नयाँदिल्ली – भारतको प्रयागराजस्थित विशेष अदालतले करिब डेढ दशकअघि विवादास्पद रामजन्मभूमि–बाबरी मस्जिदमा भएको आतंकवादी हमलाका पाँच दोषीहरूमध्ये चारलाई आजीवन कारावास सजाय सुनाएको छ । अदालतका विशेष न्यायाधीश दिनेश चन्द्रले सन् २००५ मा रामजन्मभूमि–बाबरी मस्जिदमा भएको आक्रमणमा संलग्नका दोषीहरूमध्ये चार जनालाई आजीवन कारावाससँगै प्रत्येकलाई २ लाख ४० हजार भारु जरिवानासहितको सजाय सुनाएको छ । करिब डेढ दशक लामो न्यायिक प्रक्रियापछि अदालतले २०७६ साल असार ३ मंगलबार फैसला सुनाएको हो । मुद्दाको अन्तिम सुनुवाइ दुई वर्ष पहिले नै सकिएको थियो ।
हमलामा दुई सर्वसाधारण र पाँच सुरक्षाकर्मीको मृत्यु भएको थियो । साथै सात सुरक्षाकर्मी घाइते भएका थिए । त्यसैगरी पाँच शंकास्पद आतंकवादीमा सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएका थिए । घटनामा संलग्न भएको आरोपमा उत्तरप्रदेश प्रहरीले इरफान, आशिक इक्बाल, शकिल अहमद, मोहम्मद नसिम र मोहम्मद अजिजलाई पक्राउ गरेको थियो । अदालतले मंगलबारको फैसलामा मोहम्मद अजिजबाहेक बाँकी चारै जनालाई उक्त सजाय सुनाएको हो । अजिजलाई भने अदालतले निर्दोष ठहर गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ५ जुलाई २००५ मा जैसए मोहम्मद (जेएम) समर्थित हतियारधारी आतंकवादीहरू बिहान करिब साढे आठ बजे अति कडा सुरक्षा घेरामा रहेको रामजन्मभूमि–बाबरी मस्जिद क्षेत्र प्रवेश गरेका थिए । तीर्थालुको भेषमा आएका उनीहरू सुरक्षा घेरा तोड्दै भाडामा लिएको जिपमा बसेर अयोध्याको रामजन्मभूमि स्थलमा जबर्जस्ती प्रवेश गरेका थिए । जहाँ उनीहरूले ग्रिनेड प्रहार गर्नुका साथै अन्धाधुन्ध फायरिङ गरे । ग्रिनेड प्रहारबाट एक जनाको तत्कालै मृत्यु भएको थियो । त्यसपछि सुरक्षाकर्मीसँग भएको करीब एक घण्टा लामो भिडन्तमा पाँचै जना आतंकवादीको मारिएका थिए । घटनामा केही सुरक्षाकर्मीसमेत गम्भीर घाइते भएका थिए । प्रहरीले घटना स्थलबाट एके ४७, कार्बाइन राइफललगायतका अत्याधुनिक हतियार फेला पारेका थियो ।
प्रहरीले करिब एक महिनापछि घटनामा संलग्न भएको आशंकामा आसिफ इक्वाल, मोहम्मद अजिज, मोहम्मद नसिम, शकिल अहमद र इरफान खानलाई पक्राउ गरेको थियो । इरफान उत्तरप्रदेशको शहरानपुर जिल्लाका र बाँकी चार जना जम्मको पुँछ जिल्ला निवासी हुन् ।

