डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको छ।
मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाका प्रभाव क्रमशः बढेर गएका सन्दर्भमा यस माध्यममा आबद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको हो।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई संवर्द्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने बताएका छन्।
आबद्ध संस्थाका बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम) का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डटकम) का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम) का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू डटकम) का अध्यक्ष पुष्प दुलाल रहेका छन्।
आज बसेको संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालिका अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्युज नेटवर्क प्रालिका संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकार चयन गरिएको छ।
२०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक (मुनाफा वितरण नगर्ने) कम्पनीका रूपमा दर्ता नं. ३२२०८३ को प्रमाण पत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको छ ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बर्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् ।
सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् ।
साथै, आबद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ । नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुनेछन् । संस्थाको विधानका शर्तहरू पूरा गर्ने संस्थाहरूलाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।

