नेपालगन्ज– निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य उम्मेदवारले भने दुइटासम्म घोडा प्रयोग गर्न पाउ‘छन् । तर राष्ट्रिय सडक सञ्जालले नछोएका जिल्लाका उम्मेदवार घोडा होइन, आचारसंहिताविपरीत हवाईजहाज चार्टर गरी पार्टी नेता, कार्यकर्ता र मतदाता ओसार्न बाध्य छन् ।
वाम गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका माओवादी केन्द्रका छिमी लामालाई पार्टी कमिटीले काठमाडौंबाट ल्याउनुपर्ने २ सय मतदाताको सूची बुझाएको छ । ‘सबैलाई जहाज चार्टर गरेर ल्याउन गाह्रै छ,’ लामाले कान्तिपुरसँग भने, ‘अगुवा नेता, कार्यकर्तालाई भने ल्याउनैपर्ने बाध्यता छ । उम्मेदवारका लागि सबैभन्दा ठूलो खर्च र टाउको दुखाइ यसैमा छ ।’ शुभेच्छुक मतदाताको पनि ५० प्रतिशत हवाई भाडा आफूले बेहोर्नुपरेको उनी सुनाउँछन् । प्रचार सामग्री ओसार्न महँगो हवाई भाडा खर्चनु छँदै छ ।
कर्णाली क्षेत्रका दुई जिल्ला हुम्ला र डोल्पामा मोटरबाटो पुगेको छैन । मोटरबाटो पुगे पनि मुगु र जुम्लाका अगुवा नेता–कार्यकर्ता पनि उम्मेदवारकै खर्चमा जहाज चढेर चुनावका लागि घर फर्कने गरेका छन् । हुम्लाका तल्लो भेगका विद्यार्थी र युवालाई भने आफूले बाजुरा तथा मुगुसम्म मोटर चढेर आई पैदल हिँडेर गाउँ आउन अनुरोध गरेको उल्लेख गर्दै लामाले थपे, ‘पाँच वर्ष उद्योग चलाएर चुनाव लड्नेलाई ठीकै छ, पार्टी चलाएर बस्ने इमानदार नेतालाई एकदमै गाह्रो छ ।’
काठमाडौं तथा नेपालगन्जबाट हुम्ला, डोल्पा र मुगुमा जहाज चार्टर भाडा प्रतिव्यक्ति ९ हजारदेखि १५ हजारसम्म छ । दुर्गममा थोरै भोटले हारजित हुन्छ । त्यसैले आफ्ना पार्टी नेताकार्यकर्ता र शुभेच्छुक मतदातालाई जिल्ला फर्काउनु कर्णालीका उम्मेदवारलाई चुनौती बनेको छ । प्रदेशसभातर्फ मुगु ‘क’ मा माओवादी केन्द्रबाट उम्मेदवारीको तयारी गरेका राजु कार्कीले दसैंतिहार सेरोफेरोमै पाँच चार्टर गरेर मतदाता ओसारे । त्यस्तै, खत्याड क्षेत्रका झन्डै ३ सय मतदाता उनकै पहलमा गाउँ फर्किए । तर, वाम गठबन्धनपछि मुगुका प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा एमाले उम्मेदवार मात्र उठ्ने सहमति भयो । ‘मैले हवाई र स्थलमार्गबाट करिब ३ सय मतदाता फर्काउन सघाएँ,’ उनले भने, ‘उम्मेदवारी नपाएपछि त्यो खर्च वाम गठबन्धनका लागि भयो भन्ने ठानेको छु ।’
गत संविधानसभामा सदस्य उम्मेदवार भई पराजित एमाले हुम्ला अध्यक्ष दल रावल मोटरबाटोले नछोएको दुर्गम हिमाली जिल्लाका चुनाव निकै महँगो हुने गरेको बताउँछन् । अघिल्लो निर्वाचनमा आफूले सबैभन्दा कम दुईपटक जहाज चार्टर गरेको उनको दाबी छ । ‘नेता–कार्यकर्ताको दबाब त असाध्यै हुन्छ । तर, सामान्य उम्मेदवारले सक्दैन,’ उनले भने, ‘चुनावी खर्च थामिन सक्नै छैन ।’ अहिले उनी हुम्ला प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् ।
