काठमाडौंः ‘मुटु हाँसे जीवन हाँस्छ, मुटु रोए जीवन रुन्छ’ यी हरफ वीर अस्पतालका कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीले ‘मुटु र जीवनको नाता’ शीर्षकको कवितामा लेखेका छन् । मुटुलाई स्वस्थ बनाउन वा हँसाउन सक्नेको जीवन हाँसिरहेको छ । व्यस्त र अस्वस्थकर जीवनशैली अपनाउनेको मुटु बिगिँदै गएको पाइन्छ । मुटुको समस्या लिएर अस्पताल जानेहरूको संख्या बढ्दै छ ।
मुटुको अस्पताल खोल्ने र स्वास्थ्य सेवाको व्यापार गर्ने पनि बढ्दै छन् । मुटुरोग भनेको सामान्यतया मुटुमा आउने कुनै पनि समस्या हुन । जसको तत्कालै समाधान खोजे निको हुन्छ । बेवास्ता गरे दीर्घकालीन समस्याका रूपमा रहन्छ । पछिल्लो समय हरेक घरमा मुटुका बिरामी देखा पर्न थालेका छन् र त्यो संख्या बढ्दो छ ।
विश्व मुटु महासंघका अनुसार संसारभर बर्सेनि एक करोड ७५ लाख मानिस मुटुको कुनै न कुनै रोगबाट ग्रसित छन् । यीमध्ये विकासोन्मुख र अविकसित मुलुकमा बर्सेनि यो रोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी पाइन्छ । मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेका अनुसार करिब ६० वर्षपहिले संक्रामक रोगका कारण धेरैले ज्यान गुमाउँथे ।
तर अहिले मुटुलगायत नसर्ने रोगबाट ज्यान जानेको संख्या ठूलो छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल मुटुरोगबाट मृत्यु हुनेको संख्या विकसित मुलुकहरूमा करिब ५० प्रतिशत र विकासोन्मुख मुलुकहरूमा २५ प्रतिशत पुगेको छ । संगठनले सन् २०३० सम्ममा मुटु रोगबाट मात्रै विश्वभर मृत्यु हुनेको संख्या बर्सेनि दुई करोढ ५० लाख पुग्ने अनुमान गरेको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा कुल जनसंख्याको २० प्रतिशतलाई मुटुरोग भएको अनुमान छ । करिब ३० प्रतिशत वयस्क उच्च रक्तचापको समस्याबाट ग्रसित छन् । २० प्रतिशतलाई कोलेस्टेरोल छ । ६ प्रतिशतलाई मधुमेह छ । प्रतिष्ठानका अनुसार बालबालिकामा बाथ मुटुको रोग बढ्दो छ । नेपालका ९० प्रतिशत मानिसले मुटुमैत्री खाना नखाने गरेको पाइएको छ ।
मुटुमा विभिन्न प्रकारका रोगहरू देखा पर्न सक्छन् । नेपालीमा धेरै देखिएका केही मुटुरोगको चर्चा गरौं ।
जन्मजात मुटुरोग
कार्डियोलोजिस्ट डा. मृगेन्द्रराज पाण्डेका अनुसार जन्मजात मुटुरोग नेपाली बालबालिकामा धेरै देखिने गरेको छ । डा. पाण्डे भन्छन्’, जन्मजात मुटुरोग भएका शिशुको मुटु कमजोर बन्ने भएकाले चाँडै नै मुटुले काम गर्न छोड्छ र उनीहरूको मृत्यु पनि हुन सक्छ । नेपालका लागि यो ठूलो चुनौतीका रूपमा देखा परेको छ ।
