँ अनुगमन राम्रो छ उनीहरूले निरन्तरता दिन सक्छ । तर कोही संक्रमित छ भने कन्ट्याक्टमा भएकाहरूको पनि ट्रेसिङ गर्न सक्नुप¥यो । जुन हामीले पहिले पनि गर्ने कोशिश गरेका थियौं । अत्यधिक मात्रामा एकपछि अर्को स्कुलमा संक्रमितको संख्या बढ्दै गयो भने त केही समयका लागि बन्दै गर्न पर्ने हुन्छ । फाट्टफुट्ट छ भने जुन ठाउँमा संक्रमण देखिएको हो त्यो ठाउँलाई हामीले विशेष निगरानी गर्नुपर्ने हुन्छ ।
० सरकारले अब कोरोना नियन्त्रणका लागि के के गर्नुपर्छ भन्ने ठान्नु हुन्छ ?
–इतिहास नदोहो¥याउँ । किन भने एक वर्ष यसैगरी गुज्रेको हो । त्यो बेलामा भाइरसबारे आनीबानी र व्यवहार हाम्रा लागि पहिलो नै थियो । त्योबेला धेरै कमीकमजोरी भए । सम्बन्धित व्यक्तिहरूले भनेका कुराहरूलाई सुझावका रुपमा लिनुपर्छ । कहाँ कहाँ चुकेका थियौं भन्ने कुरालाई दोहो¥याउनु भएन । हामीले पटक्कै केही नजानेको हैन । हामीले अनुभव पनि गरिसकेका छौं । संक्रमितहरूलाई पनि थाहा भए होला के कस्तो अवस्था हुँदो रहेछ भन्ने । सम्बन्धित निकायले पनि एक वर्षको समीक्षा गरेर कहाँ कहाँ कसरी परीक्षण गर्ने जस्तो कि काठमाडौं नाकामा पनि आउनेहरूको टेष्ट गरेको थियो । त्यो बेलामा कसरी गर्नुपर्ने रैछ भन्ने कुरा बुझिसकेको हुनुपर्छ । भारतबाट आउँदा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा पनि हामीले कमजोरी बुझ्नु जरुरी छ । ठूलो जनसंख्या भएका शहरमा केही गरी कोरोना भाइरसका संक्रमित देखिए भने कसरी नियन्त्रण गर्नुपर्छ भन्ने कुरा कुनै कुनै ठाउँले अलिकति उदाहरणका रुपमा पेश पनि गरेका छन् नेपालमै । विदेशको नमूना भन्दा पनि आफ्नै देशका उपायहरू खोज्नु जरुरी छ ।
० फेरि लकडाउन लगाउने हो र? समाधान गर्छ लकडाउनले ?
–लकडाउनल समस्याको समाधान पक्कै गर्दैन । यसअघि पनि मैले लकडाउन गर्नुपर्छ भनेर कहिल्यै पनि सोचिन । लकडाउन आफैमा अन्तिम उपाय अचूक अस्त्र हुँदै होइन । त्यस्तो हुन्थ्यो भने गरिएका लकडाउनका बेलामा संक्रमित नबढ्नु पर्ने थियो । लकडाउन गर्ने हो भने कस्तो बेलामा उपयुक्त होला भन्ने हो भने अन्तिममा कतै केही गर्न सकिएन भने छोटो समयका लागि सोच्न सक्छौं । त्यो बेलामा पनि सम्बन्धित निकाय चुपचाप बस्ने हैन कि के कस्तो भइरहेको छ भनी समीक्षा गरी अगाडि बढ्नु पर्छ । होइन भने लकडाउन गरेर समाधान हुँदैन । कारण हो हामी आफैले त्यसको बेवास्ता गर्नु हुँदैन । त्यो बेलामा पनि धेरै मान्छेहरू लकडाउन भनिए तापनि मर्निङ वाक गरेर बेलुकी बेलुकी घुम्न निस्कने, साथीभाइसँग रमाइलो गर्ने गरेको पनि देखेका थियौं । विभिन्न चाडपर्वमा नाचगान गर्ने पनि गरे । त्यसरी नाचगान गरेर आएर धेरै मानिस संक्रमित भएको म स्वयं यहाँ उदाहरण नै छु । नागरिक अटेरी भएकैले कोरोना बढेको हो । सरकारले पनि कमीकमजोरी सुधार्नु पर्छ । त्यसअघि हामी नै सजग भएनौं भने त्यहाँबाट संक्रमण फेरि फैलिन्छ । बल हाम्रो कोर्टमै हुन्छ जहिले पनि । होलीमा पनि ठाउँठाउँमा मानिसहरूले बेवास्ता गरे ।
० मास्क नलगाउनेको भीड बढिरहेको छ नि ?
