काठमाडौं– पछिल्लो समय सरुवा रोगको जोखिम घटदै गए पनि नसर्ने रोगको प्रकोप भने बढदै गएको छ । नेपालमा क्यान्सर, मुटु, मिर्गौला रोगबाट मृत्यु हुनेको संख्या अत्यधिक छ ।
पुरुषको हकमा फोक्सो र प्रोस्टेटको क्यान्सरका कारण बढी व्यक्ति पीडित भइरहेका छन् । सुर्तीजन्य पदार्थको सेवन र कलकारखानाबाट निस्कने प्रदूषणका कारण पुरुषमा यो रोगको जोखिम बढेको क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल बताउँछन् । महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको तथ्यांकअनुसार दैनिक १० देखि १५ प्रोस्टेट ग्रन्थिको समस्या लिएर आउँछन् । अधिकांश बिरामी क्यान्सर शरीरका अन्य अंगमा फैलिएका अवस्थामा मात्रै उपचारका लागि अस्पताल आउने हुँदा ५० प्रतिशत बिरामीलाई मात्रै बचाउन सकिने युरोलोजिस्ट डा. रविन जोशी बताउँछन् । नेपालमा क्यान्सरका सम्पूर्ण बिरामीमध्ये १५ प्रतिशतमा फोक्सोको क्यान्सर देखिने गरेको विशेषज्ञको भनाइ छ । फोक्सोको क्यान्सरकै कारण विश्वव्यापी हरेक ५ मृत्युमध्ये एकको फोक्सो क्यान्सरबाटै हुने गरेको अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक छ ।
विश्वमै चाँडै मृत्यु निम्त्याउने रोगमध्ये नसर्ने रोगलाई पहिलो मानिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगकै कारण हरेक वर्ष करिब ३ करोड ६० लाखको मृत्यु हुने गरेको छ । बर्सेनि ६० प्रतिशको मृत्यु नसर्ने रोगले हुने र मदिराजन्य पदार्थ सेवनकै कारण मात्रै बर्सेनि ५ लाख व्यक्तिले ज्यान गुमाइरहेको संगठनको तथ्यांक छ । अस्वास्थ्यकर जीवनशैली, सुर्ती र मदिराजन्य पदार्थको सेवन, अपर्याप्त शारीरिक क्रियाकलाप नसर्ने रोग लाग्नुका मुख्य कारण भएको चिकित्सकहरू बताउँछन् ।
महिलाहरू स्तन र पाठेघरको क्यान्सरका कारण बढी पीडित छन् । संगठनका अनुसार नेपालमा हरेक वर्ष प्रत्येक १ लाखमध्ये ८ महिलामा स्तन क्यान्सर देखापर्छ जसमध्ये ६ जनाको मृत्यु हुने गरेको छ । क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र अमात्य भन्छन्, ‘क्यान्सरको अन्तिम स्टेजमा मात्रै उपचारका लागि पहल गर्छन्, रोगले भन्दा पनि ढिलो उपचारका कारण मृत्युको जोखिम बढेको हो ।’
भक्तपुर क्यान्सर अस्पतालमा पाठेघरसम्बन्धी रोग लिएर दैनिक ३० देखि ४० बिरामी आउँछन् । त्यसमध्ये कम्तीमा ८ जनाको त पाठेघरको मुखमै क्यान्सर देखापर्ने र तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था हुने डा. राजेन्द्र बरालले बताए । नेपालमा प्रत्येक वर्ष करिब १० देखि २० हजार जनामा यो रोग हुने अनुमान गरिएको छ । यसमध्ये ५० प्रतिशतको मृत्यु हुने उनले बताए । विश्वव्यापी रूपमा हरेक वर्ष ४० हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । क्यान्सर रोग ४० प्रतिशत रोकथाम गर्न सकिने डा. बराल बताउँछन् । नसर्ने कडा रोगमध्ये मिर्गौला पनि मुख्य हो । संगठनको तथ्यांकअनुसार नेपालमा प्रतिदस हजारमध्ये एकजनाको मिर्गौला काम नलाग्ने हुन्छ । नेपालमा बर्सेनि ३ हजारको मिर्गौला फेल हुने संगठनको तथ्यांक छ । मिर्गौला फेल भएकामध्ये ९० प्रतिशतले २/३ महिनामै ज्यान गुमाउने गरेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । भन्छन्, ‘सामान्य लक्षण देखिनेबित्तिकै उपचार गराउने हो भने मिर्गौला बचाउन सकिन्छ, अधिकांश बिरामी मिर्गौला फेल भइसकेपछि मात्रै अस्पताल पुग्ने हुँदा बचाउन मुस्किल हुन्छ ।’
संगठनले मुटुरोगलाई पनि प्राणघातक मानेको छ । यद्यपि ८० प्रतिशत रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख व्यक्तिको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका छन् । हाल नेपालमा ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ । यस्तै स्कुल जाने उमेरका करिब शून्य दशमलव २ प्रतिशतलाई बाथमुटुको रोग र त्यति अनुपातमै जन्मजात मुटुको रोग छ ।
सरकारले नसर्ने खालका कडा रोग न्यूनीकरणका लागि गरिब विपन्न वर्गका बिरामीलाई १ लाखसम्मको अनुदान पनि दिँदै आएको छ । चालु आवमा मात्रै विपन्न नागरिक कोषबाट २२ हजार ३ सय ८९ जनाले सेवा लिएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।
नसर्ने रोगबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्ने, शारीरिक व्यायम गर्ने, नुनचिनी कम खाने र फलफूल प्रशस्त खानुपर्ने चिकित्सकको सुझाव छ ।
नसर्ने रोगको प्रकोप बढ्यो
नसर्ने रोगको प्रकोप बढ्यो
"‘महिलामा पाठेघरको क्यान्सरको जोखिम धेरै’ "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस

