नेपालमा नसर्ने रोगहरु प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेका छन्। विश्व स्वास्थ्य संगठन नेपालको प्रतिवेदन २०१४ अनुसार नेपालमा हुने कूल मृत्युमध्ये ६० प्रतिशत मृत्यु नसर्ने रोगहरु जस्तैः– मुटु तथा नशा रोग (Cardio Vascular Diseases) मधुमेह (Diabetes Mellitis), क्यान्सर (Cancer) तथा दीर्घप्रकृतिका श्वासप्रश्वास रोगहरु (Chronic Obstructive Pulmonary Diseases) वाट हुने गरेको उल्लेख छ। सम्पूर्ण नेपाली जनताहरुमा उच्चतम स्वास्थ्य र गुणस्तरीय जीवनको प्रत्याभूति दिलाउन र नसर्ने रोगहरुको वृद्धि दरमा कमी ल्याउन, यसवाट हुने अपाङ्गता दर न्यूनीकरण गर्न र अकाल मृत्युवाट वचाउन संतुलित तथा स्वस्थ्यकर आहार, शारीरिक सक्रियता, मोटोपना र अधिकतौल नियन्त्रण,सुर्ती सेवनमा रोक तथा मदिरा सेवन प्रवृतीमा नियन्त्रण, स्वस्थ्यकर वातावरण अभिवृद्धि आदि जस्ता क्रियाकलापहरुमा विशेष जोड दिन आवश्यक रहेको देखिन्छ।
उद्देश्य
नसर्ने रोगहरुको रोकथाम गर्न शुरुकै अवस्थामा पहिचान, उपचार व्यवस्थापन तथा प्रेषण गर्न र सोको लागि वहुक्षेत्रीय प्रतिवद्धता, सहकार्य, राष्ट्रिय क्षमता, नेतृत्व र सुशासनलाई मजवूत गर्दै स्वास्थ्य प्रवर्धनमुखी वातावरणको सृजना गरी नसर्ने रोगहरुको जोखिमका कारक तत्वहरुको न्यूनीकरण गर्न आवश्यक देखिन्छ। साथै स्थानीय तहदेखी नै स्वास्थ्य प्रणालीलाई थप सशक्त वनाउन र नसर्ने रोगहरुको निर्धारक तत्वहरुको अनुगमन र ती रोगहरुको रोकथाम र नियन्त्रण कार्यको नियमित प्रगती मूल्याङकन गर्नुपर्ने हुन्छ।
नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागी “Package Of Essential Non-communicable Diseases (PEN)” कार्यक्रम संचालन गरिने जिल्लाहरुः
स्वास्थ्यमा विद्यमान कार्यक्रमहरु:
नेपाल सरकारले कर कोष कार्यक्रम अन्तर्गत जिल्लाहरुमा उपलब्ध गराउदै आएको बजेटबाट सूर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन र नियमावलीको प्रभावयकारी कार्यान्वयन गराउन सकेमा पनि रोग लाग्न RISK निकै कम हुन्छ।
आर्थिक वर्ष २०७३/०७४ देखी शुरु हुने पेन प्याकेज (PEN PACKAGE) कार्यक्रम कैलाली र ईलाम दुई जिल्लालाई पाइलट जिल्लाको रुपमा छनौट गरी कार्यक्रम कार्यान्वयन गरिनेछ र उक्त जिल्लाहरुलाई निरन्तरता दिदै आगामी आ.व. देखि थप जिल्लाहरुमा समेत नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि कार्यक्रम विस्तार गरिनेछ।
अन्य कुराहरु
नेपाल सरकारले Adapt गरेको विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको पेन प्रोटोकल (PEN PROTOCOL) लाई आधार वनाई कार्यक्रम संचालन गरिने छ।
थप आठ जिल्लामा ‘पेन प्याकेज’ कार्यक्रम लागू हुने
‘प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डिजिज (पेन प्याकेज)’ कार्यक्रम थप आठ जिल्लामा लागू हुने भएको छ।
यो कार्यक्रम लागू हुने जिल्लामा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहयोगमा नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सरकारले कैलाली र इलाममा यो कार्यक्रम लागू गरिएको छ।
पेन कार्यक्रम सञ्चालन गर्न लागिएको आठ जिल्लाका जनस्वास्थ्य अधिकृत र स्वास्थ्यकर्मीलाई लक्षित गरी आजदेखि यहाँ नसर्ने रोगबारे दुइदिने तालिम सुरु गरेको छ । तालिमपछि उनीहरुले जिल्लाका स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई यस सम्बन्धी तालिम दिनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र श्वासप्रश्वास लगायतका रोग नियन्त्रण गर्ने योजना भए पनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमुना कार्यक्रम सुरु गरेको थियो ।
तालिमको उद्घाटनगर्दै स्वास्थ्यमन्त्री गगन थापाले नसर्ने रोगको न्यूनीकरणका लागि जनचेतना जगाउन र यस्ता रोग लागेमा स्थानीयस्तरमै स्वास्थ्य संस्थामा परीक्षण गराई उपचार गराउनका लागि यो कार्यक्रम लागू गरिएको बताए।
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले नसर्ने रोगको न्यूनीकरणका लागि सरकारले पहिलेदेखि नै लगानी गरिरहेको चर्चा गर्दै यो रोग लाग्नै नदिन रोकथाम र रोगको सुरुआतमै परीक्षण गर्ने विषयमा व्यवस्थित कार्यक्रम सुरु गरेको बताए।
प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखा प्रमुख मोहम्मद दाउदले यो कार्यक्रम सुरु हुने जिल्लामा सबै रोगको परीक्षण र उपचार हुने बताए।
विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित नसर्ने रोग कार्यक्रमका स्रोत व्यक्ति पर्सन लुनिम प्रसाईं दीक्षितले भने, “नेपालमा सन् २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशत रहेकोमा सन् २०१४ मा आईपुग्दा बढेर यो ६० प्रतिशत पुगेको छ ।”
संसारमै तीव्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सङ्गठनले नेपाल सरकारलाई सहयोग गरेको उनले बताए।
पेन प्याकेज कार्यक्रममा नसर्ने रोगको जोखिम न्यूनीकरणका उपाय, रोकथाम र उपचार लगायतका एकिकृत कार्यक्रम समावेश गरिएका छन् । मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रमलाई यसले विशेष महत्व दिएको छ ।
“स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाट रोग पत्ता लगाइसकेपछि सम्बन्धीत चिकित्सकको सिफारिसमा ती स्वास्थ्य संस्थाबाट नै औषधि उपलब्ध हुन्छ”– निर्देशक दाउदले भने। रासस
प्रकाशित मिति: 2017-03-16

