(काठमाडौं) – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीता दाहालले विवाहको ५० औं वर्ष पुगेको अवसरमा पुनः विवाह गरेका छन् । सीताको स्वास्थ्य बिग्रँदै गएकाले उनलाई मनोवैज्ञानिक रूपमा उपचार गर्न परिवारले ‘५० औं वैवाहिक वर्षगाँठ’ कार्यक्रम आयोजना गरेको हो । ललितपुरको सुनाकोठीस्थित एक निजी घरमा वैवाहिक वार्षिकोत्सव कार्यक्रम गरिएको थियो ।
पुष्पकमल र सीता दाहाल दुवै दुबोको मालामा सजिएका थिए । मञ्चमा दुवै जनाको दायाँबायाँ छोरीहरू रेणु र गंगा दाहाल बसेका थिए । साडीचोलोमा सजिएकी सीताको अनुहारमा धेरै चमक थिएन । पुष्पकमल टाइसुटमा थिए । पत्नीको अवस्थाका कारण उनी पनि धेरै हँसिला थिएनन् । मञ्चमा उनीहरूले दुबोको मालासँगै फूलको माला आदानप्रदान गरे । वैवाहिक माहोल बनाउन पञ्चैबाजा व्यवस्था गरिएको थियो । ‘सहयात्राको ५० वर्ष’ लेखिएको ब्यानर सजाइएको थियो । ५० वर्ष उल्लेख गरेको केक काटिएको थियो ।
दाहालको वैवाहिक वार्षिकोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्रीहरू ईश्वर पोखरेल, उपेन्द्र यादवलगायत मन्त्री सहभागी थिए । नेकपाका स्थायी समिति र केन्द्रीय समितिमा रहेका नेता, व्यापारी, व्यवसायीलाई पनि निम्त्याइएको थियो । उनीहरूले दाहाल दम्पतीलाई स्टेजमा गएर शुभकामना दिएका थिए । पुष्पकमल र सीता दाहालको २०२६ वैशाख २६ मा विवाह भएको थियो । पन्ध्र वर्षको उमेरमा पुष्पकमलले सीतासँग मागीविवाह गरेका थिए । सीतालाई ‘प्रोग्रेसिभ सुरान्युक्लियर पाल्सी (पीएसपी) भन्ने रोग लागेको छ । पूर्ण रूपमा निको नहुने रोग भएकाले बढ्न नदिन विभिन्न थेरापी गर्नुपर्छ । खुसी बनाउने एक प्रकारको थेरापीकै रूपमा वैवाहिक वर्षगाँठ कार्यक्रम गरिएको परिवारले जनाएको छ ।

