* विशिष्ट विशेषज्ञ अस्पतालका रूपमा संघीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । यहाँ २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। डडेल्धुरा अस्पताललमा ११औँ तहको मेडिकल सुपरिटेण्डेन्टको दरबन्दी रहेको छ। तर, अस्पतालले अहिलेसम्म ११औँ तहको मेडिकल सुपरिटेण्डेन्ट पाएको छैन्। अस्पताल निमित्त प्रमुखको भरमा चलिरहेको छ। स्थापनादेखि डडेल्धुरा अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा छ।अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सात पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ।
* आर्थिक वर्ष २०७९\०८० मा गोरखा अस्पतालबाट ८२ हजार भन्दा बढीले सेवा लिएका छन् । तर, गोरखा अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्टका आधारमा चलेको छ । बिगत बर्षमा ३४ हजार १ सय ९९ जना पुरुष र ४८ हजार २ सय ८८ जना महिलाको उपचार गरिएको बताएका हुन् ।जसमध्ये ७१ हजार ५ सय ९ जनाले ओपिडी सेवा, १० हजार ९७८ जनाले आकस्मिक सेवा र २ हजार ४ सय ६३ जनाले अन्तरंग सेवा लिएको डाक्टर श्रेष्ठले बताए । उनका अनुसार गत आर्थिकबर्षमा २ हजार ४० जनाले फिजियोथेरापी सेवा लिएका छन् ।अघिल्लो वर्षको तुलनामा गतवर्ष अस्पतालमा भर्ना हुने बिरामीको दर ४६ प्रतिशतले बढेको अस्पतालले जनाएको छ ।त्यस्तै प्रसुती सेवा लिनेको संख्या पनि ५० प्रतिशतले बढेको श्रेष्ठले जानकारी दिए । ‘शल्यक्रिया सेवा लिनेको संख्या पनि बर्षेनी बढेको छ,’ उनले भने, ‘गत आर्थिक बर्षमा मात्रै ९ सय १२ जनाले शल्यक्रिया सेवा लिएका छन् ।’ बिरामी रिफर संख्या पनि घटाइएको बताउँदै उनले थपे, ‘आर्थिक वर्ष २०७८\ ७९ मा ९ शय २६ जनालाई रिफर गरिएकोमा गत आव यो संख्या घटेर ७ सय ५५ मा झरेका छौँ ।’ रिफर हुनेमा बढी मुटु, मृगौला, क्यान्सर, न्युरो लगायतको शल्यक्रिया सेवा लिनुपर्ने बिरामी रहेको उनले बताए ।गत आर्थिक वर्षमा अस्पतालका लागि संघ तर्फबाट सर्शत तर्फ तीन करोड ४४ लाख रकम प्राप्त भएको थियो । उक्त रकममध्ये दुई करोड २१ लाख मात्र खर्च भएको अस्पतालले जनाएको छ । त्यस्तै प्रदेश समानीकरण अन्तरगत कुल ८ करोड २३ लाख ५५ हजार प्राप्त भएकोमा ६ करोड ३४ लाख ३७ हजार खर्च भएको बताइएको छ ।
* बझांग जिल्ला अस्पताल बझाङ प्रसुती तथा स्त्रीरोग विशेषज्ञविहीन बनेको छ। यस अगाडि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर नवराज जोशीको स्वास्थ्य मन्त्रालयमै काज फिर्ता भएको थियो।उनको त्यसबेला राजनैतिक दबाबका कारण काज फिर्ता गरिएको बताइएको थियो। त्यसबेला उनी एक्ला प्रसुती तथा स्त्रीरोग विशेषज्ञ थिए। अहिले उनको स्थानमा नाक, कान तथा घाँटीका विषेशज्ञ डाक्टर धिरज बिसन्ख आएका छन्।अस्पतालकै तत्कालीन एक्ला प्रसुती तथा स्त्रीरोग विषेशज्ञ जोशीको नै काज फिर्ता भएपछि अस्पतालको सेवा भने प्रभावित बनेको छ। सेवा प्रभावितमात्र होइन, सुत्केरी तथा नवजात शिशुको ज्यानै जानेसम्मका घटना भएका छन्।हालै केही दिन अगाडि अस्पतालमा आएकी एक सुत्केरीको उपचारकै क्रममा नवजात शिशुको मृत्यु भएको थियो। त्यसपछि ती महिलाको भने हेलिकप्टरमार्फत उद्धार गरेर ज्यान जोगाइएको थियो। त्यसपछि सो घटना सेलाउन नपाउँदै १४ पुष २०८० बझाङ अस्पतालमा एक गर्भवती महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–६ सिङराल्लीका ३५ वर्षीया गौबडीदेवी धामी रहेकी छन्। उनको आन्तरिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ।उनको विगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएका कारण बच्चा खेर गइसकेको र आन्तरिक रक्तश्रावका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बझाङले जनाएको छ।रगत दिएर आइसियूमा राखिएकी उनलाई बचाउन अस्पताल निकै प्रयास गरे पनि नसकिएको बुझिएको छ। बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो। यसरी सुत्केरी र नवजात शिशुको ज्यान नै जान थालेपछि अस्पतालमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञको माग गरेको र व्यवस्थापनको पहल भैरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिंहले बताए। केही दिनमै चिकित्सक व्यवस्थापन गरिने उनको भनाइ छ।

