काठमाडौं– कोरोनाबाट तीन महिनापछि सोमबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको मृत्यु भएको हो, उनमा मधुमेह र फोक्सोसम्बन्धी समस्या पनि थियो । यसअघि पुस २३ मा एक जनाले ज्यान गुमाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी २ हजार ४३६ जनाको परीक्षण गरिएकामा १०६ जनामा संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । सोमबार १२४ जनामा संक्रमण पुष्टि भएको थियो ।
नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या बढ्दो छ । एक हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अस्पतालमा बिरामी भर्ना हुन थालेका छन् । मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा २४, आईसीयूमा १३ र भेन्टिलेटरमा ५ जना छन् ।
नेपालमा देखिएको भेरिएन्ट भारतमा तीव्र रूपमा फैलिरहेको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी.१.१६’ हो । यसबाहेक ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२, ओमिक्रोन एक्सबीबी १.५, बीए २.७६, एक्सबीबी २.६ र एक्सबीएफ भेरिएन्ट सक्रिय छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ओमिक्रोनको ६०० भन्दा बढी सबभेरिएन्ट पत्ता लागेको छ, जसमा एक्सबीबी.१.१६ एक हो । अहिलेसम्म करिब २ दर्जन देशमा यो भेरिएन्ट फैलिइसकेको छ । अहिले विश्वभर ओमिक्रोन भेरिएन्ट नै सक्रिय छ । नयाँ भेरिएन्टको लक्षण यसअघिका भेरिएन्टभन्दा फरक देखिँदैन । यसका प्रमुख लक्षणमा ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, थकाइ लाग्नु, जीउ दुख्नु रहेको स्वास्थ्यविज्ञ बताउँछन् ।
कोरोनाबाट एकको मृत्यु
कोरोनाबाट एकको मृत्यु
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

