कांग्रेस, एमाले र माओवादी केन्द्रकै उम्मेदवार छैनन्
नेपालगन्ज– ०४८ यताका हरेक निर्वाचनमा बाँके २ को प्रतिस्पर्धा चर्चामा रह्यो । हार होस् वा जित, कांग्रेसका दिवंगत सभापति सुशील कोइराला पाँचपटक यसै क्षेत्रबाट उम्मेदवार बने । ०७० को संविधानसभा निर्वाचनमा तेस्रोपटक यहींबाट जितेर उनी प्रधानमन्त्री भए । कोइरालाको इतिहाससँग जोडिएको निर्वाचन क्षेत्रमा यसपटक भने कांग्रेस, एमाले र माओवादी केन्द्रका आफ्नै उम्मेदवारसम्म छैनन् ।
कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई समर्थन गरेको छ भने एमाले–माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टीबाट विद्रोह गरेको हृदयेश त्रिपाठी समूहका पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाएका छन् । उनी एमालेको चुनाव चिह्न लिएर उठेका छन् । वाम र लोकतान्त्रिक गठबन्धनका यी उम्मेदवारलाई चुनौती दिँदै छन् संघीय समाजवादी फोरमका इस्तियाक राई र राष्ट्रिय जनता पार्टीका विजय गुप्ताले । त्यसैले बाँके २ को यसपटकको प्रतिस्पर्धा चारपक्षीय देखिएको छ ।
कांग्रेस–राप्रपा गठबन्धनका आजाद राप्रपाका संस्थापक केन्द्रीय सदस्य हुन् । ०४९ र ०५४ को स्थानीय निर्वाचनमा नेपालगन्ज ८ बाट उनी वडाध्यक्ष निर्वाचित भए । शाहीकालमा उनी निर्विरोध उपमेयर घोषित भए । प्रतिनिधिसभातर्फ भने उनी पहिलोपटक उम्मेदवार भएका हुन् । भर्खरैको स्थानीय तह निर्वाचनमा नगरमा राप्रपा र कांग्रेसले प्राप्त गरेको मत आफ्नो जित्ने आधार भएको उनी बताउँछन् । ‘समय र परिस्थितिले लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याएको छ,’ आजादले भने, ‘दुई पार्टीको भोट चुनाव जित्न पर्याप्त छ ।’
मिश्रको उम्मेदवारी एमाले–माओवादी केन्द्रबीच गठबन्धन बन्नुअघि नै तय भएको थियो । विद्रोह गर्नुअघि उनी राजपाका सहमहामन्त्री थिए । वाम गठबन्धनपछि उनी स्वत: वाम गठबन्धनका उम्मेदवार भए । ०५४ को स्थानीय निर्वाचनमा कांग्रेसबाट तत्कालीन हिरमिनिया गाविस अध्यक्ष रहेका उनी ०५६ यताका हरेक निर्वाचनमा उम्मेदवार छन् । संयोग के भने, उनी हरेक निर्वाचनमा फरक पार्टीबाट उम्मेदवार हुँदै आएका छन् । पछिल्लो मधेस आन्दोलनका अगुवामध्येका एक मिश्र व्यक्तिगत जनाधार भएका नेता मानिन्छन् । ‘स्वतन्त्र उठदासमेत मलाई जनताले सम्मानजनक मत दिएका छन्,’ उनले भने, ‘यसपटक सिंगो वाम गठबन्धनको समर्थन छ । त्यसैले जित सुनिश्चित छ ।’ लामो समय मधेस आन्दोलनको नेतृत्व गरेका मिश्रलाई मुद्दा छाडेर सांसद हुनकै लागि एमाले प्रवेश गर्न लागेको भन्दै विपक्षीले आलोचना गरेका छन् तर उनी मधेसको मुद्दा क्षेत्रीय पार्टीबाट पार नलाग्ने भएपछि राष्ट्रिय पार्टीहरूको गठबन्धनमा लागेको बताउँछन् । ‘मधेस मुद्दा अब मधेसका पार्टीको मात्र भएन । राष्ट्रिय मुद्दा बनाएका छौं,’ उनले भने, ‘त्यो मुद्दा सम्बोधन गर्न स्थिर सरकार चाहिन्छ । त्यसैका लागि वाम गठबन्धनको बहुमत सुनिश्चित गर्न लागेका छौं ।’