अमेरिकी हर्ट एसोसिएनका अनुसार जीवित जन्मिने एक हजार शिशुमध्ये पाँचदेखि आठ जनालाई यो समस्या देखिने गरेको छ । विकसित राष्ट्रहरूमा पनि यो रोग भएका एक तिहाइ शिशुले जीवनको पहिलो वर्ष पूरा गर्न नपाएको पाइन्छ । जन्मजात मुटुको रोग भएका बच्चाहरूको मुटुका विभिन्न कोठाहरूबीचको पर्दा र रक्तनलीहरूमा प्वाल परेको हुन्छ ।
विश्व मुटु महासंघका अनुसार संसारभर बर्सेनि एक करोड ७५ लाख मानिस मुटुको कुनै न कुनै रोगबाट ग्रसित छन् । यीमध्ये विकासोन्मुख र अविकसित मुलुकमा बर्सेनि यो रोगबाट मृत्युहुनेको संख्या ८० प्रतिशतभन्दा बढी पाइन्छ ।
यसले गर्दा मुटुमा कतै रगत नपुग्ने र कतै धेरै हुने गर्छ । रगत नपुगेको भाग सुक्दै तथा बढी भएको भाग फुल्दै गएर मुटुले काम गर्न छोड्छ र बच्चाहरू मृत्युको मुखमा पुग्न सक्छन् । मुख्यतया जन्मजात मुटुको समस्या लिएर जन्मने शिशुहरूमा श्वासप्रश्वासको समस्या देखिने, शारीरिक वृद्धि एकदमै कम हुने, धेरबेर खेलेमा शरीर नीलो हुने, ज्वरो आउनेलगायत समस्या देखिन्छ । शिशुको अवस्था हेरेर कसैको शिशु अवस्थामै, कसैको स्कुल जाने बेलामा कसैको वयस्क भएपछि चिकित्सकले शल्यक्रिया गर्ने गरेका छन् । जुन सुविधा नेपालमै छ ।
बाथ मुटुरोग
नेपालमा विद्यालय जाने उमेरका बालबालिकामा बाथ मुटुको रोग देखा पर्ने गरेको छ । बाथ मुटुरोगबारे जनचेतना फैलाइरहेका डा. रेग्मीका अनुसार विद्यालय जाने उमेरका बालबालिकामा दोहोरिँदा ज्वरो र घाँटीको दुखाइ पटकपटक बाथ ज्वरो र बाथ मुटुरोग निम्त्याउँछ । घाँटीको सामान्य संक्रमणबाट सुरु हुने बाथ ज्वरोबाट बाथ मुटुरोग देखिने गरेको छ ।
उनी भन्छन्, ‘चिसो र गुम्सिएको ठाउँमा धेरैबेर बस्दा बाथज्वरो देखा पर्न सक्छ । बालबालिकाको कक्षाकोठा घाम र हावा राम्ररी पस्ने खालको हुनुपर्छ ।’ यो समस्याबाट नेपाली बालबालिका ग्रसित हुने क्रम बढ्दो छ । बाथ ज्वरो आएका ५० प्रतिशतभन्दा बढी बालबालिकामा मुटुका भल्भ खराब भइरहेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिएक लाख बालबालिकामध्ये सय जना यस रोगबाट पीडित छन् । दस प्रतिशत मृत्युको कारण यही समस्या हो । नेपालमा एक लाख बालबालिकामा प्रतिवर्ष तीन सयदेखि पाँच सय जनासम्म पीडित हुने गरेका छन् ।
हृदयाघात (कोरोनरी मटुको रोग)
औद्योगीकरण र जीवनशैलीको परिवर्तनसँगै हृदयाघातको समस्या बढ्दै गएको छ । विज्ञहरूले सन् २०३० सम्ममा हृदयाघात संसारकै मृत्युको पहिलो कारण बन्ने अनुमान गरेका छन् । नेपालमा सबैभन्दा धेरै हृदयाघातको समस्या देखिने गरेको छ । पछिल्लो समय यसले युवा उमेरका मानिसको पनि ज्यान लिन थालेको छ ।
