१.कुनै रोग लाग्यो भने अहिलेको अवस्थामा के गर्ने ? अस्पताल कुन हालतमा जाने र प्राथमिक उपचार के गर्ने ?
उत्तर ः सकेसम्म अति आवश्यक नपरेसम्म अस्पताल नजाने अर्थात स्वस्थ्यकर्मीसँग पहिले परामर्श लिएर आफ्नो रोग र लक्षण कति जोखिम होरहोइन भनि यकिन गरेर मात्र जादा राम्रो हुनेछ । बिशेषत दीर्घ रोगी भए आफुले उपचार गराई रहेको चिकित्सकको सम्पर्कमा रहनु पर्छ । किनभने स्वास्थ्य सम्बन्धि धेरै कुरा थाहा नहुने भएकोले कुन सघन अवस्था हो र कुन सामान्य हो भन्ने यकिन नहुन सक्दछ ।सरुवा रोग जस्तै रुघा खोकी भए घरैमा झोलिलो खानेकुरा खाएर आराम गर्न सकिन्छ । तर, अत्यधिक ज्वरो वा श्वास प्रश्वासमा समस्या देखिए तुरुन्त अस्पताल जानु पर्दछ।
२. कुन–कुन रोग लागेका विरामीलाई करोनाको जोखिम बढी हुन्छ र तिनीले कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ?
उत्तर ः कोरोना सबैलाई लाग्न सक्दछ तर बृद्ध र दीर्घ रोगी भए जोखिम बढी हुने विश्वको तथ्यांकले देखाउँदछ ।उनीहरुसम्म कोरोना नपुगोस भन्नको लागि घरको सक्रिय सदस्यले बिशेष ध्यान दिनु पर्ने हुन्छ ।संक्रमण बिभिन्न कामको सिलसिलामा धेरै व्यक्तिसंग सम्पर्क हुदा सर्न सक्दछ र घरभित्र ल्याउन सक्ने सम्भावना बढी हुन्छ । नेपालको कोरोना चाहिं लक्षण नै नदेखाउने विशिष्ट प्रकृतिको भएकोले आफुलाई थाहा नभैकन घरको अरु परिवारलाई सारिरहेको हुन सक्दछ । सकेसम्म आवश्यक नभई धेरै समय उनीहरुसंग (बुवा र आमा) समय नबिताउने, अर्थात घर आउने बित्तिकै साबुन पानीले हात राम्ररी धुने र लामो समय (पन्ध्र मिनेट भन्दा बढी) आमने सामने भई कुराकानी गर्नु परे मास्क लगाएर मात्र सकेसम्म अवधिलाई छोट्याउने कोशिस गर्नु पर्दछ ।
३. गर्भवती महिलाले के–केमा ध्यान दिनु पर्छ ?
उत्तरः सकेसम्म छलफल, सेमिनार वा धेरै मानिसहरु हुने ठाउमा जानु हुँदैन । चिकित्सकको सम्पर्कमा रहिरहनु पर्छ । स्वास्थमा केहि समस्या देखिए तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नु पर्छ । नियमित साबुन पानीले हात धुनु पर्छ । आफु सुत्कारी हुने समय नजिकिदै जादा अस्पताल पुग्ने व्यवस्था मिलाउनु पर्छ । यदी चिकित्सकले कोरोना भाइरसको पिसिआर माग गरेको भए त्यसको तयारी पनि गर्नु पर्छ ।सुत्केरी घरमा नभई अस्पतालमा गराउनु पर्दछ । यसले आमा र बच्चा सुरक्षित हुनेछ ।
४. ज्येष्ठ नागरिकहरूलाई कोरोनको जोखिमबाट सुरक्षित राख्न के गर्न सकिएला ?
उत्तरः नेपालमा देखिएको कोरोना चाहिं लक्षणविहिन छ । विशिष्ट प्रकृतिको भएकोले आफुलाई थाहा नभैकन घरको अरु परिवारलाई सार्ने जोखिम हुन्छ । धेरै समय ज्येष्ठ नागरिकहरुसँग अन्य उमेरका व्यक्तिहरु नबिताउँदा सुरक्षित राख्न सकिन्छ । बाहिरबाट घर आउने बित्तिकै साबुन पानीले हात राम्ररी धुने र आमने सामने भई कुराकानी गर्नु परे भौतिक दुरी कायम राखेर मास्क लगाउनु पर्छ ।
५. दाँत, आँखाजस्ता रोगमा अस्पताल जाने कि नजाने ?
