अखण्ड भण्डारी,रवीन्द्र उप्रेती,अमन कोइराला
महोत्तरी– सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर पहिला कांग्रेसको कार्यालय थियो । जीवनको लामो खण्ड गुजारेको कांग्रेस छाडेर जब उनले तमलोपा बनाए, त्यसैको कार्यालय बन्यो । अहिले उनी राजपा अध्यक्ष मण्डलका संयोजक छन्, घर पनि त्यही पार्टीलाई कार्यालयस्वरूप सुम्पेका छन् ।
ठाकुर भने जति उमेर ढल्किँदै गयो, ‘मधेस मुक्ति’ को एजेन्डा बोकेर उति आक्रामक राजनीति गरिरहेका छन् । अनि, मुक्तिको गन्तव्यमा पुग्ने आश्वासनसहित महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रतिस्पर्धामा उत्रेका छन् । कर्मभूमि सर्लाहीमा पछिल्ला दुई चुनाव हारेका उनी सुरक्षित थलो खोज्दै यसपालि जन्मभूमि महोत्तरी आइपुगेका छन् ।
‘सरकार मधेसप्रति सधैं उदासीन छ । सत्ताको बागडोर जससँग छ, साधन स्रोत उसकै हातमा छ । तिनले मधेसलाई कहिल्यै हेरेनन् । राज्यले मधेसीको अनुहारमा नेपालीपन अहिलेसम्म अनुभूत गर्न सकेको छैन,’ उनले भने, ‘निजामती, न्यायलगायत तमाम सेवामा मधेसीको उपस्थिति न्यून छ । यो समस्याबारे गाउँ–गाउँमा सबैलाई थाहा भइसकेको छ । उनीहरू त्यसको सम्बोधन चाहन्छन् । हाम्रो उम्मेदवारी त्यसकै लागि हो ।’ महोत्तरी र यहाँका बासिन्दाको अवस्था दिनदिनै झन् खस्किइरहेको उनले बताए । ‘सदरमुकाम जलेश्वरका नाली दुर्गन्धित छन् । जाडो लागिसक्दा पनि लामखुट्टेको प्रकोप छ । हरेक वर्ष डेंगु र कालाज्वरजस्ता रोगको सामना गर्नुपर्छ । सडक बर्खामा हिलो, हिउँदमा धूलो हुन्छन्,’ उनले भने, ‘बाढी प्रभावितको पीडा उस्तै छ । शिक्षा र स्वास्थ्यमा पछि परेको छ ।’
उनले आफ्नो क्षेत्रका जनता विकासका आकांक्षी रहेको सुनाए । ‘तर विकास भइरहेको छैन । हुलाकी सडकको हामी हरेक साल चर्चा सुन्छौं । तर, खोइ कहाँ छ त्यो सडक ? रोजगार छैन, कामका लागि बाध्यतावश विदेश जानु परिरहेको छ,’ उनले थपे, ‘मधेसमा के भइरहेछ ? यी सब जनताका आवश्यकता राज्यले पूरा गर्नुपर्ने होइन ?’ उनले यस्ता समस्याको समाधानका साथै भद्रगोल अवस्थामा रहेका कतिपय योजनालाई तीव्रता दिन आफ्नो पहल हुने जानकारी दिए ।
असल व्यक्तित्व, स्वच्छ छवि, अध्ययनशीलता, क्रान्तिकारी स्वभाव र इमानदारी उनका प्रशंसनीय पाटा हुन् । कार्यकर्तामा पकड नहुनु, आफ्नो ठाउँको विकासमा खासै चासो नदिनु, कम बोल्नु, सर्वसाधारणको पहुँचबाट टाढा रहनु र सञ्चार सम्पर्कबाट पर बस्नुलाई राजपाकै कार्यकर्ता उनका कमजोरी ठान्छन् । यसपालि मनोनयन दर्तामा नआई प्रतिनिधिमार्फत गराएका उनी त्यसपछि प्राय: राजधानीतिरै बसेर निर्वाचनको मुखमा मात्र क्षेत्रमा झरेका छन् ।
खर्चिलो र रवाफिलो चुनाव प्रचारका सन्दर्भमा उनको ‘भद्र शैली’ आफैंमा चुनौतीपूर्ण देखिन्छ । अरू उम्मेदवार नमस्कार गर्दै घरघर पुगिरहेका छन्, उनी भने सुस्त गतिमा छन् । स्थानीय तहको परिणामले उनको क्षेत्रमा राजपाको कडा पकड देखाएको छ, अर्कातिर कांग्रेसले साथ दिएको छ । तर पनि, विजय चुनौतीमुक्त छैन ।
एकातिर साथ, अर्कातिर घात
ठाकुरसँग प्रतिस्पर्धामा कांग्रेसले बजरंग नेपालीलाई उठाएको थियो । मनोनयन फिर्ता लिने दिन पार्टीले उनलाई उम्मेदवारी झिक्न निर्देशन दियो । उनले टेरेनन् । आनाकानीमै आयोगको निर्धारित समय गुज्रियो । स्रोत भन्छ– त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिले उनलाई टेलिफोन गरेरै फिर्ता लिन भने । उनी
आयोग कार्यालय पुग्दा समय सकिइसकेको थियो ।
आयोगको जिल्ला कार्यालयले फिर्ताको आवेदन लिन मानेन । राजपाका कार्यकर्ताले लिन दबाब दिए । हल्का विवाद भएपछि दर्तासम्म गरेर केन्द्रमा राय माग्दै लेख्यो । आयोगको केन्द्रले नेपालीको उम्मेदवारी फिर्ता सदर गरिदिन निर्देशन दिँदै साँझ फ्याक्स पठायो ।
तालमेलको अन्तिम घडीसम्मको प्रयास विफल भए पनि कांग्रेसले ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्दै आफ्ना उम्मेदवारी एकतर्फी फिर्ता लियो । राजपा अध्यक्ष मण्डलकै राजेन्द्र महतोसँग भने कांग्रेसका प्रभावशाली नेता निधिको धनुषा ३ मा कडा टक्कर चलिरहेको छ । स्रोतका अनुसार, लेनदेनबिनै दानस्वरूप भएका दुइटा सहयोग निधिकै जोडमा भएको हो । त्यसमा ठाकुर र यादवको व्यक्तित्व एवं घनिष्ठताको ठूलो भूमिका छ ।
महोत्तरी ३ मा एकडारा र पिपरा गाउँपालिका, मटिहानी, जलेश्वर र भिस्वा मनरा नगरपालिका गरी ५ स्थानीय तहका ३५ वडा पर्छन् । यीमध्ये गत चुनावमा पिपराबाहेक ४ स्थानीय तहमा राजपाले जितेको छ । क्षेत्रभरिमा ७८ हजार ९ सय ४ मतदाता छन् । स्थानीय तहको परिणामलाई विश्लेषण गर्दै ठाकुर विजयमा ढुक्क छन् । जिल्लाको पिँधमा रहेको दक्षिणी भेग मात्र यस क्षेत्रमा परेकाले मधेसी दलको बाहुल्य मानिन्छ । कांग्रेस पछि हटेपछिको फाइदा पनि ठाकुरलाई थपिनेछ ।
तर, उनका लागि चुनौती बनेका छन्– स्वतन्त्र उम्मेदवार चन्देश्वर झा । २०७० को चुनावमा महोत्तरी ४ बाट झाले स्वतन्त्र हैसियतमै १० जनाभन्दा बढी उम्मेदवारको जमानत जफत गराउँदै जितेका थिए । त्यससँगै एकाएक राजनीतिको चर्चा
बटुलेका उनी पछि राजपामा प्रवेश गरे । उनले यसपालि टिकटको आस गरेका थिए । नभए समानुपातिकमा राखिनेमा ढुक्क थिए । जब दुवै सूचीमा उनको नाम काटियो, ठाकुरविरुद्धै उम्मेदवारी दिए ।
‘जनताको मतले निर्वाचित मेरो पार्टीले उपेक्षा गर्यो । ठाकुरले पहिला आफ्नो नाम समानुपातिकको १ नम्बरमा राख्नुभएको थियो । पछि हटाएर प्रत्यक्षमा आउनुभयो,’ झाले भने, ‘आफ्नी नातेदार इन्द्रा झाको नाम समानुपातिकको ६ नम्बरबाट झिकेर ३ मा ल्याउनुभयो । मलाई कतै ठाउँ दिनुभएन । त्यही भएर उहाँविरुद्ध उठेको हुँ ।’ महोत्तरीका ४ क्षेत्रमध्ये ३ नम्बर सबैभन्दा पिछडिएको हो । सदरमुकाम भएर पनि यस क्षेत्रमा कुनै बाटोघाटोसम्म छैन । किसानको बाहुल्य छ, कृषिमा सिँचाइको व्यवस्था छैन । स्वास्थ्य सुविधाका हिसाबले कर्णालीसरह छ । झाले आफ्नो प्रमुख एजेन्डा जलेश्वरमा शिक्षण अस्पताल र कृषि क्याम्पस खोल्ने रहेको बताए । र, मुख्य रूपमा ठाकुरलाई चुनौती दिन चाहेको जनाए ।
परिवारवादको आरोप
क्षेत्र ३ मा वाम गठबन्धनका तर्फबाट एमालेका विजय चौधरी प्रतिस्पर्धारत छन् । ४४ वर्षे इलेक्ट्रोनिक इन्जिनियर चौधरी विद्युत् प्राधिकरणको जागिर छाडेर ६ वर्षअघि राजनीतिमा होमिएका हुन् । उनी स्थिर सरकारका लागि मतदाताले वाम गठबन्धनलाई विश्वास गरेको र त्यो विश्वासको मत आफूतिर आउनेमा आशावादी छन् ।
