सुकुम्बासी मतदाता भन्छन्, ‘हाम्रो नाममा बिचौलियाले उम्मेदवारसँग पैसा लिन्छन् र आफ्नै गोजी गरम पार्छन् ।’
– दीपक परियार
पोखरा लेखनाथ ९ को पोखरा बसपार्क नजिकैको सुकुम्बासी बस्ती ।
तस्बिर : दीपक/कान्तिपुर
लेखनाथ– सुकुम्बासी र दलितबस्तीका मतदातामाथि सधैंजसो आरोप लाग्छ– उनीहरूको भोट पैसामा किनबेच हुन्छ। पोखरा बसपार्क छेवैका सुकुम्बासी भने त्यस्तो आरोपको खण्डन गर्छन्। दलकै कार्यकर्ताले सुकुम्बासी बस्ती देखाएर उम्मेदवारसँग पैसा असुलेको उनीहरू बताउँछन्।
पार्वतीटोलका विकास आनन्द (विश्वकर्मा) लाई कुनै पार्टीका उम्मेदवार वा कार्यकर्ता पैसाको प्रस्ताव लिएर आएको थाहा छैन। ‘अहिलेसम्म कोही पैसा दिन आएको छैन,’ उनले भने, ‘सुकुम्बासीले पैसा लिएर भोट हालेको पनि मलाई थाहा छैन।’ बरु दलकै कार्यकर्ताले उम्मेदवारसँग सुकुम्बासी बस्तीमा खर्च गर्ने नाममा पैसा लिएर आफैंले दम्पच बनाउने गरेको उनले सुनाए। ‘हाम्रो त नाम बेच्ने हुन्,’ उनले भने, ‘उम्मेदवारसँग पैसा लिएर पनि यहाँ खर्च नगरेको प्रमाण छ हामीसँग।’ तिनै बिचौलिया कार्यकर्ताले सम्पूर्ण सुकुम्बासीको छवि बिगारेको उनले आरोप लगाए।
उनका अनुसार चुनावमा खटिने दलका वडा, गाउँ, नगरस्तरका कार्यकर्ताले त्यस्तो बिचौलियाको भूमिका खेल्छन्। जसले उम्मेदवारसँग पैसा त माग्छन्, तर खर्च नगरी आफ्नै खल्ती गरम बनाउँछन्। ‘हामीले कत्ति पैसा नलिई भोट हाल्दा पनि बाहिरतिर सुकुम्बासीले पैसा खाए भनेको सुन्दा साह्रै नमीठो लाग्छ,’ उनले भने, ‘बाघको मुख खाए पनि रातै, नखाए पनि रातै भनेजस्तो भएको छ।’
पार्वतीटोलकै लालबहादुर परियार पनि सामान्य मतदाताले एक पैसा पनि नलिएको बताउँछन्। ‘खटिएर हिँड्ने कार्यकर्ताले लिए होलान्,’ उनले भने, ‘भोको गोरु कसैले जोत्दैन।’ सुकुम्बासी र दलितलाई ख्वाउने र पैसा बाँड्ने नाममा कार्यकर्ताले उम्मेदवारसँग ‘बार्गेनिङ’ गर्ने गरेको उनको दाबी छ। ‘तिनै बिचौलियाले पैसा खाएर पनि सुकुम्बासीले भोट हालेनन् भनेर हार्ने उम्मेदवारलाई सुनाउँछन्,’ उनले भने, ‘जित्नेले पनि सुकुम्बासीले भोट हालेर जितेको भन्दैनन्। हामीलाई केही गरे पनि जस छैन।’ हार्ने उम्मेदवारले पैसा खाएर अर्को पार्टीलाई भोट हालेको हल्ला चलाउँदा सुकुम्बासीको छवि बिग्रेको उनी स्विकार्छन्। बसपार्क नजिकै शिवटोलका काजी श्रेष्ठ आफ्नो आँखाले नदेख्दासम्म कसले पैसा बाँड्यो भन्न नमिल्ने बताउँछन्। ‘एउटा पार्टीले बाँड्छ रे भन्छन्,’ उनले भने, ‘रे–रेको कुरा हो, आफैंले देखेको छैन।’
बसपार्क क्षेत्रको सुकुम्बासी टोल कास्कीको क्षेत्र नम्बर २ मा पर्छ। पोखरा लेखनाथ–९ को सहारा बाल आधारभूत विद्यालयको मतदान केन्द्रमा उनीहरू भोट खसाल्छन्। २ मतदान केन्द्र रहेको सहारामा १ हजार ९ सय ७ मतदाता छन्।
