चितवन – चितवन मेडिकल कलेज (सीएमसी) ले दोस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । यसअघि चैत ८ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेको थियो । उक्त प्रत्यारोपण उपत्यकाबाहिरकै पहिलो भएको अस्पताल प्रशासनको दाबी थियो । दोस्रो प्रत्यारोपण
पहिलोको भन्दा जटिल भए पनि सफल भएको अस्पतालले जनाएको छ । ‘यस्तो खाले जटिल प्रत्यारोपण देशकै पहिलो हो,’ सीएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले दाबी गरे ।
अस्पतालमा असार १८ मा १५ घण्टा लगाएर भरतविक्रम शाहीको कलेजो प्रत्यारोपण गरिएको थियो । जाजरकोटको कुशे गाउँपालिका–९ का शाहीलाई उनकी श्रीमती कमलादेवीले कलेजो दिएकी हुन् । कमलाको ६० प्रतिशत कलेजो भरतको शरीरमा सारिएको छ । ‘भरतको कलेजोमा रगत नै जान नसक्ने स्थिति थियो, यसलाई सिरोसिस विइथ पोर्टल भेन थ्रोम्बोसिस भनिन्छ । कलेजोको अन्य समस्या भएपछि हुने प्रत्यारोपणभन्दा यसमा हुने प्रत्यारोपण निकै जटिल हुन्छ,’ डा. सञ्जयकुमार यादवले भने । यादव सीएमसीको कलेजो प्रत्यारोपण केन्द्रका प्रमुख शल्य चिकित्सक हुन् ।
डा. यादवका अनुसार यो पटक पहिलो प्रत्यारोपणमा भन्दा तीन घण्टा बढी समय लागेको थियो । पहिलो प्रत्यारोपणमा बिरामीलाई दुई युनिट मात्रै रगत चढाउनु परेकोमा यस पटक १३ युनिट रगत चढाइएको थियो । भरतको कलेजोमा भएको सिरोसिसको समस्या तेस्रो तह पुगेको थियो । गत फागुनमा नै उनको रोग यो चरणमा पुगेको हो । त्यसैले तत्काल प्रत्यारोपण आवश्यक परेको हो । ‘बुबालाई समस्या देखिन थालेको ११ वर्ष भयो । औषधि गरेको हो । नेपालगन्ज, काठमाडौं र भारतको लखनउ पनि लगियो । दुई महिनाअघिबाट अप्ठेरो भएपछि देखाउँदा नेपालगञ्जका डाक्टरले प्रत्यारोपण गर्नु पर्छ भन्नु भयो,’ भरतका छोरा गणेशविक्रम शाहीले भने । काठमाडौंमा छिट्टै प्रत्यारोपण हुन नसक्ने देखेपछि भरतपुर आएको उनले बताए । कानुनअनुसार नजिकका नातेदारले मात्रै बिरामीलाई कलेजो दान गर्न पाउँछन् । उमेर १८–५० वर्ष र मेडिकल परीक्षणमा पनि उपयुक्त देखिनुपर्छ । सवै कुरा मिलेपछि श्रीमान्लाई कलेजो दिएकी कमला असार २७ मै डिस्चार्ज भएकी हुन् ।
भरतको अवस्था पनि सुधार हुँदै गएको छ । आउँदो साता उनलाई पनि घर पठाउने अस्पतालको योजना छ । कलेजो आफै पलाउँदै जाने अंग हो । अस्पतालको हेपाटोलोजी विभागका चिकित्सक सागर पौडेल प्रत्यारोपण गरेको ३–६ महिनाभित्र लिने–दिने दुवैको कलेजो ९० प्रतिशतसम्म विकसित हुने र सामान्य जीवन जीउन सक्ने बताउँछन् ।
कलेजो प्रत्यारोपण निकै महँगो सेवा हो । भरतको कलेजो प्रत्यारोपणमा २५ लाखसम्म खर्च हुन सक्ने अस्पतालले जनाएको छ । प्रत्यारोपणको मात्रै १५ लाख र बाँकी खर्च औषधिलगायतको हो ।साभार कान्तिपुर २०७८ साउन १
भरतपुरमा कलेजोको प्रत्यारोपण
भरतपुरमा कलेजोको प्रत्यारोपण
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

