काठमाडौं । भारतलाई उद्गम बनाएर फैलिएको डेल्टा भेरियन्टको कोरोना भाइरस संक्रमणले आगामी भदौ मध्यसम्म युरोपमा ९० प्रतिशत हिस्सा ओगट्ने एक अध्ययनले देखाएको छ । बेलायतमा देखिएको अल्फा भेरियन्टको तुलनामा संक्रमणदर ४० देखी ६० प्रतिशत बढी रहेको सो भाइरसले डेरा जमाउँदै गएको युरोपियन रोग निवारण केन्द्र इसीडीसीले जनाएको छ ।
युरोपका विभिन्न मुलुकमा लकडाउन खुकुलो पार्दै लगिएसँगै डेल्टा भेरियन्ट फैलिनक्रम तिव्र बनेको समेत केन्द्रले जनाएको छ । प्रभावित हुनेमा १८ वर्ष मुनिका युवा धेरै हुने जनाइएको छ । सो वर्गका युवामा खोपको उपलब्धतामा नभएकाले जोखिम समेत बढी रहेको इसीडीसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । संक्रमणका साथै मृत्युदरमा समेत बृद्धि हुन सक्ने अध्ययनले देखाएको छ । युरोपमा ८० वर्ष माथि उमेर समुह मध्ये ३० प्रतिशतमा तथा ६० वर्ष उमेर समुहमाथिका ४० प्रतिशत जनसंख्याले अझै खोप लगाउन बाँकी रहेकाले उनीहरुमा यथासिघ्र खोप लगाएर संक्रमण जोखिम घटाउन समेत केन्द्रले सुझाव दिएको छ ।

