काठमाडौं । संक्रमितको उपचारबापत सरकारले अस्पताललाई अनुदान दिन्छ । लक्षण नभएका वा सामान्य लक्षण भएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्दा दैनिक २ हजार रुपैयाँ । सामान्य लक्षण (माइल्ड) भएकालाई ३ हजार ५ सय । मध्यम जटिल खालका (मोडरेट) का लागि ७ हजार । र, जटिल खालका बिरामीका लागि १५ हजार रुपैयाँ । तर पनि, निजी अस्पतालले उपचारमा अटेर गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कतिपय निजी अस्पतालहरूले उपचारमा हिचकिचाएको बताए । उनले भने, ‘बिरामी संक्रमणको तुलनामा मौजुदा शैया संख्या कम छ । हामी व्यवस्थापनमा अहोरात्र खटिएका छौं । उपचारमा साथ नदिनेको पीसीआर परीक्षण अनुमति खारेज गरिनेछ ।’
कोभिड संक्रमितको उपचार गर्न निजी अस्पताललाई कुल बेडको कम्तीमा २० प्रतिशत र मेडिकल कलेज तथा प्रतिष्ठानलाई एक तिहाइ संख्यामा छुट्ट्याउन सरकारले परिपत्र गरेको छ । त्यसो नगरे तिनको पनि पीसीआर परीक्षण अनुमति रद्द गरिने भएको छ । कोभिड– १९ विरुद्ध लागि गठन गरिएको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)ले तत्काल अनुमति खारेज गर्ने निर्णय गरेको हो । आगामी एक÷दुई वर्ष अस्पतालहरूमा कोरोना संक्रमितहरू भर्ना हुने र तोकिएका सरकारी अस्पताल भरिभराउ हुने अवस्था भएकाले उक्त निर्णय गरिएको डा। गौतमले बताए ।
दिनहुँ सयौं संख्यामा संक्रमित बढेपछि उपचार व्यवस्थापनमा चुनौती थपिएको छ । सरकारी अस्पतालमा शैय्या भरिएपछि उपचारका लागि केही निजी अस्पतालले हिचकिचाउँदा कठिनाइ भएको हो । त्यसमा सरकार पनि कडा रूपले प्रस्तुत हुन थालेको छ। पीसीआर परीक्षणको दायरा विस्तारसँगै नयाँ संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा बिहीबार २ सय जनासहित मुलुकभर ७ सय ७ जना नयाँ संक्रमित थपिएका छन्। हाल आइसोलेसनमा ११ हजार ५ सय ५५ जना उपचाररत छन् भने आईसीयूमा उपचाररत संक्रमितको संख्या १ सय २९ छ । लक्षणविहीन संक्रमितलाई घरमै आइसोलेसनमा बस्ने व्यवस्था गरिए पनि लक्षणसहितका संक्रमितको उपचारमा कठिनाइ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले राज्य र गैरराज्य पक्षको सहकार्यबाट मात्र कोरोनाविरुद्ध लडाइँ जित्न सकिने बताए । उनले भने, ‘नागरिकको जीवन रक्षा नै सबैभन्दा महŒवपूर्ण कुरो हो । यतिबेला सबै क्षेत्रबीच सहकार्य र समन्वय भए मात्र संक्रमणविरुद्ध जुध्न सकिन्छ ।’
नेपाल चिकित्सक संघले कोरोना संक्रमित र अन्य बिरामीका लागि छुट्टाछुट्टै अस्पताल व्यवस्था गर्न माग गरेको छ । संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘उच्च संक्रमणलाई न्यूनीकरण गरिसकेका कयौं देशको अनुभवलाई ध्यानमा राख्दा संक्रमितलाई अलग्गै उपचार गर्न सकिएमा स्वास्थ्यकर्मीलाई हुने संक्रमण न्यून गर्न सकिन्छ ।’ मुलुकमा हालसम्म २९ हजार ६ सय ४५ जना संक्रमित पुष्टि भएकामा १७ हजार ९ सय ६४ निको भएका छन् । हालसम्म १ सय २६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