–यो बच्चादेखि लगाउने बानी गरेको हैन । धुलो धुवाँका कारणले गर्दा शहरका मान्छेले केही वर्षदेखि लगाउँदै आएको चिज हो । तर पनि मास्क लगाउनु सबैलाई त्यति सहज नहुन सक्छ । पहिलो त जीवनभरमा पहिलो पटक यतिठूलो महामारी खेप्नुप¥यो । हामीले निरन्तर मास्क लगाउ भनेर बानी पार्नलाई गा¥हो हुन्छ । वातावरणको हिसाबले वाध्यता पनि छ । सायद पछि पनि निरन्तरता होला । कतिपय मानिसहरूमा किन लगाइराख्ने भन्ने पनि छ । पहिला पनि यस्तै देखिएको हो । मास्कले कहाँ कोरोना छेक्छ भनेर बेवास्ता गरेको पनि हुन सक्छ । हामीले नै यहाँहरूलाई बुझाउन कतै न कतै चुकेको हो कि । अथवा सम्बन्धित निकायबाट यी कुराहरूमा प्रचार गर्न कमी भएको हो कि । नाराजुलुसमा त मास्क लगाएर आवाज ठूलो आउँदैन । मास्क सही तरिकाले लगाउन चुकेको देखिन्छ ।
कोरोना खोपको परिणाम कस्तो पाउनु भयो ?
–भ्याक्सिनलाई जहिले पनि सकारात्मक रुपले लिनुपर्छ । किनभने हामीसँग विकल्पहरू छैन । त्यसैले कसैले पनि यसलाई ठूलो इस्यु बनाएर हिँड्नु पर्ने अवस्था देख्दिन । यो वैज्ञानिक रुपमा प्रमाणित भएर आएको हो । यद्यपि केही व्यक्तिलाई टाउको दुख्ने, ज्वरो आउने सामान्य समस्या निम्त्याउँछ । हामी सबैलाई थाहा छ । पहिलो डोजमात्र लगाएका छौं । दोस्रो डोज लगाउन बाँकी नै छ । शरीरमा बन्ने रोगप्रतिरक्षा गर्ने प्रोटिन कति छ त्यो जान्न जरुरी छ जस्तो लाग्दछ । किनकि हरेक भ्याक्सिनको आ–आफ्नै प्रभावकारिताको क्षमता हुन्छ । त्यसले गर्दा खेरि अहिलेको जुन भ्याक्सिन छ धेरै भन्दा धेरैमा नलगाएसम्म खास उपयोगी भयो भनेर भन्नलाई गा¥हो हुन्छ । केही लाखलेमात्र लगाएर यसले पूर्णता पाउँदैन । थोरै लगाउनेमा पनि एन्टीबडी नबनेको चर्चा छ । केही साथीहरूको परीक्षण गर्दा नेगेटिभ आएको देखेको छु ।
त्यो भनेको या त एन्टीबडी बन्न बाँकी छ या बनेन कि क्या हो भन्ने प्रश्न छ । त्यो स्वभाविक पनि हो । कोभिशिल्ड सत्प्रतिशत एन्टीबडी बन्छ भन्ने जरुरी छैन । त्यहाँ एभरेजमा ७० वा दुईवटा डोज लगाउँदा ६२ प्रतिशतको हाराहारीमा इन्फेक्सन गराउँदैन भन्ने बुझ्नुपर्ने हुन्छ । खोप लगाएपछि अब मलाई कोरोना हुँदैन मास्क फालिदिन्छु भन्ने हुँदैन । ती व्यक्तिमा एन्टीबडी नबनेको पनि हुनसक्छ । बने पनि पर्याप्तमात्रामा नबनेको हुनसक्छ । ती व्यक्ति फेरि संक्रमित पनि हुन सक्छन् । सार्ने सम्भावना अत्यधिक हुन पनि सक्छ समाजमा । ज्येष्ठ नागरिकलाई पूर्ण रुपले लगाउनु पर्छ । युवाहरूलाई नयाँ कोरोनाको भेरियन्टले असर पुर्याएको छ । यस्ता कुराहरूलाई नजरअन्दाज गर्नुहुँदैन । २०७७ चैत २३ सोमबार, साँघु साप्ताहिक

