राजनीतिका दुई ‘धुरन्धर’ वाम गठबन्धनका पोखरेल र कांग्रेसका भण्डारीबीच आफू ‘निरीह भिखारी’ बनेको दाबी गर्ने फोरमका महतो जनताको ‘भिख’ पाएर आफू जित्ने बताउछन्
– अखण्ड भण्डारी,रवीन्द्र उप्रेती
बर्दिबास (महोत्तरी)– महोत्तरीको गौरीडाँडामा एउटा भवनभित्र कोठा–कोठाको संयुक्त आवास छ । १५ परिवारका ३२ जनाको यस बासस्थानलाई ‘आधारशिला’ भनिन्छ, जुन माओवादीले अभ्यास गरेको ‘कम्युन’ का सीमित अवशेषमध्ये एक हो । कम्युन अर्थात् साझा कमाइ, साझा जिन्दगी । सरकारी विद्यालयमै पढ्ने र केही न केही इलम गर्नैपर्ने यहाँका न्यूनतम सर्त हुन् । त्यो समुदायको संरक्षकका रूपमा उही हैसियतमा अहिले पनि एक मन्त्री बस्छन्– गिरिराजमणि पोखरेल ।
महोत्तरीबाट पछिल्ला दुवै चुनाव जितेका माओवादी केन्द्रका उनै पोखरेल यसपालि पनि क्षेत्र १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । उनीसँग भिडदै छन्– कांग्रेसका सीताराम भण्डारी र संघीय समाजवादी फोरमका लक्ष्मी महतो । भण्डारीले २०७० को चुनावमा क्षेत्र ६ बाट जितेका थिए भने महतो संसदीय चुनावमा नयाँ हुन् ।
तीनै जनाले चुनाव प्रचारलाई तीव्रता दिएका छन् । मन्त्री पोखरेलले खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, सिँचाइ, भूमि व्यवस्थापन, महिला/बालबालिका, दलित र पर्यावरणीय विषलाई प्राथमिकता क्रममा राखेको जानकारी दिए । ती सबै क्षेत्रको समग्र विकासबाट समृद्धितर्फ लैजान आफूले तत्कालीन दीर्घकालीन योजना बनाएको उनले सुनाए ।
कांग्रेस उम्मेदवार भण्डारीले ‘शान्ति र समृद्ध नेपाल’ आफ्नो प्रमुख चुनावी एजेन्डा रहेको बताए । ‘एक घर एक रोजगार, कृषिमा व्यवसायीकरण र विविधीकरण’ उनका नारामा समेटिएका छन् । बर्दिबासलाई नमुना सहर, जिल्लाकै प्रमुख व्यापारिक केन्द्र गौशालालाई मुलुकमै दुग्ध आपूर्तिका लागि ‘डेरीजोन’ घोषणा गरी औद्योगिक सहरका रूपमा विकसित गर्ने जस्ता योजना उनले तेस्र्याएका छन् । सडक, सिँचाइ, शिक्षा, स्वास्थ्यजस्ता पूर्वाधारलाई पनि प्राथमिकतामा राखेका छन् ।
‘लोकतन्त्रका लागि मैले गरेको त्याग र संघर्षको जनताले यसपटक पनि मूल्यांकन गर्ने मेरो विश्वास छ,’ भण्डारीले भने, ‘जातीय विद्वेष अन्त्य गरी आन्तरिक व्यापार प्रवद्र्धन गर्न मैले अघि सारेको उत्तर–दक्षिण मार्गजस्ता योजनाप्रति मतदाताले देखाएको अभिरुचिले मलाई आशावादी बनाएको छ ।’ अर्कातिर ‘मधेसको अधिकार, जनजातिको अधिकार अनि संविधान संशोधन’ फोरमका महतोका प्रमुख चुनावी एजेण्डामा पर्छन् । मधेसको विकास निर्माणलाई पनि उनले प्राथमिकतामा राखेको बताए । ‘मधेसलाई मौसमी पिकनिक स्पटका रूपमा प्रयोग गर्नेविरुद्ध मेरो यो अभियान हो,’ उनले भने, ‘तिनलाई तह नलगाएसम्म समाजमा शान्ति सुव्यवस्था हुने छैन ।’ राजनीतिका दुई ‘धुरन्धर खेलाडी’ पोखरेल र भण्डारीका बीचमा आफू ‘निरीह भिखारी’ बनेको विशेषण दिँदै उनले भने, ‘त्यही भिखारी भएकैले मलाई जनताले मत दिनेछन् ।’
स्थानीय तह चुनावमा यस क्षेत्रबाट वाम गठबन्धनले ७० प्रतिशतभन्दा बढी स्थान हासिल गरेको थियो । यस आधारमा पोखरेल उत्साही देखिन्छन् । यसमा पर्ने तीन स्थानीय तहमध्ये बर्दिबास र गौशालाका मेयर–उपमेयरसहित बहुमत वडा माओवादीले जितेको थियो । केहीमा एमाले पनि आएको थियो । भंगाहा नगरपालिकाका चार वडा यस क्षेत्रमा थपिएका छन्, तिनमा कांग्रेस–मधेसवादी अगाडि थिए । मन्त्री हुँदा गरेका केही लोकप्रिय कार्यले पोखरेल महोत्तरीमा चर्चामा छन् । उनी तीनपल्ट स्वास्थ्य र एकपल्ट शिक्षामन्त्री भएका छन् । खोटाङमा जन्मिएर मोरङमा लामो कालखण्ड गुजारेका उनले पछिल्लो समय महोत्तरीका लागि भिडेर लागेको बताए । ‘आधारशिलाको साइनोसमेत जोडिएकाले महोत्तरी मेरो अभिन्न थलो बन्न पुग्यो,’ उनले रहस्य खोले ।
स्वास्थ्यमन्त्रीको आफ्नो कार्यकाल जलेश्वर अस्पताल शिलान्यासबाट सुरु गरेको बताउँदै उनले भने, ‘स्वास्थ्य केन्द्र ५ वटा पुर्याइएका छन् । जिल्लामा कृषि क्याम्पस, मेडिकल कलेज खोलिएका छन् । बर्दिबासलाई शैक्षिक केन्द्रतर्फ अघि बढाइएको छ । क्षेत्र १ मा १७ वटा खोल्सा छन्, तिनको व्यवस्थापनबाट समृद्धि ल्याउन सकिन्छ । रूढिवाद, छुवाछूत, दलालको उत्पीडन, चरम गरिबी यहाँका मुख्य समस्या हुन् । स्थानीय तहसँगको समन्वय र केन्द्रको सक्रिय सहभागितामा मात्र यसलाई अघि लैजान सकिन्छ । मैले गर्न चाहेको पनि त्यही हो ।’