सहिद गंगाल हृदय रोग केन्द्रका कार्डियालोजिस्ट डा. यादव भट्टका अनुसार मटुका मांसपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुँदा हृदयाघात हुने गरेको छ र सबैभन्दा धेरै मानिसको ज्यान लिने गरेको छ । नेपालमा यो रोगबाट ज्यान गुमाउने मानिसको संख्या बढ्दै गएको छ । विशेषगरी मोटोपनका समस्या भएका र अत्यधिक तनावयुक्त वातावरणमा काम गरिरहेका मानिसमा यो समस्या देखिन थालेको छ । यो विषयबारे संसारभरि नै बहस हुन थालेको समेत छ ।
मुटुरोगबाट मानिस ग्रसित हुने क्रम बढेसँगै यसका कारक तत्व केके हुन् र त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा चर्चा पनि हुन थालेको छ । मुटुरोगका मुख्य कारक तत्वबारे यस्ता छन्ः
गर्भवती सचेत नहुँदा
जन्मजातरूपमा हुने मुटुरोगको कारण अझै यकिन भइनसकेकाले यसबाट बच्ने उपायबारे पनि स्पष्ट हुन सकिएको छैन । तर पनि चिकित्सकहरू वंशाणुगत कारणले धेरै जसो यो रोग हुने बताउँछन् । गर्भवती महिलामा दादुरा, रुबेला, भाइरल ज्वरो धेरै देखिँदा र उनीहरूले सेवन गर्ने छारेरोग केही मानसिक रोगका औषधिहरूले पनि शिशुमा उक्त समस्या निम्तिन सक्छ ।
उच्च रक्तचाप
ग्रान्डी इन्टरनेसनल हस्पिटलका कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिल उच्च रक्तचापका कारण लाखौं मानिसले मुटुको रोग बोक्नु परेको छ । त्यसमा युवाको जमात धेरै छ । मुटुको धमनीमा रगतको प्रवाहमा अवरोध आउँदा हृदयाघात हुने गरेको छ । कतिपयलाई वंशानुगत रूपमै उच्च रक्तचापको समस्या देखिन सक्छ भने कतिपयलाई अस्वस्थकर जीवनशैलीका कारण निस्कने गर्छ । मिर्गौलामा समस्या भएका, थाइराइड भएका, नुनचिनी अत्यधिक प्र्रयोग गर्ने, मधुमेह, अल्कोहललगायतको सेवन गर्नेहरूमा उच्च रक्तचापको समस्या देखिन्छ ।
मोटोपन
मोटोपन अहिले आम मानिसको समस्या बनेको छ । मोटोपनको विकसित मुलुकका लागि मात्र नभई विकासोन्मुख मुलुकमा पनि समस्या बन्दै गएको छ । नेपालका सहरी क्षेत्रमा बालबालिकाले खाने जंकफुडले मोटोपनको समस्या ल्याइरहेको छ । उमेर बढ्दै जाँदा उनीहरूमा मुटुको विभिन्न समस्या देखिने चिकित्सक बताउँछन् । जुन अध्ययनले समेत पुष्टि गरेको छ । सामान्यतया मुटुको रोग युवा अवस्थामा पुगेपछि देखिने भए पनि पछिल्लो समयमा दुई वर्षदेखि १२ वर्ष उमेरका बालबालिकामा यसको खतरा देखिन थालेको नेदरल्यान्डमा हालै गरिएको एक अध्ययनले देखाएको हो ।
थाइरोड, मधुमेह र मुटुरोग
थाइरोडको समस्याले मुटुको चाल असामान्य हुनुका साथै हृदयरोगको सम्भावना बढाउँछ । हालै भएको अध्ययनले अकस्मात हृदयाघात भएर हुने मृत्युलाई पनि थाइरोडबाट हुने समस्यामा जोडेको छ । अध्ययनअनुसार सामान्य अवस्थामा रहेको भनिएको थाइरोड हार्मोनको स्तर माथि छ भने अकस्मात हृदयाघात भएर मृत्यु हुन सक्ने सम्भावना हार्मोनको स्तर तल भएकाहरूभन्दा चार गुणाले बढ्छ ।