डोल्पामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार धनु बुढा अहिले चुनावी प्रचारप्रसारका लागि माथिल्लो भेगमा छन् तर उनले काठमाडांै र नेपालगन्जमा रहेका शुभेच्छुक कार्यकर्तालाई हवाई चार्टर गरेर चुनावअघि जिल्ला ल्याउने व्यवस्था मिलाइसकेको एमाले डोल्पाले जनाएको छ । गत संविधानसभा निर्वाचनमा उनले करिब दर्जनपटक जहाज चार्टर गरेर मतदाता ओसारेका थिए । त्यस्तै, कांग्रेसका उम्मेदवार अंगद बुढाले पनि जिल्ला फर्किने आफ्ना मतदाताको सूची तयार गरिरहेका छन् । ‘मुख्य प्रतिस्पर्धी उम्मेदवार हो भने कम्तीमा ५/७ जहाज चार्टर नगरी चुनाव जित्ने स्थिति छैन । उम्मेदवारको मुख्य खर्च मतदाता ओसार्नै छ,’ डोल्पा कांग्रेसका एक नेताले भने ।
कांग्रेस केन्द्रीय सदस्य एवं हुम्ला ‘ख’ का प्रदेशसभा सदस्य उम्मेदवार जीवनबहादुर शाही १२ देखि १५ हजारसम्म भाडा तिरेर मतदाता ल्याउनु निकै खर्चिलो हुने बताउँछन् । ‘एकातिर हिउँ पर्न लागेको छ । चुनाव आउन थालिसक्यो । ठूलो भूगोल छ, उत्तिकै दुर्गम,’ उनले भने, ‘हामीलाई त चुनाव सजायजस्तै भएको छ ।’ शाहीले ६० मतदाता रहेको नाम्खा गाउँपालिका ४ स्थित चालागाउँ पुग्न तीन दिन हिँड्नुपर्ने उल्लेख गर्दै भने, ‘सुगम र सहरका धनीलाई सस्तो अनि दुर्गमका गरिबका लागि चुनाव महँगो छ ।
कार्यकर्ता परिचालन पनि उत्तिकै महँगो रहेको उनले सुनाए । ०७० को संविधानसभा चुनावमा उनले ६ वटा जहाज चार्टर गरे । बाजुरा हुँदै स्थलमार्गबाट उत्तिकै संख्यामा अगुवा कार्यकर्ता र मतदाता हुम्ला ओसारे । अहिले पनि जिल्लाको सिंगो चुनाव परिचालनको दायित्व आफ्नै भएकाले मतदाता ओसार्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै शाहीले भने, ‘चुनावमा उठेपछि एक भोटको पनि माया लाग्दोरहेछ । त्यो भोट महँगो भाडा तिरेर ल्याउँदा साह्रै मर्का पर्ने गरेको छ ।’
निर्वाचन आचारसंहिताअनुसार मोटर चल्ने जिल्लाहरूमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले चारवटा चारपांग्रे हलुका सवारीसाधन र चारवटा मोटरसाइकल प्रयोग गर्न पाउँछन् । त्यस्तै, प्रदेशसभा सदस्यले दुइटा हलुका सवारीसाधन र दुइटा मोटरसाइकल प्रयोग गर्न पाउने व्यवस्था छ । तर, न आयोगले तराईका उम्मेदवारका गाडी र मोटरसाइकल रोक्न सकेको छ, न त हिमाली जिल्लामा हुने हवाई चार्टर । चारवटै घोडाको प्रावधान पनि अव्यावहारिक भएको शाही बताउँछन् । ‘सिंगो हुम्लाभर चुनाव प्रचारप्रसार सक्न तीन महिना लाग्छ । न्यूनतम खर्च गर्दा पनि आयोगको आचारसंहिताले धान्दैन,’ हुम्लाका प्रदेशसभा सदस्य उम्मेदवार शाही व्यंग्य गर्छन्, ‘निर्वाचन आयोगले पार्टी र उम्मेदवारलाई जबरजस्ती कम खर्चको झूटो विवरण पेस गर्न लगाउने गरेको छ ।’2074,kartik14
मतदाता ओसार्न चार्टर
मतदाता ओसार्न चार्टर
"मोटरबाटोले नछोएका जिल्लाका उम्मेदवार निर्वाचन आचारसंहिताविपरीत जहाजमा मतदाता र कार्यकर्ता ओसार्न बाध्य शाही भन्छन्– चुनावमा उठेपछि एक भोटको पनि माया लाग्दोरहेछ, महँगो हवाई भाडा तिरेर ल्याउनुपर्दा साह्रै मर्का पर्छ "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

