काठमाडौं । मुलुकमा कोरोना भाइरस (कोभिड —१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट आएका ३५ वर्षिय युवाको जेठ १० गते ज्यान गएको हो । कोरोना संक्रमणको पुष्टि जेठ १५ गते भएको छ ।
अर्घाखाँचि जिल्लाको भूमिकास्थान नगरपालिकाका ती युवाको जेठ १० गते मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, उनको भारतबाट घर फर्कने क्रममा बाटोमा ज्यान गएको हो ।
रोजगारीका सिलसिलामा भारत गएका ती युवाको नेपाल प्रवेशभएसँगै नमूना संकलन गरिएको थियो । उनको जेठ ११ गते नमूना संकलन गरिएको थियो । पाँच दिनपछि कोरोना पोजेटिभको पुष्टी भएको डा. देवकोटाले जानकारी दिए । परीक्षणको पोजिटिभ रिपोर्ट बिहीबार मात्र आएको थियो । मृत्युभएसँगै उनको जिल्ला सदरमुकाम सन्धिखर्कमा अन्त्येष्टि गरिएको थियो । उनको सम्पर्कमा रहेका केहिलाई क्वारेन्टाइनमा राखिएको छ । कतिपयको कन्ट्रयाक्ट टे«सिङको कार्य भइरहेको डा. देवकोटाले बताए ।
योसँगै जेठ महिनाको दुई सातामा ६ जनाको ज्यान गएको छ । संक्रमणबाट मृत्यु भएकी पहिलो व्यक्ति सिन्धुपाल्चोककी महिला हुन । २९ वर्षिया ती महिलाको जेठ १ गते निधन भएको थियो । त्यस्तै, मृत्यु भएका दोस्रो व्यक्ति बाँकेका युवा हुन । उनको जेठ ४ गते स्थानीय क्वारेन्टाइनमा ज्यान गएको थियो । त्यस्तै तेस्रो संक्रमित गुल्मिका शिक्षकको उपचारका क्रममा जेठ ८ गते ज्यान गएको थियो । चौथो बारा वृद्धकोे कोरोना भाइरसबाट मृत्यु भएको पुष्टी जेठ १२ गते मात्र गरिएको थियो । पाँचौं मृत्यु हुने व्यक्ति ललितपुरका बासिन्दा हुन । ललितपुर महानगरपालिका ५६ वर्षिय व्यक्तिको उपचारका क्रममा गत बुधबार ज्यान गएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले संक्रमण समुदायमा तहमा बढ्दै गए मृत्य हुनेको संख्यामा वृद्धि आउने बताए । उनले भने,‘ ज्येष्ठ नागरिक र दीर्घ रोगीमा संक्रमण देखिए जोगाउन धौ धौ हुने छ । बेलैमा सचेत र सतर्कता अपनाउनु पर्ने आवश्यकता छ । ’ हालसम्म मुलुकका ५२ जिल्लामा संक्रमण फैलिएको छ ।
एकैदिन १ सय ७० संक्रमित
शुक्रबार एकै दिन १ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रवक्ता देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन १६५ पुरुष र ५ महिलामा कोरोना पुष्टि भएको हो ।
हालसम्म कुल संक्रमितको संख्या १ हजार दुई सय १२ पुगेको छ । संक्रमित मध्ये १ हजार १ सय ३ जना जना पुरुष छन । ९ जना महिला रहेका छन । कोरोना भाइरसबाट संक्रमण भएपनि उपचारपछि निको हुनेको संख्या २सय ६ पुगेको छ । डिस्चार्ज हुनेमा १ सय ६२ जना पुरुष र ४४ महिला छन् ।
कति भयो परीक्षण ?
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ वटा परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार चार सय ४४ नमूना परीक्षण गरिएको छ। शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २ सय ३८ र आरडीटी विधिबाट ३ हजार ४सय ४४ नमुना परीक्षण गरिएको छ। प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् ।संक्रमितको संख्या बढिरहेकोले होम क्वारेन्टाइनको अवस्था आउन सक्ने डा. देवकोटाले बताए ।
एक हजार आइसोलेसनमा
संक्रमितको संख्या बढेसँगै १ हजार जनाको अस्पतालको आइसोलेसनमा उपचार भइराखेको छ ।
प्रदेश नं १ मा एक सय २७ , प्रदेश नं २ मा तीन सय ८७, बागमतिमा २२, गण्डकि प्रदेशमा १८, प्रदेश नं ५ मा ३ सय ८३, कर्णाली प्रदेशमा ४७ र सुदुरपश्चिम प्रदेशमा १६ जनाको उपचार भइरहेको छ ।