उत्तर ः जान सकिन्छ । तर सो अस्पतालमा कार्यरत चिकित्सकले पीपीइ लगाएको र नलगाएको याद गर्नु पर्ने ह ुन्छ । त्यहाँ कार्यरत चिकित्सकले कोरोना मुक्त छरछैन भनेर रिपोर्ट माग्न सक्नेछ ।त्यहाँ दुरी कायम गरे नगरे हेर्न सकिन्छ भने ग्राहकलाई सेनिटाइजर व्यवस्था गरेको छ भने अझ सुरक्षित हुनेछ ।
६. कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्छ भन्ने त्रास बारम्बार फैलने गरेको छ । यथार्थ के हो ?
उत्तरः हाल यसको बारेमा बहस चलिरहेको छ।विश्व स्वास्थ संगठनले पनि नकारेको देखिदैन । बैज्ञानिकहरुले बिभिन्न अध्ययन अनुसन्धान मार्फत यो निष्कर्षमा पुगेको देखिन्छ । कोठामा भेन्टिलेसन (हावा ओहोर दोहोर गर्ने ) व्यवस्था नभए त्यो भाइरस हावामा घन्टौसम्म रहन सक्नेछ । र, त्यहाँ उपस्थितलाई सार्न सक्ने उच्च जोखिम हुनेछ ।यस्तो अवस्थामा मास्क प्रयोग अति आवश्यक हुनेछ । यसले यदी आफु लक्षण बिहिन संक्रमित रहेछ भने पनि अरुलाई कोरोना सर्न ÷सार्न बाट रोक्न ठुलो मद्दत मिल्नेछ ।
७. उपत्यकाको ढलमा कोरोना भाइरसको जीवाणु भेटिएको छ । के पानीमा समेत कोरोना हुन्छ ?
उत्तर ः बिभिन्न देशहरुले पनि केहि समय अगाडी ढलमा कोरोना भाइरसको बारेमा अध्ययन गरि नतिजा लेख प्रकशित गरिसकेको छ । यो खोजलाई बिशेष गरेर संक्रमणको स्रोत पत्ता लगाउन सहयोगी हुने देखाएको छ ।कोरोना भाइरस मानिसको दिसामा देखिने तथ्य चीनमा गरिएको अनुसन्धानको प्रतिबेदनमा पनि उल्लेख छ ।तसर्थ यो ढलमा पनि देखिएको हो । तर विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार ढलको पानीबाट कोरोना नसर्ने भनिएको छ।अनुसन्धानहरु मध्ये अधिकांशले कोरोना भाइरस निष्क्रिय हुने गरेको निष्कर्ष निकालेका छन । तसर्थ हामी आत्तिनु पर्ने अवस्था छैन।पानीमा पनि सक्रिय कोरोना नदेखिने र नसर्ने विश्व स्वास्थ संगठनले जनाएकोछ। खानेपानीमा बिशेषत क्लोरिनयुक्त हुने र यसले कोरोना भाइरसलाई निष्क्रिय पार्ने भएकोले खानेपानी प्रयोग गर्दा संक्रमित हुने छैन वा सुरक्षित हुनेछ।
८. क्वारेन्टाइनबाट फर्किएका व्यक्तिहरू कत्तिको जोखिमपूर्ण हुन्छन । तिनले र तिनको सम्पर्कमा आउनेले ध्यान दिनुपर्ने कुरा के–के हुन् ?
उत्तरः यदि क्वारेन्टाइन ब्यवस्थित छ भने ती व्यक्तिहरु जोखिमपूर्ण हुदैनन। यदी संक्रमित पुष्टि भएको रहेछ भनेपनि दुइ हप्ता पछि भाइरस निष्क्रिय हुने पछिल्लो अनुसन्धानहरुले देखाएका छन् । ती व्यक्तिहरुले आफ्नो नियमित दैनिकीमा फर्कन सक्नेछन ।र, कुनै बिशेष कुरामा ध्यान दिनु पर्दैन ।
९. विदेशबाट आएका ब्यक्ति घरमै क्वारेन्टाइनमा बस्न चाहे परिवारको सदस्य र समाजले कस्तो सचेतता अपनाउनु पर्छ ?