सबैभन्दा आक्रामक प्रचार संघीय समाजवादी फोरमका उम्मेदवार राईले गरेका छन् । उनले आफ्नो उम्मेदवारी पहिचानका पक्षमा र विभेदका विपक्षमा रहेको बताउँदै मत मागिरहेका छन् । मधेसको समस्या समाधानका लागि संविधान संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, ‘मेरा पक्षमा जनमत उर्लिएको छ । जित्नेमा कुनै शंका छैन ।’ मधेसीको आवरणमा जनता झुक्याउनेलाई मतदाताले यसपटक रोक्ने राईको दाबी छ । उनी २६ वर्षकै उमेरमा ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन बाँके २ बाट विजयी भई श्रम तथा यातायातामन्त्रीसमेत भएका थिए । अहिले उक्त क्षेत्रका अधिकांश गाउँ क्षेत्र १ र ३ मा परेका छन् । अरू पार्टीबाट प्रत्यक्षतर्फ मुस्लिम उम्मेदवार नभएकाले त्यो समुदायको सद्भाव आफूले पाउनेमा उनी आशावादी छन् ।
पूर्वमेयर एवं राजपा केन्द्रीय उपाध्यक्ष गुप्ता वाम र लोकतान्त्रिक गठबन्धन नक्कली चरित्रको भएकाले मतदाताले आफूलाई प्रतिनिधि छान्ने दाबी गर्छन् । अहिलेको गठबन्धनले कांग्रेस, एमाले र माओवादी केन्द्रका इमानदार कार्यकर्ताको राजनीतिक हत्या गरेको उल्लेख गर्दै उनले भने, ‘ती दलका नेता उम्मेदवार हुन योग्य छैनन् भनेजसरी अन्यत्रबाट टिपेर ल्याएर उम्मेदवार बनाइएको छ ।’ आफू नेपालगन्जको विकासका लागि सांसद बन्न चाहेको गुप्ताले बताए । कांग्रेस केन्द्रीय सदस्यसमेत भइसकेका उनी उक्त पार्टी परित्याग गरी ०६३ सालमा मधेसकेन्द्रित दलमा लागेका हुन् । नेपालगन्ज उपमहानगरपालिका समेटिएको बाँके २ मा अहिले ८३ हजार ९ सय ४९ मतदाता छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने वाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धनको मत झन्डै ७ हजार धेरै छ । कांग्रेस–राप्रपाले २१ हजार २ सय ४५ मत प्राप्त गरेका थिए भने एमाले–माओवादी केन्द्रले १४ हजार १ सय ५३ र फोरमले ५ हजार ४ सय ४१ मत पाएका थिए ।
सद्भावपूर्ण प्रतिस्पर्धा
०६४ र ०७० को निर्वाचनमा बाँके २ को निर्वाचनमा उम्मेदवारहरूले जातीय र साम्प्रदायिक नारा लगाउँथे । मधेसी–पहाडी र हिन्दु–मुस्लिम भावना भडकाउने खेल हुन्थे । त्यसैले चुनावमा सामाजिक सद्भाव खल्बलिने खतरा हुन्थ्यो । यसपटक भने सद्भावपूर्ण प्रतिस्पर्धा भइरहेको छ । ‘मत प्रभावित पार्न चुनावमा हुने साम्प्रदायिक दंगाको त्रास घटेको छ,’ बाँकेको निर्वाचनलाई नजिकबाट नियालेका राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य भन्छन्, ‘जनतालाई जुधाएर फाइदा लिने नेताहरूको चरित्र मतदाताले बुझिसकेका छन् । त्यसको प्रभाव पनि हो ।’