यसअघि अकस्मात हुने हृदयाघातपछिको मृत्युलाई हृदयरोगसँग जोडिएका अन्य कारकहरू जस्तै शरीरमा बढी कोलेस्ट्रोलको मात्रा, उच्च रक्तचाप आदिसँग जोडेर हेरिन्थ्यो । मधुमेहका कारण पनि मुटुमा समस्या आउन थालेको छ । मधुरोग विशेषज्ञ डा. ज्योति भट्टराईका अनुसार रगतमा ग्लुकोजको मात्रा बढी भएपछि हुने रोग नै मधुमेह हो ।
इन्सुलिन हर्मोनको अनियमितता हुँदा मधुमेह हुन्छ । इन्सुलिनले कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनीको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा शरीरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुन जान्छ । यसमा असन्तुलन पैदा हुँदा मुटुमा पनि समस्या ब्ढ्दै जान्छ ।
शारीरिक निष्क्रियता
शरीरलाई निष्क्रिय बनाउने अर्थात् शारीरिक व्यायाम गर्न झन्झट मान्दा मुटुका अनेकौं समस्या निम्तिन सक्छ । चिकित्सकले सबैभन्दा धेरै जोड दिने विषय यही हो । उनीहरू भन्छन्, ‘शरीर जति फुर्तिलो बनाउन सक्यो त्यति नै मुटु रोगबाट टाढा रहन सकिन्छ ।’ दिनभरि कुर्सी-टेबुलमा बसेर काम गर्ने, टीभी हेर्ने, किताब पढ्ने, कम्प्युटरमा काम गर्ने, भिडिओ खेलमा अल्मलिने, मोबाइल फोनका कार्यक्रम चलाइरहने ‘स्क्रिन टाइम’ मा घन्टौंसम्म अल्मलिने र तास वा चेस खेल्नेजस्ता जीवनशैली लामो अवधिसम्म अपनाउँदा शरीरमा अनेकौं विकार पैदा हुन्छन् । बिहान-बेलुकी हिँड्ने वा व्यायाम नगर्ने हो भने हाम्रो शरीर नै रोगको घर बन्नपुग्छ । यसको असर मुटुलाई नै पर्छ । कम्तीमा बिहान वा साँझ आधा घन्टा शारीरिक व्यायाम गर्न सकियो भने त्यसले शरीरमात्र होइन मन पनि फुर्तिलो बनाउँछ ।
तनाव
अहिलेका मानिसका दैनिकी भागदौडमै बित्ने गरेको छ । सधैं व्यस्त रहने भएकाले अनेकौं जिम्मेवारी पनि उनीहरूलाई थपिएको छ । दैनिक अनेकौं समस्या सुल्झाउन परेको छ । जसका कारण उनीहरू तनावमय जीवन बिताउन बाध्य छन् । मुटुरोगको सामना पनि उनीहरूलै गर्नु परेको छ । डा. पाण्डे अहिलेको अति व्यस्त जीवनले अनेकौं किसिमको तनाव सिर्जना गरेको बताउँछन् । मानिसको निद्रा हराएको छ । राम्रो निद्रा नपर्दा मानिस तनावमा पर्ने गर्छ र उसको मुटुमा असर पुग्न थालेको छ । चिकित्सकहरू तनावमुक्त जीवन जिउन हौस्याइरहेका छन् ।
अस्वस्थकर खानाको बढ्दो प्रयोग
स्वस्थ खानाको अभावले मानिसमा मुटुको समस्या धेरै देखिन थालेको छ । अत्यधिक भुटेको, तारेको माछामासु, चिल्लो पिरो खाना दैनिक खाने, व्यस्तताको नाममा जंकफुड, कोल्ड ड्रिङ्स, आल्कोहलको अत्यधिक प्रयोगले मानिस मुटुरोगबाट ग्रसित हुन थालेका छन् ।
