काठमाडौं । कोरोना भाइरस पोजेटिभ भेटिएकी सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको जेठ १ गते बिहीबार राति निधन भएको छ । कोरोना संक्रमितबाट मृत्यु भएको उनी नेपालको पहिलो व्यक्ति हुन ।
बाह्रबिसे नगरपालिका—९, राम्चेकी ती महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिड १९बाट मृत्यु भएको यो पहिलो घटना भएको मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जेठ ३ गते शनिवार बेलुका ८ बजेर ५० मिनेट जाँदा विज्ञप्ति जारी गर्दै पुष्टी गरेका हुन ।
यस अघि दिउसो चार बजेको नियमित प्रेस बिफ्रिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै परीक्षण र जाँच गरेपछि मृत्युको कारणबारे सार्वजनिकरुपमा जानकारी गराइने बताएका थिए । ‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड १९सँग सम्बन्धीत थप परीक्षण पश्चात नेपालमा कोभिड १९बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टी भएको छ ।’ डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ८१ रहेको छ । मृत्यु हुनेमा उनी पहिलो महिला हुन । अहिले उनको घर र बलेफि गाउँपालिकास्थित माइती गाउँ सिल गरिएको छ ।
सुत्केरीपछिको सकस
मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार, गत बैशाख २३ गते उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन ।ती महिलाको बैशाख २४ गते नर्मल डेलिवरि भएको थियो । २५ गते डिस्चार्ज भएकी थिइन । त्यसपछि उनी सिन्धुपाल्चोकस्थित घर गएकी थिइन । ‘घरमा गइसकेपछि ज्वरो, स्वासप्रस्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको कुरा जानकारीमा आएको छ ।’ डा. देवकोटाले भने । डिस्चार्ज भएको एक सातापछि कोरोनाको लक्षणहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
उनको स्थिति जटिल बन्दै जाँदा थप उपचारको लागि धुलिखेल अस्पतालमा आउँदै गर्दा मृत्यु भएको खबर पाइएको डा. देवकोटाले जानकारी दिए । मृतक महिलाको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ । परिवारका सबै सदस्यलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमितको परिवारसँग सम्पर्कमा रहेका सबैको पहिचान गर्न व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।
पोष्टमार्टम भएन
कोभिड १९का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि,०७६ अनुसार कोभिड १९ ले मृत्यु भएको व्यक्तिको सामान्यतया पोष्टमार्टम गर्नु पर्दैन । यदि गर्नुपरेमा मृतकको फोक्सो र अन्य अंगहरुमा जिवाणु जिउँदै हुन सक्ने हुनाले थप होसियारी अपनाउनु पर्ने कार्यविधिको (ण) नं बुँदामा उल्लेख छ ।
त्यस्तै कार्यविधिको (त) नं बुँदामा यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्युन स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । त्यस्तै (द) नं बुँदामा पोष्टमार्टम सकिने बित्तिकै प्रयोग गरेको सामग्रीहरु पोष्टमार्टम सकिने बित्तिकै प्रयोग गरेका सामग्रीको डिसइन्फेक्ट गर्नुपर्ने उल्लेख छ ।
कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको विशेष सावधानीका साथ पाोष्टमार्टम गर्नु पर्छ । तर ती महिलाको पोष्टमार्टम हुन सकेन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं डिष्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्य डा. नरेन्द्र झाले बताउन चाहेनन । उनले भने,‘ भक्तपुरबाट एम्बुलेन्स आयो । शब लिएर गयो । किन पोष्टमार्टम गरिएन भन्नेबारे मलाई नसोध्नुस ।’ मन्त्रालयका एक उच्च अधिकृत भने संक्रमणको डरका कारण पोष्टमार्टम हुन नसकेको बताउँछन ।
कसरी भयो मृत्यु ?
