काठमाडौं : ‘राज्यको चौथो अंग भनेको सन्चार तथा प्रविधि मन्त्रालय नै हो त ? कि नयाँ संचारमन्त्री नैनकला थापा चिप्लिइन, कि सरकारकै दैनिक गोरखापत्र अलमलियो…। समाचार गोरखापत्र पहिलो पृष्ठ पहिलो लहरको पुछारमा ।
मन्त्रालयको हैसियत बढाउने नयाँ अध्यादेश त जारी भएको छैेन नि ?’
कुनै बेला गोरखापत्रका प्रधान सम्पादक बनेका बरिष्ठ पत्रकार किशोर नेपालले शनिवार विहानै ट्वीट गरे ।
भएको के रहेछ त ?
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरिन् । गोरखापत्रले भोलिपल्ट छापियो,‘उहाँले (मन्त्री थापाले) राज्यको चौथो अंगकारुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जनमैत्री र नमूना मन्त्रालयका रुपमा विकास गर्ने समेत बताउनु भयो ।’
संविधानतः राज्यको चौथो अंग कसैलाई पनि भनिदैंन । सञ्चारकर्मीले राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापालिका र न्यायपालिकाको निगरानी गर्ने हुनाले चौथो अंगको रुपमा समाजमा लिने गरिएको छ । तर, मन्त्री थापाले सञ्चार मन्त्रालयलाई नै चौथो अंग भनेको सरकारी मुखपत्र गोरखापत्रले प्रकाशित गरे पछि सामाजिक सञ्जालमा छाएकी छिन् ।
मन्त्री थापा चिप्लिन की गोरखापत्र ?