मुटुरोगका लागि जोखिम तत्वहरू कोलेस्टेरोल, धूमपान गर्ने बानी पनि हुन । यस्ता समस्या भएका मानिसले समयमै चिकित्सकको सल्लाह लिन जरुरी छ।
मुटुरोगका लक्षणहरू
.छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने
. धेरै पसिना आउने
. सास फेर्न कठिनाइ हुने
. वाकवाक लागिरहने
. बोल्दा कठिनाइ हुने, जिब्रो लर्बरिने
. शरीरको कुनै अंगले काम गर्न छाड्ने
. हात झमझमाउने तथा चेतनाविहीन बन्ने
. खुट्टा सुनिने
.रिंगटा लाग्ने
. आलस्य भई कमजोरी हुने
. कुनै काम नगरेको अवस्थामा पनि स्वाँ स्वाँ हुने
. पिसाब कम हुने
मुटुरोगको उपचार विधि
मुटुरोगको उपचार विभिन्न तरिकाले गर्न सकिन्छ । सहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक एवं कार्डियोसर्जन डा. जोतेन्द्र शर्माका अनुसार मुटुका समस्या भएका मानिसको औषधि, क्याथ ल्याब वा शल्यक्रियाबाट उपचार गर्ने गरिन्छ ।
पहिलो स्टेजमा आएका बिरामीको सामान्यतया औषधि खुवाएर रोग निको पार्ने कोसिस गरिन्छ । अलि धेरै समस्या बोकेर आएकालाई क्याथ ल्याबका विधि अपनाएर उपचार गरिन्छ र गम्भीर प्रकृतिका मुटुरोगका बिरामीको शल्यक्रिया गरिन्छ । यी सबै सेवा नेपालमै उपलब्ध छन् ।
अन्तर्राष्ट्रिय मुलुकमा मुटु नै प्रत्यारोपण गर्ने प्रविधिको विकास भइसकेको छ । पछिल्लो समय सबैभन्दा धेरै चिन्ताको विषय हृदयाघातको बनेको छ । उपचारका लागि एन्जियोप्लास्टी वा बाइपास सर्जरीको आवश्यकता पर्ने गरेको चिकित्सक बताउँछन् ।
शल्यक्रिया नगरी ‘मुटुको प्वाल’ टाल्ने प्रविधि
बालबालिकामा मुटुको प्वाल जन्मजात हुनेगर्छ। जन्मदै मुटुमा देखिने रोगलाई ‘जन्मजात मुटुरोग’ भन्ने गरिन्छ। बालबालिकामा देखिने मुटुरोगहरुमध्ये धेरैमा मुटुमा प्वालको समस्या देखिन्छ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा. चन्द्रमणि अधिकारी अनुसार मुटुमा विभिन्न प्रकारका प्वालहरु हुने गर्छन्। मुटुको माथिल्लो कोठामा हुने प्वाल, मुटुको तल्लो कोठामा हुने प्वाल र मुटुबाट फोक्सोमा जाने धमनी, मुटुबाट शरीरमा जाने धमनीको बीचमा हुने प्वाल हुन्छन्।
मुटुमा हुने प्वालको समस्या यहि समयमा देखिन्छ भन्ने कुनै आधार नभएको डा. अधिकारी बताउँछन्। ‘यो समस्या यहि समयमा देखिन्छ भन्ने हुँदैन। हाम्रोमा धेरैजसो जाँच गर्न आउने भन्ने हुँदैन। समस्या देखिएपछि मात्र जाँच गर्न आउनुहुन्छ। त्यसपछि मात्र थाहा हुन्छ। हामीले ७२ वर्षको व्यक्तिको समेत मुटुको प्वालको अपरेसन गरेका छौं’, उनले भने।
