काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छन् ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् ।बीस वर्षभन्दा लामो समय पत्रकारिता गरेका खनाल अनुसन्धानकर्ता समेत हुन्। द राइजिङ नेपाल र द काठमाडौं पोस्टमा संवाददाताका रूपमा काम गरेका खनाल अंग्रेजी अखबार ‘द हिमालयन टाइम्स’ र अनलाइन ‘उकालो डटकम’ का प्रधानसम्पादक रहिसकेका छन्।
पत्रकारिता छाडेपछि खनालले राजनीतितर्फ रूचि देखाएका थिए।
२०७३ सालमा बिबिसी नेपाली सेवा छाडेर पत्रकार रविन्द्र मिश्रले साझा पार्टी स्थापना गर्दा खनाल पनि उक्त सात सदस्यीय टिमको सदस्य थिए।
उक्त पार्टीमा खनालसहित पूर्वसचिव किशोर थापा, चिकित्सक सरोज धिताल, इन्जिनियर सूर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादव सुरूआती टिममा थिए।
साझा पार्टी स्थापना गर्दा टिममा रहेका अधिवक्ता ओमप्रकाश अर्याल अहिले गृहमन्त्री छन्। गृहमन्त्री अर्यालले नै खनाललाई प्रधानमन्त्री कार्कीको मुख्य सल्लाहकारमा नियुक्ति गर्न सुझाएको स्रोतले जनाएको छ।
खनालका पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छ। उनका बुबा श्रीभद्र शर्मा खनाल नेपाली कांग्रेसका पूर्व महामन्त्री हुन्। श्रीभद्र शर्मा नेपाली कांग्रेसका संस्थापकमध्ये एक हुन्। नई एकडेमीमा प्रकाशित शर्माको जीवनी अनुसार शर्माले नै नेपाली कांग्रेसको नामाकरण गरेका थिए।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि पार्टीको नाम ‘नेपाली कांग्रेस’ राखिएको थियो।
बिपी कोइराला २०१५ सालमा प्रधानमन्त्री नियुक्त भएपछि पार्टीको जिम्मेवारी शर्मालाई नै दिइएको थियो। कोइरालाले उनलाई महामन्त्री समेत बनाएका थिए।
राजा महेन्द्रले सत्ता हातमा लिएपछि शर्मा जेल परेका थिए। पछि उनले कांग्रेस परित्याग गरेका थिए र सरकारका मन्त्री समेत भएका थिए।
अजयभद्र खनाल पछिल्लो समय राजनीतिकसँगै विभिन्न अध्ययन-अनुसन्धानमा संलग्न थिए।
उनी पछिल्लो समय पूर्वराजदूत विजयकान्त कर्ण नेतृत्वको सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिइएसआइफ) मा अनुसन्धान निर्देशकका रूपमा कार्यरत थिए।
उक्त संस्थाले भूराजनीतिक विषयलाई केन्द्रित गरेर विभिन्न अध्ययन गर्दै आएको छ।
संस्थाको वेबसाइटमा उपलब्ध प्रकाशनको सूचीअनुसार नेपालका विभिन्न क्षेत्रमा चिनियाँ संलग्नताको विषयमा धेरै अध्ययन गरेको देखिन्छ।
नेपालका पूर्वाधारमा चिनियाँ संलग्नता, नेपालको नागरिक संस्थामा चिनियाँको गैरसरकारी संस्था र सफ्टपावर, आर्टिफिसियल इन्टेलिजेन्स र कूटनीति: नेपालको एआई कूटनीति, उत्तरतर्फको रोकिएको बाटो, नेपालमा बिआरआईको अध्ययन, नेपाली मिडियामा चिनियाँ प्रभाव, नेपालको सीमा क्षेत्रमा साना लगानीका वैदेशिक सहयता लगायत विषयमा संस्थाले अध्ययन गरेको छ।
उनले एसिया फाउन्डेसन लगायत संस्थाको सहयोगमा सञ्चालित ‘नेपाल ट्रान्जिसन टू पिस’ को कार्यकारी निर्देशकका रूपमा समेत काम गरेका थिए।
त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव
आदर्शकुमार श्रेष्ठ
नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन् ।नेपालको न्यायपालिकामा लामो समय काम गरेका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा
गोविन्दनारायण तिमिल्सिना
नियुक्त भएका छन् । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