‘लालपुर्जाको लोभ’
पोखरा बसपार्कको छेउछाउमा २०३६ सालदेखि सुकुम्बासी बस्न थालेका हुन्। बसपार्क वरपरका शिव टोल, पार्वती टोल, कृष्ण टोल, गणतान्त्रिक टोल र शुभकामना टोलमा ७ सय घर सुकुम्बासी छन्। यो टोलमा मात्रै करिब १ हजार ५ सय मतदाता छन्। बसपार्क विस्तारका लागि त्यहाँका सुकुम्बासीलाई हटाउने प्रसंग बारम्बार चलिरहन्छ।
प्रत्येक चुनावमा टोलवासीले उम्मेदवारसँग लालपुर्जाकै मुद्दा उठाउँछन्। तर उनीहरूको माग भने हालसम्म सम्बोधन हुन सकेको छैन। ‘हाम्रो मुख्य माग नै लालपुर्जा हो,’ पार्वती टोल विकास संस्थाका सचिवसमेत रहेका विकास आनन्दले भने, ‘चुनावअघि त दिलाइदिन्छु भन्छन्, जितेपछि फर्केर पनि आउँदैनन्।’ यस क्षेत्रमा यसअघि जितेर जानेले केही नगरेको उनको आरोप छ।
बसपार्क विस्तारका लागि पोखरा उपत्यका नगर विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बताएको छ। हाल ८२ रोपनी क्षेत्रमा बसपार्क अवस्थित छ। २ सय ५ रोपनीमा विस्तार गर्दा कृष्ण टोल, गणतान्त्रिक टोललगायत सुकुम्बासी बस्ती हटाउनुपर्ने हुन्छ। सचिव विकास आनन्द भने ८२ रोपनीलाई व्यवस्थित गर्न सके बसपार्कलाई काफी हुने बताउँछन्। ‘हाम्रो विकल्प खोज्नुभन्दा यहीं व्यवस्थापन गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्यत्र व्यवस्थापन गर्ने हो भने सुरक्षित ठाउँ र धेरै जग्गा हुनुपर्छ।’
यी बस्तीमा सुकुम्बासीका नाममा ‘हुकुम्बासी’ छन् भन्ने गरिएकोमा लालबहादुर परियारको विमति छ। ‘कोही पढेलेखेर, लाहुरे भएर, विदेश गएर कमाएर अन्तै जग्गा जोडे होलान्,’ उनी भन्छन्, ‘उनीहरूका बुबाआमा यहींका सुकुम्बासी हुन्।’ अहिलेको निर्वाचनमा घरदैलोमा आउने उम्मेदवारलाई पनि लालपुर्जाकै माग राखेको उनले सुनाए।
कास्कीमा पृथ्वीचोक, सिम्पानी, भेडिफारम, मझेरीपाटन, लेखनाथ, हेम्जालगायत स्थानमा ४ हजार ६ सय घर सुकुम्बासी छन्। उनीहरूलाई तत्कालीन सुकुम्बासी आयोगले परिचयपत्रसमेत वितरण गरेको छ।
चलखेल रोक्न रातभर गस्ती
मौन अवधिमा हुने चलखेल रोक्न सुकुम्बासी बस्तीका युवाले गस्ती गरेका छन्। कास्कीका विभिन्न सुकुम्बासी बस्तीमा युवाले रातभरि गस्ती गरेका हुन्। ‘यहाँ दलले पैसा बाँड्न आउँदै छन् भन्ने सूचना पाएर गस्ती गरेका हौं,’ पार्वती टोलका सन्तोष सोनामले भने, ‘त्यसरी पैसामा भोट किन्न खोज्नेलाई रोक्नेछौं।’ उनले टोलकै युवाले पालैपालो रातभर गस्ती गरेको सुनाए। पोखरा लेखनाथ–३२ को खुदीखोला सुकुम्बासी बस्तीमा पनि त्यसरी नै युवाले गस्ती गरिरहेका छन्। खुदीखोलामा गस्ती गरिरहेका सुवास पौडेलले भोट किनबेच हुने आशंकामा गस्ती गरेको बताए। स्वतन्त्र रूपमा मत दिन पाउने अधिकार प्रयोग गर्न पाउनुपर्ने उनको धारणा छ।