नेपालमा मुटुमा हुने प्वालको उपचार पहिला चिरफारबाट हुने गर्दथ्र्यो। धेरैजसो छातिबाट चिरेर यसको उपचार गर्ने गरेको अधिकारीले बताए। उक्त उपचार विधिलाई विस्थापित गर्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले अहिले ‘ट्रान्स क्याथेटर डिभाइस क्लोजर’ प्रविधिलाई कार्यन्वयनमा ल्याएको छ।
शल्यक्रिया विना नसाबाट तार छिराएर समस्या ग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धतिलाई ‘ट्रान्स क्याथेटर डिभाइस क्लोजर’ भनिन्छ। अहिले यो प्रविधिबाट मुटुमा परेको प्वाल टाल्ने तथा खुम्चिएका धमनी खुलाउने गरिन्छ।
हृदय केन्द्रले सन् २००७ देखि यो प्रविधिबाट उपचार गर्दै आइरहेको छ। केन्द्रले सन २००७ देखि सो प्रविधिबाट उपचार गर्दै आएपनि सन २०१६ बाट उपचार गर्ने बिरामी बढेको अधिकारी बताउँछन्।
‘छातिबाट चिरेर गरिने अपरेशनले छातिमा दाग देखिन्छ। त्यसलाई बिरामीहरुले केहि असहजताको रुपमा लिन्थे। छातिमा भएको दाग बाहिरै देखिने भएर पनि होला। तर यो प्रविधिबाट उपचार गर्दा त्यस्तो केहि दाग हुँदैन्। त्यसैले बिरामीहरुलाई पनि सजिलो भएको छ’, अधिकारीले भने।
ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट उपचार गर्दा बिरामीहरु अपरेशन गरेको भोलिपल्ट घर जान सक्छन्। अपरेशन गरेको १ महिना पछि आफ्नो नियमित काम गर्न सक्छन्। अपरेशन गर्दा बिरामीलाई बेहोश पार्न पर्दैन।
चिरफार गरेर गर्ने अपरेशनमा बिरामीलाई बेहोश बनाउनुपर्छ। अपरेशन गरेको ५,६ दिनसम्म अस्पतालमा बस्नुपर्छ भने पहिलेकै अवस्थामा फर्किन २,३ महिना लाग्छ।
हृदय केन्द्रले ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट बार्षिक करिब ४ सय ५० बढीको मुटुको प्वालको उपचार गरिरहेको छ। यो प्रविधिबाट उपचार गर्दा चिरफार नगर्ने हुँदा थप सुरक्षित हुने अधिकारी बताउँछन्। ‘अस्पताल धेरै बस्न पर्दैन्। चाडै आफ्नो दैनिकीमा फर्किन सकिन्छ’ उनले भने।
हृदय केन्द्रमा हरेक वर्ष २ सय ७५ जनालाई ट्रान्स क्याथेटर डिभाइस क्लोजर प्रविधिबाट नै मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया (एसडी डिभाइस क्लोजर) गरिन्छ। सोही प्रविधिबाट मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया (भीएसडी डिभाइस क्लोजर) वार्षिक एक सय जनाको गरिन्छ। त्यस्तै मुटुबाट फोक्सोमा जाने धमनी, मुटुबाट शरीरमा जाने धमनीको बीचमा हुने प्वाल टाल्ने शल्यक्रिया (पीडीए डिभाइस क्लोजर) पनि एक सय जनामा गरिन्छ।
केन्द्रले मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया एसडी डिभाइस क्लोजरबाट सन् २००७ देखि २०१५ सम्म १ सय ७४ जनाको गरेको छ।