जेठ १ गते राती साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमै उनलाई ल्याइएको थियो । त्यतिबेला सुत्केरीको स्वास प्रस्वास बन्द भइसकेकोले इमर्जेन्सी कक्षमा सिपिआर र इन्क्युवेट लगायतका प्रक्रियाहरु अपनाइएको अस्पतालले जानकारी दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार,ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार भएको थियो ।‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ ।’ डा. अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
परिवारले बताएका लक्षणहरु नोबल कोरोना भाइरससँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै आरडिटी हुँदा पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ । नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनलाई ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । उपचारपछिसमेत विभिन्न शारीरिक समस्या आएको थियो । बिहीबार थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो ।
डिष्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्य एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले अस्पतालको गेटमै पुग्दाखेरि नै सुत्केरीको मृत्यु भइसकेको र उनको शव अस्पतालमै राखिएको बताए । मृतकको स्वाब (आरटी पिसिआर )परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाइएको डा झाले जानकारी दिए ।
महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकल, सुरक्षा गार्डलाई समेत क्वारेन्टिनमा राखिएको डा झाले बताए । धुलिखेल अस्पतलले ईमरजेन्सि सेवामा सिल गरेको छ । अहिले अस्पताल वरपर आउने जानको लागि रोक लगाएको छ ।
शव व्यवस्थापनमा ढीलाई
कोभिड १९ का कारण मृत्यु भएका शव व्यवस्थापन सम्बन्धी कार्यविधि ,०७६ अनुसार, शबलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्नेस्थलमा पुराउनु पर्छ ।तर, महिलाको विहिबार निधन भएपनि दुई दिन पछि शनिवार साँझ मात्र काठमाडौं ल्याइएको छ ।
मृत्यु भएको बिषयमा धुलिखेल अस्पतालमा स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनी सहितको टोलीले छलफल गरेको छ । शनिबार दिउसो मन्त्रालयबाट डा लोहनी र डा. दीपेन्द्र रमण सिहं सहितको टोलीले अस्पतालमै पुगेर सुत्केरी मृत्युको बिषयमा थप छलफल गरेको हो ।
उनको शवलाई काठमाडौं ल्याउनको लागि जिल्लामा शव बाहन नभएकोले ढीलाई भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए । छिमेकी जिल्ला भक्तपुरबाट शव बाहन ल्याएर काठमाडौं लैजाने तयारीको व्यवस्थापनका क्रममा शव उठाउन ढीलाई भएको थियो ।
उच्च सतर्कताका साथ सदगत
शनिवार राती काठमाडौंमा उनको शवलाई ल्याइएको थियो । उनको शव विद्युतीय शवदाह सदगत गर्ने डा. झाले बताए ।
कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिको शव जथाभावि सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ । शवलाई कम भन्दा कम चलाउनु पर्छ । शवलाई डिसइन्फेक्ट गर्नु आवश्यक छैन ।शव लिएर काठमाडौं आएका चालक र कर्मचारीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)को प्रयोग गरेका थिए ।
शिशुमा भाइरस नेगेटिभ
सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ। मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य डा. नरेन्द्र झाले बताए। उनका अनुसार १० दिनकी सुत्केरीको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका आफन्तको परीक्षणका लागि शनिबार स्वाब सङ्कलन गरी आइसोलेशनमा राखिएको थियो ।
मृतकका आफन्तको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पुनः १४ दिनको क्वारेन्टाइनमा राख्नेगरी पठाउन लागिएको झाले जानकारी दिए। गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पतालमा पुर्यालइएकी ती महिलाको केही समयपछि नै मृत्यु भएको थियो। मृतक परिवारका सदस्यले नै ती महिलाको स्वासप्रस्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस संक्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पुर्यांएका थिए ।
मृतकका परिवारले चिकित्सकलाई वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि ती महिलाको स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए। धुलिखेल अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्या्िपड डाइग्नोष्टिक टेष्ट आरडिटी गरी धुलिखेल ल्याइएको बताए। उनका अनुसार धुलिखेल अस्पतालमा पिसिआर परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।
शनिबार साँझ स्वास्थ्य मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो। मन्त्रालका अनुसार कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो ।

