११ सय ७४ले ज्यान गुमाए
संक्रमण निको हुने दर ८० प्रतिशत
काठमाडौं । कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै २ लाख नाघेको छ । नौ महिनाको अवधिमा संक्रमणले उचाई लिंदै गएको छ ।
चीनबाट फर्किएका एक युवामा गत माघ ९ गते संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार संक्रमितको संख्या दुई लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिए । जसमध्ये १ लाख ६२ हजार २ सय ४३ जना संक्रमण मुक्त भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार, संक्रमण निको हुने दर ८० प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले नेपालमा रहेको कोभिड १९ को जिन सिक्वेन्सिङ गर्नुपर्ने खाँचो रहेको बताए । उनले भने,‘ संक्रमण वृद्धि भएर समुदाय तहमा फैलिसकेको छ । भाइरसको प्रकृति थाहा पाएपछि थप अध्ययन अनुसन्धानका साथै नियन्त्रणकालागि थप रणनीति बनाउन सघाउ पुग्छ ।’
कोरोना संक्रमणबाट पछिल्लो चौबिस घण्टामा २६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म ११ सय ७४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । डा. प्याकुरेलका अनुसार, संक्रमणको नियन्त्रणकालागि परीक्षणको दायरा बढाउनु पर्छ । कुल संक्रमितमध्ये पुरुष ६६ प्रतिशत छन् । महिला भने ३४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५ सय १९ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा २८ हजार ३ सय ९३ जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १सय ९ जना छन् । हाल ३ सय ८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले संक्रमणको वृद्धिले आगामी दिनहरु चुनौती हुने संकेत देखिएको बताए । ‘ कोरोना संक्रमण नभएका र संक्रमण मुक्त भएका व्यक्तिले पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ ।’ उनले भने । जाडो याममा कोरोना भाइरस संक्रमण बढी फैलने विज्ञहरुले बताउँदै आएका छन् ।
७ अर्ब खर्च
आठ महिनाको अवधिमा कोरोना संक्रमणको रोकथाम र उपचार खर्चमा झण्डै ७ अर्ब निकासा भएको छ ।
आर्थिक वर्ष ०७७÷७८ मा कोरोना संक्रमण, रोकथाम तथा उपचार व्यवस्थापनमा ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार खर्च भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले सबैभन्दा बढी रकम हाई डिपेन्डेन्सी युनिटका लागि खर्च भएको जानकारी दिए ।
हाई डिपेन्डेन्सी युनिटका लागि ३ अर्ब २५ करोड खर्च भएको छ ।यस्तै प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा निकासामा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ता बापतमा १ अर्ब १४ करोड २९ लाख ६ हजार र आइसीयू भेन्टिलेटर र अस्पताल सुदृढिकरणमा १ अर्ब २९ करोड ९० लाख निकासा भएको छ ।
यस्तै मन्त्रालयले कोरोना परीक्षण र उपचारमा केही संशोधन गरेको छ । कोरोना परीक्षण र उपचार गर्न सुचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमण लक्षण वा चिन्ह देखिएका बिरामीको परीक्षण र उपचार निः शुल्क गरिने डा.गौतमले जानकारी दिए । लक्षण र चिन्ह देखिएका बिरामीले कोरोना बिमा गरेको पाइए सबै परीक्षण र उपचार खर्च कोरोना बिमा रकमबाट व्यहोरिने भएको छ ।

