काठमाडौं । कोरोना संक्रमणको जोखिम उच्च रहेकोले भीडभाडमा जानेक्रममा सुरक्षात्मक र सावधानीका उपाय नअपनाउँदा आत्मघाति हुने चेतावनी विज्ञहरुले दिएका छन । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा समेत चुनौती थपिने विज्ञहरुको भनाई छ ।
स्वस्फुर्त र स्वतन्त्ररुपमा प्रदर्शन भइरहेका सभा, समारोह एवं प्रदर्शनीले जोखिम बढाएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन । बरिष्ठ सघन उपचार (आइसीयु) विशेषज्ञ डा. अर्जुन कार्की भन्छन, ‘ भौतिकदुरी कायम पनि नगर्ने र मुखमा मास्क पनि नलगाउने हो भने कोरोना संक्रमणको जोखिम बढ्छ ।’ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुईजना बीच कम्तीमा पनि एक मीटरको दुरी कायम गर्नु पर्ने सुझाव दिएको छ ।
मुलुकमा अहिले दिनहुँ तीन सयको हाराहारीमा कोराना संक्रमितहरु फेला परेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो चौबिस घण्टामा २ सय ७३ जनामा संक्रमणको पुष्टि भएको छ ।
प्रदर्शनमा सामाजिक (भौतिक)दुरी कायम नहुने , नारा लगाउँदा कोरोना भाइरस मुखको थुकको छिटाको माध्यमबाट बाहिर निस्कने हुँदा धेरै जना संक्रमित हुने खतरा भएको विज्ञहरुको भनाई छ । ‘अत्यावश्यक काम बाहेक बाहिर निस्कनु जोखिम निम्त्याउनु हो । बाहिर के के छोइएको हुन्छ । को कोसँग भेटघाट भएको हुन्छ । घरमा फर्कंदा कोराना भाइरस ल्याएर आउने जोखिम हुन्छ ।’ डा. कार्कीले भने ।
बाहिर डुलिहिंडने समुहका व्यक्तिमा नै कोरोेनाको संक्रमण उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेरसमुहका व्यक्तिमा कोरोना संक्रमण उच्च देखिएको छ । कुल संक्रमितमध्ये यो वर्गका तीन हजार ९३ जना व्यक्ति संक्रमित देखिएका छन ।
अहिले सम्म मुलुकका ७३ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि महामारीको समयमा भीडभाड तथा जुलुस प्रदर्शन गर्ने क्रममा आत्मघाति हुने जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले भने,‘ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं अत्यावश्यक सेवा संचालनमा संलग्न व्यक्तिलाई संक्रमण बढ्छ ।’
परिवारको कुनै सदस्य संक्रमण भए घरमा रहेका ज्येष्ठ नागरिक, गर्भवति, सुत्केरी, बालबालिका एवं दीर्घरोगीलाई संक्रमण भई ज्यान जान सक्ने डा. गौतमको भनाई छ । काठमाडौं उपत्यका लगायत सहरीक्षेत्रका घनावस्तीमा संक्रमण भए अस्पतालले उपचार धान्न नसक्ने डा. गौतमले बताए । ‘ एक जिल्लामा दुई सय भन्दा बढी संक्रमित भएमा पूर्णरुपमा लक डाउन घोषणा गर्नुपर्ने हुन्छ । व्यापार व्यवसाय पनि धरासयी हुन सक्छ । जीवन झन कष्टकर हुन्छ ।’ डा. गौतमले भने ।
असार ५ गते मात्र ८८ महिला सहित नयाँ ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पुरुष संक्रमितको संख्या ३ सय ३८ रहेको छ । पछिल्लो चौबिस घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने मध्ये पुरुष २ सय ७ जना छन । महिला ९ जना छन । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ । डिस्चार्ज हुनेमा झण्डै ९० प्रतिशत पुरुषहरु रहेका छन ।
हालसम्म संक्रमितको कुल संख्या आठ हजार दुई सय ७४ पुगेको छ । संक्रमित मध्ये पुरुष ७ हजार ६ सय ६७ जना र महिला ७ सय ७ छन । संक्रमित जिल्लाको संख्या ७४ पुगेको छ ।
विभिन्न जिल्लामा रहेका क्वारेन्टाइनस्थलमा एक लाख ९ हजार ४ सय ६१ रहेको छ । कोरोना भाइरस पोजेटिभ पुष्टि भई अस्पतालको आइसोलेसनमा बसेका व्यक्तिहरुको संख्या ६ हजार ८ सय ५० रहेको छ । अहिलेसम्म आरटी पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट एक लाख ६१ हजार ७ सय ४९ को परीक्षण भएको छ । मुलुकका २४ वटा प्रयोगशालामा पीसीआर परीक्षण हुने गरेको छ । आरडीटी विधिबाट दुई लाख ४७ हजार ८ सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना प्रतिकार्य तथा व्यवस्थापन तर्फ २ अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपैंया निकासा प्राप्त गरेको छ । त्यसमध्ये एक अर्ब ५८ करोड ५२ लाख ८३ खर्च भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