उनले आफ्नो मूल एजेन्डा
‘मधेसको विकास र अधिकार’ रहेको बताए । ‘मधेसका राजपालगायत
दलको न कुनै दर्शन छ, न कुनै सिद्धान्त । देश र मधेस बनाउने योजना नहँ‘दा मधेसवादी दलसँग जनतामा वितृष्णा पैदा भएको छ,’ उनले भने, ‘उनीहरू समानुपातिक सहभागिता, जनसंख्याका आधारमा प्रतिनिधित्वको कुरा गर्छन् । व्यवहारमा भने परिवारवाद, नातावाद, कृपावाद चलाउँछन् । निश्चित परिवार र जातिलाई मात्र समेट्ने उनीहरूको चरित्रबाट जनता साह्रै दु:खित छन् ।’
ठाकुर भने जातिवाद र परिवारवादको आरोपले क्रुद्ध छन् । उक्त प्रसंग कोट्याउनासाथ आक्रोशित हुँदै कान्तिपुरसँग भने, ‘तपाईं सरकारको प्रोपोगन्डाबाट मिस गाइडेड हुनुहुन्छ । त्यसैले यस किसिमको प्रश्न गरिरहनुभएको छ । पहाडी पार्टीको नेताको चरित्र कहिले देख्नुभएको छ ? उनीहरूले जिउँदै हात्ती निले पनि कसैले नदेख्ने, मधेसीले एक केजी मासु बजारबाट किनेर लग्यो भने ए मधेसीहरू त मासुभात खाइरहेछन् भनेर सबैले हल्ला गर्ने ?’
कहिले सफल, कहिले विफल
विद्यार्थीकालदेखि नेविसंघ हुँदै राजनीतिमा प्रवेश गरेका ठाकुर २०२७ मा पहिलोपटक जेल परे । छुटेपछि पुन: पुर्जी काटिएको थाहा पाएर भागेर भारतको सीतामढीमा बस्न थाले ।
सीतामढीमा मध्यमाञ्चल हेर्ने गरी नेपाली कांग्रेसको कार्यालय थियो । उनी त्यहीं काम गर्न थाले । सीतामढी प्रवासमै रहेका समकालीन कांग्रेस नेता वासुदेवशरण कोइरालाले भने, ‘ठाकुर वास्तविक सर्वहारा थिए । पैसाको कहिल्यै मतलब राखेनन् ।’
राजनीतिमा क्रियाशीलतासँगै अध्ययनलाई भने उनले निरन्तरता दिए । एमए, बीएल गरेका ठाकुर २०३६ को जनमत संग्रहपछि सर्लाही सदरमुकाम मलंगवामा वकालत गरेर बसे । त्यसयता उनको कार्यथलो सर्लाही बन्यो । २०४८ को चुनावमा कांग्रेसबाट सर्लाही ५ बाट जितेका उनी प्रजातन्त्रपछिको पहिलो उपसभामुख बने । २०५१ को निर्वाचनमा सोही क्षेत्रबाट फेरि विजय भए । त्यतिन्जेल नेता गिरिजाप्रसाद कोइरालाका निकटस्थ मानिने उनी पटक–पटक मन्त्री भए । कांग्रेसको कोषाध्यक्षसमेत भएका उनी सरकार वा पार्टीमा आर्थिक विवादमा कहिल्यै मुछिएनन् । उनी २०६३ को परिवर्तनपछि एक वर्ष कांग्रेसमै बसे । मधेसी जनअधिकार फोरमले चर्काएको मधेस आन्दोलनमा उनी सरकारका तर्फबाट वार्ताकार थिए । मधेस आन्दोलन वार्ताबाट टुंगिएन । बरु उनैले कांग्रेस छाडेर अर्को मधेसवादी दल तमलोपा गठन गरे । निकै कठोर बनेको मधेस आन्दोलन उनको प्रवेशपछि शान्तिपूर्ण भई वार्ताबाट टुंगियो । हाल उनी
मधेसवादी पार्टीका सर्वमान्य नेताजस्तै बनेका छन् ।
मधेस आन्दोलनकै परिणामले संघीयता स्वीकार भयो । मधेसवादी पार्टीसँग तत्कालीन सरकारको सहमति गरेपछि भएको पहिलो संविधानसभा चुनावमा निर्वाचन क्षेत्र थपिएर सर्लाहीमा ५ बाट ६ पुग्यो ।
उनी ६ नम्बरबाट चुनाव लडेर पराजित भए । फोरमका कनिष्ठ कार्यकर्ता शिवपुजन रायले उनलाई हराए । २०७० मा उनी फेरि सोही क्षेत्रमा उठे । उनैले उत्पादन गरेका कांग्रेसका अमरेशकुमार सिंहले हराइदिए । चुनाव हो, जे पनि हुन सक्छ । यसपालि पनि चुनावै हो, जुन ७४ वर्षीय ठाकुरका लागि अग्निपरीक्षा बनिरहेको छ ।

