काठमाडौँ , भूकम्प गएका बेला गुमाएको अवसरलाई कोभिडकालमा पूर्ण सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौंमा आइतबार आयोजित ‘कान्तिपुर इकोनमिक समिट–२०२१’ को तेस्रो सत्र ‘संकटले सुझाएको बाटो’ का वक्ताले कोभिड महामारीलाई अवसरका रूपमा बदल्नुपर्ने बताएका हुन् ।
‘भूकम्पपछि संकटबाट केही सिक्यौं भनेर उत्साहित थियौं । सबै सिकेजस्तो लाग्थ्यो,’ पूर्वस्वास्थ्यमन्त्री गगन थापाले भने, ‘कोभिडले फेरि नयाँ पाठ सिकाएको छ । त्यसैले सार्वजनिक नीति बनाउनेले संकटभित्र आएका विभिन्न सिकाइबाट लाभ लिइँदै गए राम्रो हुन्छ ।’ स्वास्थ्यका क्षेत्रमा पछिल्लो समय नेपालमा धेरै सुधार भएको उनको भनाइ छ । ‘तर योभन्दा धेरै राम्रो हुन सक्थ्यो । पछिल्लो १०/१५ वर्षमा हाम्रो स्वास्थ्य क्षेत्र कस्तो हो, पैसा कसले, कसरी तिर्ने हो । नीतिगत रूपमै अस्पष्टता भएपछि अस्तव्यस्त बनायो,’ थापाले भने, ‘त्यसलाई सुधार गर्ने मौका कोभिडले दिएको छ । अहिले पैसा पनि छ, यो मौका हो ।’
अहिलेको अवसरको सदुपयोग नगरे दोहोरो अपराध हुने उनले बताए । ‘यो अवसर पनि छोपेनौं भने दोहोरो अपराध हुन्छ,’ थापाले भने, ‘पहिलो, मान्छे मारेको अपराध हुन्छ । अर्को, मान्छे मारिसकेको र नचेतेको अपराध हुन्छ । घण्टी बजेको छ, अब सुन्न सक्नुपर्यो ।’ अस्पतालहरूमा अक्सिजन प्लान्ट अनिवार्य हुनुपर्ने भए पनि विगतमा त्यसको स्थापना गर्न नसक्दा कतिपय बिरामीको मृत्यु भएको उनको भनाइ छ ।
नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा राम्रो परिवर्तन भए पनि पर्याप्त नभएको थापाले बताए । ‘स्वास्थ्य क्षेत्रको सन्दर्भमा २०४६ सालको परिवर्तन पछाडि अपूर्व काम भएका छन् । उपलब्धि भएका छन् । तिनलाई नजरअन्दाज गर्नु हुँदैन,’ उनले थपे, ‘योभन्दा धेरै राम्रो हुन सक्थ्यो । पछिल्लो १०/१५ वर्षमा हाम्रो स्वास्थ्य क्षेत्र कस्तो हो ? निःशुल्क केही पनि हुँदैन तर पैसा कसले तिर्ने हो ? कसरी तिर्ने हो ? भन्ने नीतिगत केही अस्पष्टता हुँदै गर्दा हामीले अवसर गुमायौं ।’ शिक्षा र स्वास्थ्यमा परिवर्तन गर्दा सामाजिक क्षेत्र परिवर्तन हुने उनको भनाइ छ । त्यसका लागि राजनीतिक प्रतिबद्धता आवश्यक पर्ने तर त्यो पक्ष कमजोर रहेको उनले बताए । राजनीतिक दलहरूभित्र स्वास्थ्य, शिक्षाका सार्वजनिक क्षेत्रमा कस्ता नीति तय गर्ने भन्नेबारे छलफल नै नहुने गरेको उनको स्विकारोक्ति थियो । ‘सार्वजनिक नीति कस्तो बनाउने, किन बनाउने भन्नेबारे छलफल नै हुँदैन,’ उनले भने ।

