काठमाडौं । मुलुकभरका डाक्टरको छाता संगठन नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणीको तीनवर्षे कार्यकालका लागि चिकित्सकहरु सधै दुई प्यानलमा उम्मेदवारी दिने गरेका छन् । आगामी ६ र ७ माघमा उपत्यका बाहिर र १९, २० र २१ माघमा काठमाडौँ उपत्यका भित्र हुने निर्वाचनमा पनि दुई प्यानलमा उम्मेदवारि दिने तयारी भइरहेको छ ।
नेकपा एमालेले डा सन्तोष पौडेललाई अध्यक्ष पदमा उठाउने भएको छ । त्यस्तै महासचिव पदमा डा रक्षा श्रेष्ठले उम्मेदवारी दिने जनाइएको छ । एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघको शनिबार बसेको बैठकले अध्यक्ष र महासचिवमा उठने उम्मेद्धारको टुंगो लगाएको हो । अध्यक्षमा प्रस्तावित डा. पौडेल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हाडजोर्नी विशेषज्ञको रुपमा कार्यरत छन् । यस्तै डा. श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । उनी त्रिवि शिक्षण अस्पताल अन्तरर्गतको सुरेश वाग्ले मेमोरियल क्यान्सर सेन्टरमा कार्यरत छिन् ।
त्यस्तै नेपाली काँग्रेस निकट चिकित्सकहरु पनि आफ्नो प्यानलकोलागि उम्मेदवारको तय गर्दैछन् । प्रजातान्त्रिक प्यानलबाट अध्यक्षका लागि प्राध्यापक डा. भुपेन्द्र कुमार बस्नेत, डा.अनिलविक्रम कार्की र डा. बद्री रिजालको नाम चर्चामा छ । डा. बस्नेत ग्यास्ट्रो सोसाईटीको महासचिव, बस्नेत फिजिसियन एसोशिएसन (साइमन) को उपाध्यक्ष र अमेरिका नेपाल मेडिकल एसोशिएसनको पूर्व अध्यक्षको रुपमा कार्य गरेको अनुभव छ । डा. रिजाल संघको महासचिव हुन् । डा. कार्की प्रजातन्त्रबादी चिकित्सक संघका अध्यक्ष हुन् । संघको अध्यक्ष देखि सदस्यसम्मका लागि उम्मेद्धारी दर्ता गर्न सोमबारसम्मको समयावधी तोकिएको छ ।
अघिल्लो कार्यकालकोलागि भएको चुनावी प्रक्रियामा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसनिकट चिकित्सकहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । लोकतान्त्रिक समूहबाट अध्यक्षमा लोचन कार्की र प्रगतिशील पेसागत समूहबाट पुष्पमणि खरालले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी दर्तासँगै दुवै समूहले मधेसकेन्द्रित दलनिकट र स्वतन्त्र चिकित्सकको मत आफ्नोतर्फ तान्न पहल थालेका थिए । प्रमुख चुनाव अधिकृत बाबुराम मरासिनीका अनुसार महासचिव पदका लागि बद्री रिजाल, अजयकुमार मिश्र, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले उम्मेदवारी दिएका थिए । संघको केन्द्रीय कार्यकारिणी समितिको ०७६–७९ कार्यकालका लागि ३१ जना चिकित्सकले उम्मेदवारी दर्ता गराएका थिए।
चिकित्सक संघ ००७ सालको राजनीतिक परिवर्तनपछि स्थापित पहिलो पेसागत संगठन हो । संघमा हाल ९ हजार ८ सय ९० मतदाता छन् । उम्मेदवारहरूलाई चुनाव प्रचार गर्न एक महिनाजति समय दिइएको छ ।