यसपटक क्षेत्र २ को प्रतिनिधिसभा सदस्यतर्फ ठूला पार्टीका गठबन्धनबाट कुनै पहाडी समुदायका नेता उम्मेदवार छैनन् । मधेसी तथा मुस्लिम समुदायका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको निर्वाचनमा पहाडी समुदायको मत निर्णायक मानिएको छ । एमाले–माओवादी गठबन्धनका मिश्र र कांग्रेस–राप्रपा गठबन्धनका आजाद मात्र हैनन्, संघीय फोरमका राईसमेत पहाडी मत आकर्षित गर्न लागेका छन् ।
अधिकांश पहाडी मतदाता राजनीतिक आस्थाका आधारमा विभाजित छन् । वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू ती पार्टीका समर्थकका लागि नयाँ भएकाले राजनीतिकभन्दा व्यक्तिगत र सामाजिक सम्बन्धका आधारमा मत प्रभावित हुने डा. आचार्य बताउँछन् । राजनीतिक आस्थाभन्दा जनसम्पर्क र पुराना राम्रा सम्बन्धका आधारमा मतदान हुने उनको विश्लेषण छ । मुख्य तीन पार्टीले आफ्ना नेता नउठाउँदा उम्मेदवारमा बढी र कार्यकर्ता एवं मतदातामा कम उत्साह देखिएको राजनीतिशास्त्रका प्राध्यापक आचार्य बताउँछन् । ‘मतदानको मिति आउन एक साता रहँदासम्म मतदातामा द्विविधा देखिएको छ,’ उनले भने, ‘मतदाता शिक्षा प्रभावकारी नहुँदा धेरै मत बदर हुने खतरा पनि छ ।’
दलभित्र असन्तुष्टि
एमाले–माओवादीको वाम गठबन्धनपछि बाँकेमा उम्मेदवारीको दौडमा रहेका धेरै आकांक्षीको टिकट काटियो । राजपा त्यागेर स्वतन्त्र राजनीतिक समूहबाट उठेका मिश्रलाई सघाउनुपर्ने भएपछि एमालेका शिव डोटेल स्वतन्त्र उम्मेदवार बने । माओवादीका धेरै नेताको चित्त बुझेको छैन । उम्मेदवारीलाई लिएर राप्रपाभित्र पनि असन्तुष्टि छ । राप्रपाका नगर सभापति गौरबबहादुर चन्दले राजीनामा दिए भने अभय बस्नेत एमाले प्रवेश गरे ।
त्योभन्दा धेरै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । तरुण दलका जिल्ला उपाध्यक्ष मनीष रेग्मीले राजीनामा दिए । कांग्रेस जिल्ला सभापति किरण कोइरालालाई प्रतिनिधिसभा तथा प्रदेश समानुपातिक सदस्यमा पनि उम्मेदवार बनाइएन । पार्टी संस्थापनले किनारा लगाएको भन्दै उनी असन्तुष्ट छिन् । निवर्तमान सांसद अब्दुल हमिद सिद्धिकी ‘भोला’ लोकतान्त्रिक गठबन्धन भन्दै प्रजातन्त्रविरोधी पार्टीलाई भोट दिन नसकिने बताउँछन् । ‘बाँके २ कांग्रेसका लागि राजनीतिक महत्त्व राख्ने क्षेत्र हो । पार्टीको राम्रो पकड हुँदाहुँदै राप्रपालाई समर्थन गरेकोमा सयौं नेताकार्यकर्ता असन्तुष्ट छन्,’ उनले कान्तिपुरसित भने, ‘हामी रूखबाहेक अन्यत्र भोट हाल्न सक्दैनौं ।’

