काठमाडौं – कोरोना महामारीको प्रत्यक्ष प्रभाव र गहिरिँदो संकटका कारण बढेको आत्महत्या दर पछिल्ला दिन घटेको छ । पहिलो लहर २०७६ चैत १० देखि २०७७ साउनसम्म औसत दैनिक १९ जनाले आत्महत्या गरेका थिए । त्यसअघि २०७६/७७ को सुरुवाती आठ महिनामा दैनिक आत्महत्याको दर १४ मात्रै थियो । पछिल्लो २३ महिनाको तथ्यांक विश्लेषण गर्दा आत्महत्याको दर कोरोनाकालअघिकै समयमा जस्तो दैनिक १४ मा सीमित देखिन्छ ।
२०७७ वैशाखदेखि २०७८ चैत १ सम्म २३ महिनामा ९ हजार ६ सय ७२ जनाले आत्महत्या गरेको देखिन्छ । यो अवधिमा औसत प्रत्येक महिना ४ सय २० र प्रत्येक दिन १४ जनाले आत्महत्या गरेका छन् । यही अवधिमा आत्महत्याको प्रयास गर्ने २१ हजार ६ सय ६९ जना रहेका छन् । जसमा आत्महत्याको प्रयास असफल भएको वा आत्महत्याको कोसिस गर्दागर्दै ११ हजार ९ सय २१ जनाको उद्धार गरिएको छ । यो तथ्यांकले औसत प्रत्येक महिना ९ सय ४२ र प्रत्येक दिन ३१ जनाले आत्महत्याको कोसिस गरेको देखिन्छ ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार झुन्डिएर र विष सेवनबाट आत्महत्या गर्नेको संख्या सबैभन्दा उच्च देखिन्छ । यो अवधिमा झुन्डिएर आत्महत्या प्रयास गरेका घटना १० हजार ७ सय ७१ वटा छन् । जसमा ८ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने २ हजार ४ सय ६१ जनाको उद्धार वा आत्महत्या प्रयास असफल भएको थियो । यो तथ्यांकले झुन्डिएर आत्महत्याको प्रयास गर्नेमध्ये ७७ प्रतिशतलाई बचाउन नसकिएको देखिन्छ ।
यही अवधिमा १० हजार ५ सय ४९ जनाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका छन् । जसमध्ये १ हजार २ सय ६७ जनाको मृत्यु भएको छ भने ९ हजार २ सय ८२ जनाको आत्महत्या प्रयास असफल भयो । विषादी सेवन गरेर आत्महत्या प्रयास गर्नेको संख्या उल्लेख्य भए पनि मृत्यु हुनेको संख्या भने १२ प्रतिशत मात्रै देखिन्छ । यो अवधिमा हामफालेर १ सय ५ जनाले, आफूले आफैंलाई आगो लगाएर ५६ जनाले, धारिलो हतियार प्रयोग गरेर ४१ जनाले र गोली प्रहार गरेर २ जनाले आत्महत्या प्रयास गरेको देखिन्छ । त्यसमा हाम फालेर ४४, आगो लगाएर १३, धारिलो हतियार प्रयोग गरेर ९ र गोली प्रहारबाट २ जनाको मृत्यु भएको देखिन्छ ।
कोभिड महामारी र आत्महत्याका दरबीचको सम्बन्धबारे २०२२ जनवरीमा प्रकाशित विनोद आचार्य, केशव सुवेदी, प्रमोद आचार्य र श्वेता घिमिरेको अनुसन्धानात्मक लेखले आत्महत्याको प्रवृत्तिसँग कोभिडले पारेको सामाजिक, आर्थिक र उत्पन्न मनोवैज्ञानिक स्वास्थ्यजन्य कारण पनि जिम्मेवार रहेको देखाएको छ । यो अध्ययनमा २०७४/७५ देखि २०७७/७८ सम्मको चार आर्थिक वर्षमा भएका आत्महत्याको प्रवृत्तिलाई कोरोनाकालीन समयसँग तुलनात्मक अध्ययन गरिएको छ । अध्ययनको चार वर्षको अवधिमा प्रत्येक १ लाख जनसंख्यामा आत्महत्या दर २१.३ जना रहेको देखिन्छ । सन् २०१८ मा एक लाख जनसंख्यामा १९.६ जनाले आत्महत्या गरेका थिए भने यो दर सन् २०२० मा पुग्दा प्रतिलाख २३.९ मा पुगेको थियो । यो अध्ययनले पनि कोभिडको सुरुवाती कालमा आत्महत्याको दरमा वृद्धि आएको निष्कर्ष निकालेको छ ।
मनोविज्ञ मधुविलास खनाल आत्महत्याको बढ्दो संख्या मात्रै नभएर आत्महत्या कोसिस गर्नेको ठूलो संख्याबाट पनि चिन्तित हुनुपर्ने बताउँछन् । उनी पोस्ट कोभिड समस्याका अलवा समाजमा विद्यमान घरेलु हिंसा, इन्टरनेटमार्फत हुने बालबालिकामाथिको हिंसा र दुर्व्यवहार जस्ता घटना पनि आत्महत्या बढाउनका सहायक भइरहेको बताउँछन् । ‘आत्महत्याको डरलाग्दो अवस्था रोक्न स्वास्थ्य मन्त्रालयले नै गम्भीर पहल चाल्न ढिला भइसकेको छ,’ उनले भने, ‘स्वस्थ जीवनशैली र मनोसामाजिक विषयमा परिवारभित्र छलफल हुने बानीको अभ्यास विकास गर्न सके यस्ता समस्यामा कमी आउन सक्छ ।’
प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार नेपालमा सबैभन्दा धेरै आत्महत्याका घटनाका पछाडि तत्क्षण आउने आवेग मुख्य कारण देखिन्छ । आत्महत्याको संख्यालाई समाजभित्र बढ्दो असन्तुष्टि र निराशासँग जोडेर हेर्नुपर्ने उनले बताए । ‘आत्महत्यालाई नेपालीहरूको मनोवैज्ञानिक स्वास्थ्यको विषयसँग पनि जोडेर हेर्नुपर्छ, आत्महत्याको संख्या बढ्दै जानु सुखद संकेत होइन,’ उनले भने ।२०७९ बैशाख १ साभार ः कान्तिपुर
कोरोना महामारीमा बढेको आत्महत्या दर घट्दो
कोरोना महामारीमा बढेको आत्महत्या दर घट्दो
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