सन् २०१६ देखि भने यो शल्यक्रिया गराउनेको संख्या बढेको छ। सन २०१६ मा १ सय २३, सन् २०१७ मा १ सय ६०, सन् २०१८ मा २ सय ५१, सन् २०१९ मा २ सय ४५, सन् २०२० मा १ सय, सन् २०२१ म २ सय ३६ र सन् २०२२ मा २ सय ७४ को एसडी डिभाइस क्लोजरबाट मुटुको माथिल्लो कोठामा परेको प्वाल टाल्ने शल्यक्रिया भएको छ।
त्यस्तै पीडीए डिभाइस क्लोजरबाट मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया सन २००७ देखि सन २०१५ सम्म ५५ जनाको गरिएको केन्द्रले जनाएको छ। सन् २०१६ मा ४३, सन् २०१७ मा १०९, सन् २०१८ मा १५३, सन् २०१९ मा ११५, सन् २०२० मा ७२, सन् २०२१ मा ९८ र २०२२ अक्टोबरसम्ममा १२४ जनाका मुटुको तल्लो कोठाको प्वाल टाल्ने शल्यक्रिया गरिएको छ।
ट्रान्स क्याथेटर डिभाइस क्लोजर गर्न सक्ने अस्पताललाई मुटुरोगको उत्कृष्ट अस्पताल मानिन्छ। नेपालमा गंगालाल हृदय केन्द्रमा मात्र यो शल्यक्रिया गरिन्छ। केन्द«मा अहिले यो शल्यक्रिया गर्ने ६ जना विशेषज्ञ छन्। यो संख्यालाई अझै बढाउदै लैजाने अधिकारी बताउँछन्।
कसरी स्वस्थ राख्ने त मुटुलाई
मुटुलाई माया गर्नु भनेको पूरै शरीरलाई माया गर्नु हो । सबैभन्दा पहिले मानिस तनावमुक्त वातावरणमा बाँच्नुपर्छ र त्यसका लागि उपायको खोजी गर्नुपर्छ । मुटुरोग निम्ताउने जे जति कारक तत्वको चर्चा गर्यौं त्यसबाट टाढा रहनु नै मुटुरोगबाट बच्नु हो । हामीले बिर्सेका हाम्रै संस्कृति र परम्पराका राम्रो स्वास्थ्यवद्र्धक कुराहरूलाई जीवनमा अपनाउने हो । डा. रेग्मी भन्छन्, ‘आंशिक शाकाहारी, कम कार्बोहाइड्रेट र बढी फाइवरयुक्त आहार, धूमपान त्याग, योगासन, ध्यान, तनावमुक्ति, सकारात्मक चिन्तन र मायाप्रेम नै मुटुरोगबाट बच्ने प्रमुख उपाय हुन् ।’
विश्व मुटु महासंघको सन्देश
.आफ्नो मुटु कति खतरामा छ भन्ने थाहा पाउन नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
. स्वास्थ्य परीक्षण गराउँदा रक्तचाप, रगतमा ग्लुकोज, कोलेस्टेरोल जाँच गर्ने र पेटको नाप र मोटोपनबारे जानकारी लिनुपर्छ ।
. आफूलाई रहेको खतराबारे जानकारी पाएपछि स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिनुपर्छ ।
. हृदयाघातको लक्षण नदेखिन पनि सक्छ । त्यसका लागि नियमित रक्तचाप जाँच गर्नुपर्छ । बढी भएको जानकारी पाउनासाथ त्यसको नियन्त्रणमा लाग्नुपर्छ ।
. नियमित व्यायाम गर्ने, नुन चिल्लो र चिनी कम खाने, चुरोट, सूर्ती नखाने र मोटो पनि नियन्त्रणमा राख्ने काम आफैंले गर्नुपर्छ ।
. मानसिक तनावबाट टाढा रहनुपर्छ ।
. दैनिक प्रशस्त फलफूल र हरियो तरकारी खानुपर्छ ।
. तरकारी र फलफूलमा विषादी र रसायनको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ ।
. युरिक एसिड बढेकाहरूले खानामा ध्यान दिनुपर्छ ।