उत्तर ः विदेशबाट आएका ब्यक्ति घरमै क्वारेन्टाइनमा बस्दा यसका नियमहरु पूर्ण पालना गर्नु पर्दछ। त्यस्तो निर्देशिका स्वास्थ मन्त्रालयले जारी गरिसकेको छ । यसमा विशेषता दुइ हप्ता अलग्गै बस्ने भन्ने हो भने उसले प्रयोग गर्ने समानहरु घरको अरु सदस्यले प्रयोग नगर्ने र व्यक्तिगत दुरी कायम गर्नु पर्दछ।यदी घर क्वारेन्टाइनमा व्यवस्थित तरिकाले पूर्ण पालना गरेको भए समाजले विदेश बाट अहेकालाई पनि अरु सर्बसाधारणलाई जस्तै व्यवहार गर्न सकिने छ ।
१०. ब्यक्तिगत, परिवारिक, सामाजिक र सार्वजनिक सरसफाइमा हामीले कस्तो सजगता अपनाउनु पर्ला ?
उत्तरः यसमा बिशेषत व्यक्तिगत सरसफाईले महत्व राख्ने गर्दछ । नियमित साबुन पानीले हात धुने गर्नु नै सबै भन्दा उत्तम हुनेछ । यो परिवार, र समाजमा सबैले गरे संक्रमण फैलने सम्भावनालाई धेरै न्युन सक्नेछ ।
११. घरेलु खानपिनमा कस्तो सावधानी अपनाउनु पर्ला ? वाहिर चर्चा भएजस्तो हाम्रो परम्परागत खानपिन (बेसार, अदुवा, लसुन, कागति, काडा पानी, तुलसीको पात आदि) कत्तिको लाभदायक छ ?
उत्तर ः सामान्यतय पौष्टिक आहारको रोगसंग लड्नमा ठुलो भूमिका हुन्छ । भाइरसको बिशेष औषधि नहुने भएकोले पनि तागतिलो खानाको ठुलो महत्व रहन्छ । यस अन्तर्गत बेसार, अदुवा, लसुन, कागति, काडा पानी, तुलसीको पात आदि शरीरको लागि लाभप्रद छ । तर, यसले भाइरसलाई नै भने नष्ट गर्ने बैज्ञानिक आधार छैन ।
१२. कोरोेना भाइरसका लक्षणहरुको प्रकृति फेरिएको हो ?
उत्तरः कोरोना भाइरसको उद्गम भनिने चीनको वुहानमा देखा परे पश्चात कोरोना भाइरसको नयाँ नयाँ लक्षण थपिने क्रम जारी छ । पछिल्लो समय लगभग सबै जसो देशहरुको स्वास्थ सस्थाहरुले लक्षणहरुको सुचिमा सुँघ्ने र खानेकुराको स्वास्दमा कमी आउने थपेका छन । शुरुवाती समयमा ज्वरो, श्वास प्रश्वासमा समस्या तथा रुघा खोकीलाई प्रमुख मानिएता पनि नेपालसम्म आइपुग्दा फोक्सोमा मात्र नभई (निमोनिया) शरीरका बिभिन्न अंगहरुमा पनि प्रभाब पार्ने देखिएको छ । तर। नेपालमा भने यसको ठिक बिपरित लक्षण नै नदेखिने कोरोना देखिएको छ।
१३. अन्य रोगका बिरामीहरु अस्पताल जँचाउन जाँदा पीसीआर परीक्षण गर्नु पर्छ की पर्दैन ?
उत्तर ः नेपालको कोरोना विशिष्ट प्रकृतिको अर्थात लक्षण नै नदेखिने कोरोना भएकोले स्वास्थकर्मीहरु संक्रमित नहोस भन्नका लागि पीसीआर परिक्षण राम्रो हुनेछ ।हाल नेपालमा अस्पतालमा अरु रोगको उपचारको लागि जादा संक्रमण पत्ता लाग्ने र स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भई क्वारेटिन्नमा बस्नु पर्ने, अस्पताल सिल गर्नु पर्ने अवस्था दिनानुदिन बढ्दै गइरहेको छ। तसर्थ परिक्षण गर्नु राम्रो हुनेछ । (काठमाडौं टेकुस्थित शुक्रराज ट्रकिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा आधारित । साभार ः अन्नपूर्ण पोष्ट दैनिक )

