काठमाडौं– पाँच वर्ष बहराइन बसेर घर फर्किएकी काठमाडौंवासी एक महिलालाई अचम्मको बानी बसेको छ । उनी घण्टैपिच्छे नुहाइरहन्छिन् । कुनै व्यक्तिसँग छोइनेबित्तिकै नुहाइहाल्न मन लाग्ने उनले सुनाइन् । ‘कसैसँग बोल्न मन लाग्दैन, वरिपरि कोहि मान्छे आएको मन पर्दैन, एक्लै बस्दा शान्ति मिल्छ,’ उनले भनिन् । उनको पारिवारका अनुसार वैदेशिक रोजगारबाट फर्किएपछि उनमा यस्तो परिवर्तन आएको हो । उनको यस्तो समस्यालाई अस्पतालले मानसिक रोग पहिचान गरेको छ ।
मनोपरामर्शदाता केदार रायमाझी भन्छन्, ‘विदेशबाट फर्किएहरू धेरै यस्ता मानसिक समस्या बोकेर आउँछन्, मानसिक गडबडीको उपचारमा उनीहरू विश्वास पनि गर्दैनन्, रोग पालेर बस्छन् ।’
देश छोडेर हिँडेकालाई सम्बन्धित देशको भाषा संस्कृति र माहोलमा घुलमिल हुन अप्ठ्यारो हुने हुँदा उनीहरू डिप्रेसनको सिकार हुने गरेको रायमाझी बताउँछन् ।
‘विदेश भन्नासाथ राम्रो कमाइ हुन्छ भन्ने मानसिकता बोकेर हिँडेकाले त्यहाँ पुग्दा सोचेजस्तो परिवेश पाउँदैनन्, परिवारिक वातावरण,
माया सहयोग नपाउँदा बिस्तारै उनीहरू मानसिक रोगी बन्छन्,’ उनले भने । फर्किएका अधिकांशमा डराउने, समूहमा खुल्न नसक्ने, टोलाउने, बिर्सनेजस्ता समस्या देखिने गरेको रायमाझीले बताए । पछिल्लो समय कोरियाबाट फर्किने युवामा बढी यस्तो समस्या देखिएको उनले सुनाए ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण नुवाकोटकी २२ वर्षीया एक युवती विदेश पलायन भइन् । ७ महिना विदेश बसेर फर्किएकी उनले अहिले आफन्त चिन्दिनन् । ‘उता के भयो हामीलाई थाहा छैन, छोरीले हामी कसैलाई चिन्दिनँ, धेरैपटक आत्महत्याको प्रयास पनि गरी,’ उनकी आमाले भनिन् । हाल उनलाई पाटनको मानसिक अस्पतालमा भर्ना गरिएको छ ।
वैदेशिक रोजगारबाट फर्किएका महिलालाई समाजले गलत नजरले हेर्ने, चरित्रमाथि औंला उठाउने प्रवृत्तिका कारण महिलाहरूमा बढी मानसिक समस्या देखिने गरेको मनोपरामर्शदाता मेनुका विष्ट बताउँछिन् । ‘कतिपय महिला विदेश बस्दै यौन हिंसामा परेका हुन्छन्, फर्किएपछि यसबारे परिवार र समाजमा खुलेर भन्न सक्दैनन् । लामो समयसम्म पीडा गुम्स्याएर बस्ने हुँदा उनीहरूमा पनि छुट्टैखाले मनोरोग देखापर्ने गरेको छ,’ उनले भनिन्, ‘यसबारे उनीहरू उपचार गरिरहेका छन् भनेर परिवारलाई समेत थाहा छैन ।’
रामेछापकी एक महिला घरेलु कामदारका रूपमा कतार पुगिन् । बिनातालिम वैदेशिक रोजगारीमा होमिएकी उनी पाँच महिना नपुग्दै नेपाल फर्किइन् । ‘एजेन्टले खाना पकाउने काम भनेको थियो, उता सबै काम मेसिनबाट गर्नुपर्दो रै’छ, कामबाटै निकालिदिए,’ उनले भनिन्, ‘मेसिन चलाउन नजानेकै कारण दैनिक वचन र कुटाइ खानुपथ्र्यो ।’ हाल उनी मनोपरार्शका लागि अस्पताल धाइरहेकी छन् ।
बिनातािलम र भाषा वैदेशिक रोजगारीमा लाग्नेहरू विदेश पुगेपछि विभिन्न समस्यामा जेलिने गरेको पीडितहरू सुनाउँछन् ।
त्रिवि शिक्षण अस्पतालमा वैदेशिक रोजगारबाट फर्किएका मानसिक बिरामी दैनिक भर्ना हुन्छन् । अस्पतालकी मनोचिकित्सक डा. मिता राणा भन्छिन्, ‘फर्किंदाफर्किंदै घरै नपुगी अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुन आउँछन्, कति बिरामी अचेत अवस्थामा आइपुग्छन्, महिनासम्मै भर्ना गरेर उपचार गर्नुपर्ने खालका पनि छन् ।’ विशेषगरी विदेशमा ठगिएका, क्षमताभन्दा बढी काम गर्नुपरेका र न्यून ज्यालाका कारण उनीहरूमा मानसिक रोग देखिने गरेको डा.राणा बताउँछिन् । ‘व्यावहारिक झन्झटले त उनीहरूलाई मानसिक रोगी बनाएकै छ, प्रतिकूल वातावरण र तापक्रमले पनि उनीहरूमा एकखाले मानसिक समस्या निम्त्याएको देखिन्छ,’ उनले भनिन् ।
समस्या देखिइहालेमा पनि उपचार र परामर्शको अभावले यस्ता समस्यासँग जुध्न सक्दैनन्, होस नै गुमेको अवस्था भएपछि मात्रै देश फर्किने प्रवृत्ति छ,’ उनले भनिन् ।
वैदेशिक रोजगारीबाट फर्किनेमा मानसिक समस्या देखिने गरेको भए पनि सरकारले यसबारे कुनै अध्ययन अनुसन्धान गरेको छैन । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आव ०७२/०७३ मा मात्रै चार लाख १८ हजार ७१३ जनाले नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका छन् । यसमा महिला १९ हजार ३ सय छन् । विभागको तथ्यांकले विशेषगरी कतार, मलेसिया, साउदीअरब, यूएई, बहराइन, कुवेत, दक्षिण कोरिया र जापानजस्ता देशहरूमा जानेको संख्या बढी छ ।
वैदेशिक रोजगारी- डिप्रेसन समस्या
वैदेशिक रोजगारी- डिप्रेसन समस्या
"व्यावहारिक झन्झटले मानसिक रोगी बनाएकै छ, प्रतिकूल वातावरणले पनि समस्या निम्त्याएको छ – मनोचिकित्सक "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

