जनकपुर–
प्रदेश २ का जुनसुकै ठाउँमा एउटै प्रश्न र चर्चा सुनिन्छ– ‘धनुषा ३ मा निधिले जित्लान् कि महतोले ?’
कांग्रेसका विमलेन्द्र निधिले यही आसपासबाट पछिल्ला दुवै चुनाव जितेका छन् । सर्लाहीमा २०७० मा हारेका महतो जिल्ला सरेर यसपालि यहाँ आएका छन् । निधिले मन्त्री हुँदा क्षेत्रमा ‘विकास’ दौडाएका छन् । महतोले मधेस आन्दोलनको नेतृत्व गरेर राजनीतिक प्रभाव छाडेका छन् ।
क्षेत्र ३ धनुषाको दक्षिणी भागको पिँधमा पर्छ । यसमा जनकपुर उपमहानगरपालिकाका २५ मध्ये १७ वडा, नगराइन नगरपालिका र विदेह नगरपालिकाको ९ नम्बर वडा पर्छन् । साथमा दुई गाउँपालिका मुखियापट्टी मुसरनिया र धनौजी छन् । जनकपुरको मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जितेपछि महतो यता आउन हौसिएका हुन् । राजपा कार्यकर्ताले त्यही जनमतलाई आफ्नो विजयको मूल आधार भन्दै आएका छन् तर यस क्षेत्रमा परेका जनकपुर र विदेहका वडाका अध्यक्ष एवं अन्य गाउँपालिकाका प्रमुखको मत जोड्दा कांग्रेसको सबैभन्दा बढी १८ हजार ४ सय ६३ छ । दोस्रोमा राजपा र संघीय फोरम जोड्दा १७ हजार १ सय १६ र तेस्रोमा वाम गठबन्धनको यसकै हाराहारी १५ हजार १ सय ३५ मत देखिन्छ ।
यो अवस्था हेर्दा वाम गठबन्धन पनि खासै पछाडि छैन । दुई पक्षीय भनेर परिचित यस क्षेत्रमा त्रिपक्षीय भिडन्त नै देखिन्छ । माओवादी उम्मेदवार बिनाविभागीय राज्यमन्त्री रामसिंह यादव गुनासो गर्छन्, ‘निधि र महतोको मात्र प्रसंग उठाइन्छ । यहाँका मतदाताले नातावाद र वंशवादको विकल्प खोजेका छन् । त्यसको विकल्प म हुँ । वामशक्तिको जनधरातल पनि यस क्षेत्रमा बलियो छ ।’
निधि नगराइन नगरपालिकाका बासिन्दा हुन् । उनकै क्षेत्र भएकाले अन्य जिल्लाका दक्षिणी भूभागभन्दा यसले विकास बढ्ता देख्न पाएको छ । अधिकांश गाउँमा कालोपत्रे र ढलान सडक पुर्याइएको छ । जनकपुर र आसपास फराकिला सडक बन्ने क्रम तीव्र गतिमा छ, जुन निधिकै तागतका देन हुन् ।
उनी चुनावमा राजनीतिक पृष्ठभूमि र विकासमा योगदानका आधारमा मतदाताले मूल्यांकन गर्ने बताउँछन् । ‘मेरा प्रतिस्पर्धी राजनीतिमा धेरै कनिष्ठ छन् । विकास त उनीहरूले केही पनि गरेका छैनन्,’ निधिले भने, ‘लगातार मन्त्री भए, खोइ के गरे ? एजेन्डा सेट गर्न उनीहरू अपरिपक्व र अक्षम छन् ।’
उनले मधेसवादी दलले मधेस र मधेसी जनताको ‘ठेक्का’ लिएजस्तो गर्ने तर तिनका लागि केही नगर्ने आरोप लगाए । ‘उहाँहरू पहिचान र सम्मान भन्नुहुन्छ । सम्मान भनेको के हो ? सोफामा बसाउनु हो ? कि पाँचतारे होटलमा राख्नु ?’ निधिले भने, ‘खासमा मधेसी जनतालाई पहिचान, प्रतिनिधित्व र स्वामित्व चाहिएको छ । त्यसका लागि म लागिपरेको छु । मधेसी जनताका लागि उहाँहरूले भन्दा मैले धेरै गरेको छु । अझ मधेसदेखि पहाड–हिमाल जोड्ने काम गरेको छु ।’
अर्कातिर महतोको शक्ति भनेको मधेस आन्दोलनको नेतृत्वदायी भूमिका हो । उनले चुनाव जित्ने आफ्नो मुख्य धरातल यही देखेका छन् र निधिलाई आफूले हराउन सक्ने आधार पनि उस्तै भन्छन्, ‘उहाँ मधेस र मधेसीको विरोधी हो । मधेसी जनताले सजाय दिनेछन् ।’
उनले मधेसवाद र अधिकार प्राप्तिको लडाइँलाई चुनावको एजेन्डा बनाएका छन् । ‘८० प्रतिशत कर मधेसबाट उठ्छ तर यसले २० प्रतिशत पनि बजेट पाउँदैन,’ महतोले भने, ‘मधेसप्रति आर्थिक, राजनीतिक र सामाजिक विभेद छ । त्यसको अन्त्य नभएसम्म कुनै प्रगति हुँदैन । संघर्ष यसैका लागि हो । मधेस–थरुहट प्रदेश, भाषा, संस्कृति, पहिचान र प्रतिनिधित्वको लडाइँ हो ।’ आफ्नो लडाइँ विकासका लागिसमेत रहेको र विभेद नहटेसम्म यो प्राप्त नहुने उनको निचोड छ ।
यो क्षेत्र प्राचीन मिथिलामा पर्छ । यसको भाषा, संस्कृति, शैली, सभ्यता अन्यभन्दा धेरै माथि रहेको उल्लेख गर्दै निधिले भने, ‘यसलाई धार्मिक, सांस्कृतिक पर्यटन क्षेत्र घोषणा गर्ने मेरो लक्ष्य छ ।’ उनले निर्वाचनका एजेन्डाका रूपमा यसका साथै पूर्वाधार विकासमा तीव्रता र प्रदेशको राजधानी जनकपुर बनाउने अभियानलाई अघि सारे । ‘राजर्षि जनक विश्वविद्यालय, जनकपुर–जयनगर रेलवे ब्रोडगेजमा रूपान्तरण, विमानस्थलको धावनमार्ग विस्तार, हुलाकी सडक निर्माणको ठेक्का, जटही–जनकपुर–ढल्केबर सडक ६ लेनमा विस्तार मेरो सहभागिता र पहलमा भएका काम हुन्,’ उनले भने, ‘म जनकपुर क्षेत्रलाई समृद्धितर्फ लैजाने अभियानमा छु । यो छिट्टै समृद्ध हुनेछ ।’
महतोले भने संविधानमा ‘गणित’ देखाएर मधेसलाई पछि पारिएको आरोप लगाए । त्यसमा मुख्य दोष निधिलाई नै दिए । उनले धनुषा ३ लाई बौद्धिकहरूको क्षेत्र बताए । ‘यहाँ पूरै विद्वान्हरू छन् । मधेसबारे चिन्ता गर्नेहरू छन् । मधेस र मधेसीले कसरी अधिकार, मान, सम्मान, स्वाभिमान, अवसर पाउन सक्छन् भनेर चिन्तन गर्ने वर्गका व्यक्ति जनकपुरमा बस्ने भएकाले पनि यो क्षेत्र मैले रोजेको हुँ,’ उनले भने, ‘नेतृत्व राम्रो चुनियो भने मधेसवादलाई उचाइमा पुर्याउन सकिन्छ । त्यसकै लागि म सर्लाहीबाट यहाँ आएको हुँ ।’
निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ ले जसलाई साथ दिन्छन्, तिनै बलियो हुने आकलन थियो । महतोकै दलका साह अचानक एक सय ८० डिग्री घुमेर निधिको समर्थनमा आइपुगे । महतोविरुद्ध उनको नाम र तस्बिरसहितका पम्प्लेट जनकपुरका भित्ताभित्तामा टाँसिएका छन् ।
विश्लेषक भन्छन्, निधिको पल्ला भारी बनाउने दुई कारण छन्– पहिलो, उनलाई सञ्जयको साथ मिलेको छ, जसको पकडमा राम्रै मत छ । दोस्रो, जनकपुरलाई प्रदेश २ को राजधानी बनाउन उनका हातमा जति शक्ति हुनेछ, सम्भवत: महतोका हातमा कमै हुनेछ । महतोलाई बलियो देख्नेले पनि दुइटै कारण अघि सारेका छन्– पहिलो, उनी मधेस आन्दोलनका नेतृत्वकर्ता हुन् । दोस्रो, धनुषा ३ का सबैजसो मतदाता मधेसी हुन्, जसको मनोभावनामा उनले प्रभाव पार्न सक्छन् ।
जेलमा थुनिएका सञ्जयको साथ आफूलाई छ भनेर पत्रकार सम्मेलनमै भन्नुचाहिँ निधिको लोकप्रियता गुमाउने र छवि धमिल्याउने कदम भएको बुद्धिजीवीको टिप्पणी छ । महतोप्रति पनि धनुषाका बासिन्दा भर परिसकेका छैनन् । सर्लाही छाडेर यहाँ आएका उनलाई मिथिला क्षेत्रको विकासमा यसअघि केही नगरेको, एक्कासि जनकपुरको नारा दिँदै आएकामा सन्देहका रूपमा लिन्छन् । मैथिलीभन्दा हिन्दी भाषाको प्रबद्र्धनमा लागिपरेको आरोप लगाउँछन् ।
कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र पार्टी केन्द्रीय सदस्य हुन् । ६१ वर्षीय निधि प्रभावशाली मानिन्छन् । मानविकीमा स्नातकोत्तर गरेका उनी २०२५ देखि राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । २०३६ मा नेविसंघको सभापति भए । २०५१ को निर्वाचनमा सफलता पाएका उनी २०५६ को चुनावमा राप्रपाका कृष्णप्रताप मल्लसँग पराजित भएका थिए । संविधानसभाका दुवै निर्वाचनमा धनुषा ३ बाट निर्वाचित भए । पटकपटक जेलनेल भोगेका उनी राष्ट्रिय राजनीतिमा छलाङ मार्ने विरलैमा पर्छन् । कांग्रेसको महामन्त्रीदेखि सरकारमा उपप्रधान तथा गृहमन्त्री, सामान्य प्रशासनमन्त्री, उद्योग तथा वाणिज्यमन्त्री, शिक्षा तथा खेलकुदमन्त्री, भौतिक पूर्वधार तथा यातायातमन्त्रीसम्मको कार्यभार उनले सम्हालिसकेका छन् ।
सर्लाहीको बबरगन्जमा ५९ वर्षअघि जन्मेका महतोले मानविकी र कानुनमा स्नातकोत्तर गरेका छन् । २०४६ देखि राजनीतिमा होमिएका उनी सद्भावना पार्टीको अध्यक्षसम्म भए । उनले सर्लाही २ मा २०४८ र २०५१ मा पराजय भोगेका थिए । २०५६ मा राप्रपाका हस्ती सूर्यबहादुर थापालाई हराएपछि उनको राजनीतिक आयतन बढेको थियो । त्यो सफलताले उनलाई मन्त्रीसम्म बनायो । पुन: २०६४ मा निर्वाचित भए । २०७० को चुनावमा तत्कालीन तमसपाका अध्यक्ष महेन्द्र रायले उनलाई हराए ।अब यसपालि धनुषा ३ मा हेरौं– कसले कसलाई हराउने हो ।
‘मेरा अगाडि सबै अन्डर वेट’
विमलेन्द्र निधि
राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?
केको प्रतिस्पर्धा ? मेरो कसैसँग प्रतिस्पर्धै छैन । मिडियाले ‘हेभी वेट’ भन्दै तुलना
गरेको पाउँछु । शब्द चयनमा तिनको त्रुटि छ । को हेभी वेट ? मेरा सामु सबै ‘अन्डर वेट’ हुन् ।
महतो तपाईंकै क्षेत्रमा किन आउनुभयो होला ?
त्यो उहाँलाई नै सोध्नुहोस् । सागरनाथ जंगलबाट हराउँदै, बिर्सिंदै, भुत्लिंदै आउनुभयो होला ।
उहाँ त तपाईं मधेसविरोधी भएकाले जसरी पनि हराउन आएको भन्नुहुन्छ नि ?
उहाँ आफैं मधेसविरोधी हो । उहाँ नक्कली मधेसवादी हो । संघीय सीमांकनबिनाकै संविधान ल्याउन समर्थन गरिसक्नुभएको थियो । उहाँहरूले संघीयता माग्नुभएको थिएन । खालि एक मधेस एक प्रदेश भन्नुहुन्थ्यो । मधेसमा चाहिँ संघीयता चाहिँदैन र ? पछि संविधान जारी गर्ने बेला उहाँहरूले पाप गर्नुभयो । यही संविधानअन्तर्गत चुनाव लड्न अहिले लाज लागेन ?
‘ठीकै व्यक्तिसँग लड्दै छु’
राजेन्द्र महतो
कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिसँग प्रतिस्पर्धा गरिरहनुभएको छ, कस्तो अनुभूति हुँदै छ ?
धेरै राम्रो अनुभूति भइरहेको छ । मधेसविरोधी संविधान बनाउने, भूमिका निर्वाह गर्ने, मधेस आन्दोलनमा गोली चलाउने र मधेसको राजधानी जनकपुरलाई दुरवस्थामा राख्ने व्यक्तिविरुद्ध लड्ने मैले अवसर पाएको छु । ठीकै व्यक्तिसँग लडेको छु ।
तपाईं निधिसँगै भिड्न आउनुभएको हो कि संयोग मात्रै हो ?
दुइटा कारण हो । एउटा त जनकपुर मधेसको राजधानी, आत्मा, बल र केन्द्र हो । त्यसको दुरवस्था हटाउन यहाँबाट मधेसवादीले जित्नु जरुरी छ । दोस्रो कारण– २५ वर्षदेखि यहाँबाट जनताको भोट लिएर जिते पनि उहाँ (निधि) ले जनता र यस ठाउँका लागि केही गर्नुभएन । एक व्यक्ति मात्र अडिदिएको भए मधेसविरोधी संविधान बन्ने थिएन । उहाँमाथि मधेसको नजर थियो तर उहाँले धोका दिनुभयो । उहाँलाई सबक पनि सिकाउनु छ ।
तपाईंहरू दुईमध्ये जसले हारे पनि संसद्मा एउटाको अभाव खड्किँदैन ?
मधेसविरोधी परास्त भएको खण्डमा हामी खुसियाली मनाउनेछौं ।
तपाईंले हार्नुभयो भने ?
त्यो कल्पनै नगरौं ।

